दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटनका अवसरमा पोखराको रंगशालामा सोमबार साँझ तामझाम देखिन्थ्यो।
उद्घाटनमा सांगीतिक प्रस्तुतीदेखि ब्याण्डबाजा र मन्तव्य काकार्यक्रम राखिएका थिए। मन्तव्य काकार्यक्रम चल्दाचल्दै साँझ ५ बजेतिर आतिसबाजी भयो। फुटबल मैदानको दक्षिणतर्फ माइक राखिएको थियो भने सोहीतर्फको प्यारापिटमा अतिथी बस्ने व्यवस्था मिलाइएको थियो।
त्यसको सिधा अगाडि उत्तरपट्टी पनि प्यारापिट थिए। प्यारापिटमा केही दर्शक थिए। त्यसैको पछाडि अचानक आतिसबाजी पड्कन थाल्यो। यो क्रम दक्षिणतर्फ सर्यो।
मन्तव्यका कार्यक्रम सकिएपछि झनै धेरै आतिसबाजी भए। साँझ ५ बजेदेखि साढे ६ बजेसम्म अतिसबाजी गरिएको आयोजकले जनाएको छ। यसअघि नयाँ बर्षको अवसरमा लेकसाइडका व्यवसायीले आयोजना गर्ने सडक खाना महोत्सबमा आतिसबाजी गरेको भन्दै अधिकारकर्मीले अदालतमा मुद्दा दायर गरेका थिए।
उच्च अदालत पोखराले चराचुरुङ्गीलाई असर गर्ने भन्दै आतिसबाजी नगर्न आदेश दिएको थियो। साग खेलकुदको आरम्भ भएको उपलक्ष्यