गत सोमबार अन्जन बरालले गोपालमान राजबाहकलाई दिउँसो तीन बजे फोन गरेका थिए। उनले जनता बैंकको कर्मचारी भन्दै फोन गरेर राजबाहकलाई ‘तपाईंको खाता जाँच भइरहेको छ, फोन अन गर्दा काम हुँदैन, डेढ घन्टाजति अफ गर्नुस्’ भने।
राजबाहकले पत्याए। फोन अफ गरे। उनले राति साढे ८ बजेमात्र फोन अन गरे। तत्कालै एसएमएस आयो।
जनता बैंक बानेश्वर शाखाको उक्त म्यासेजमा राजबाहकको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ पैसा झिकेको उल्लेख थियो। एसएमएस देखेपछि उनी झस्किए।
आफूले पैसा ननिकाली कसरी त्यत्रो रकम झिकेको एसएमएस आयो? गडबडीको शंका लाग्यो। उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा फोन गरेर घटना सुनाए। ती फोन गर्न व्यक्ति बैंकका कर्मचारी थिएनन् भन्ने बल्ल बुझे।
घटना सुनेपछि प्रहरीले भोलिपल्ट १० बजेदेखि नै बैंकमा निगरानी बढायो।
प्रहरीका अनुसार तीन जना व्यक्ति मंगलबार फेरि आए पैसा निकाल्न। ती थिए- अञ्जन बराल, सुभाष श्रेष्ठ र मनिष घिमिरे। उनीहरूले राजबाहकको नामको चेकबुक बोकेका थिए। पुन: पैसा निकाल्ने योजनाअनुसार आएका उनीहरूलाई प्रहरीले त्यहीँ पक्राउ गर्यो।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ गरेर सोधीखोजी गर्दै जाँदा उनीहरूका अरू तीन जना साथी रहेको पत्ता लागेको थियो। उनीहरू कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरे थिए।
यी सबैको कोठा खानतलासी गरेपछि प्रहरीले नगद, चेकबुक, एटिएम र बैंकका फाइल, खाता खोल्न राखिएका मानिसका फोटो तथा नागरिकताको नक्कल फेला पर्यो।
प्रहरीका अनुसार यी व्यक्तिले सक्कली नै चेकबुक बनाएर खातावालाको नक्कली सही गरी पैसा निकालेको देखियो। राजबाहकको चेक जनता बैंकको ग्वार्को शाखाबाट बनाइएको पत्ता लागेको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो तीन बजेदेखि पाँच बजेभित्रमा १९ लाख ९९ हजार रुपैयाँ चेकबाट झिकेको देखिन्छ। पक्राउ परेकाबाट १८ लाख ६० हजार नगद बरामद भएको छ।
खातावालाको हस्ताक्षर बैंकबाटै बाहिरियो
प्रहरीका अनुसार यी व्यक्तिले बैंकमा खाता रहेका व्यक्तिहरूको चेकमा रहेको सही चोरेका छन्। जसको सही चोरी भयो उसैको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक लिएर रकम निकालेका छन्। सही मिलाएर लाखौं निकाल्न सफल भएका पनि छन्।
कैयौं व्यक्तिको नाममा रहेको खाताको सयौं थान सक्कली चेक लिन सफल भएका छन्। खातावालाहरूको सक्कली नै भिजा कार्ड समेत बनाएर प्रयोगमा ल्याएका छन्।
‘यी सबै गर्न सम्बन्धित बैंकका कर्मचारीको मिलेमतो तथा लापरबाहीसमेत देखिन्छ, यस सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेको छ,’ परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने।
के-के बरामद भए?
पक्राउ परेकाबाट विभिन्न बैंकसँग सम्बन्धित दुई बोरा कागजात बरामद भएका छन्। यस्ता कागजात बैंककै कर्मचारीको सहयोगबिना प्राप्त गर्न नसकिने प्रहरीको भनाइ छ।
अन्य बरामद चिजहरूमा खातावालाका नागरिकताको प्रतिलिपि २९० थान, खातावालाको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, हस्ताक्षर नमूनाको डायरी दुई थान, खाता खोल्न फोटो टाँसेको तयारी फारम ३००, ११५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट जारी भएका १६ थान चेकबुक, ४१ थान काटिएको चेकबुक, ज्योति विकास बैंकमा अन्जन बरालको नाममा जारी भएको चेकबुक एक थान, एभरेस्ट बैंकको २० थान चेकबुक, सोही बैंकमा काटिएको तीन थान चेकबुक, माछापुछ्रे बैंकका १७ थान, मुक्तिनाथ विकास बैंकका ४१ थान, एनआइसी एसिया बैंकका चेकबुक ६८ थान, विभिन्न व्यक्तिका फोटो ८२५ थान, एनआइसी एसियाका ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम र विभिन्न बैंक तथा व्यक्तिको हस्ताक्षर गरेको चेक ३२९ थान बरामद भएका छन्।
बैंक स्टेटमेन्ट निकाल्न, व्यक्तिहरूको नामावली संकलन गर्न, सम्बन्धित व्यक्तिबिना नयाँ चेकबुक बनाउन, एटिएम बनाउन बाहिरका व्यक्तिले मात्र सक्दैनन्, त्यसकारण यसमा बैंककै कमजोरी देखिएको प्रहरी बताउँछ।
‘यी कागजात बैंकभित्रबाट बाहिर कसरी पुगे भन्ने अनुसन्धानको विषय भएको छ,’ बोगटीले भने, ‘चानचुने योजनाबाट यो सम्भव भएको छैन।’
१८ बैंक जोखिममा
उनका अनुसार यो अपराधमा अन्य थुप्रै व्यक्ति हुन सक्ने अनुमान गरिएको छ। उनीहरूले यसअघि पनि अन्य बैंकबाट रकम झिकिसकेको आशंका छ।
एनआइसी एसिया, जनता र मुक्तिनाथ बैंक यो समूहको प्रमुख निशाना थिए। अन्य १८ वटा बैंक निशानामा रहेको प्रवक्ता बोगटीले बताए।
‘कुन बैंकबाट कति रकम निकालिएको छ भन्ने विषयमा हामीले राष्ट्र बैंक, सम्बन्धित बैंकलाई विवरण मगाएका छौं,’ उनले भने।
यतिको अपराध हुँदासम्म बैंक कर्मचारीले थाहा पाएका थिएनन्। जब प्रहरीमा गुनासो गयो त्यसपछि प्रहरी बैंक पुग्यो। बैंक पुगेर सोधीखोजी गरेपछि मात्र असम्बन्धित मान्छेले बैंकबाट रकम चोरी गरिरहेको थाहा भयो।
‘बैंकहरू असुरक्षामा छन् भन्ने यहाँबाट पनि थाहा हुन्छ कि यतिका डकुमेन्ट बाहिरिएर पैसा झिक्दा पनि थाहा पाइरहेको देखिएन,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘बैंकहरूले साधारण कार्यको लागि पनि सर्वसाधारणसँग लामो ‘सोधपुछ’ गर्छन्। एकै दिन, एकै व्यक्तिको नाममा १९ लाख ९९ हजार रुपैयाँ भुक्तानी दिँदा किन सामान्य सोधपुछ पनि गरिएन, यो गम्भीर विषय छ।’
राति-राति सही गर्ने अभ्यास
पक्राउ परेकाहरू श्रेष्ठ, तामाङ, घिमिरे र बराल काभ्रे पाँचखाल नगरपालिका-३ का हुन्। उनीहरू काठमाडौं-१३ कालिमाटीमा एउटा फ्लाट भाडामा लिई बस्थे। बाग्लुङ गलकोट नगरपालिका-३ का पौडेल काठमाडौं-१० बुद्धनगर बस्थे। सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस-९ का गोविन्द काठमाडौं-३२ सुविधानगर बस्थे।
उनीहरू १९ देखि ३० वर्ष उमेर समूहका युवा छन्। उनीहरूमध्ये कोही कलेज पढ्छन्। कालिमाटीको डेरामा भेला भएर राति अबेरसम्म व्यक्तिको कीर्ते सही बनाउन अभ्यास गर्थे। उनीहरूले सही गर्न सिकेका तीन थान रजिष्टर फेला परेको छ।
प्रहरीले पक्राउ परेकालाई मंगलबार उच्च अदालत पाटनमा सात दिन थुनामा राख्ने म्याद लिई बैंकिङ कसुरमा अनुसन्धान थालेको छ। बैंकमा भएको यस किसिमको अपराधबाट छानबिन तथा अनुसन्धान गर्न राष्ट्र बैंक तथा विज्ञ समूहसँग परामर्श भइरहेको परिसरले जनाएको छ।
‘तत्कालै पैसा झिकेको मेसेज जान्छ र थाहा पाएपछि प्रहरीबाट जोखिम हुन्छ भनेर यस्तो अभिनय गरी बरालले राजबाहकलाई फोन गरेको हुनसक्छ,’ प्रवक्ता बोगटीले भने।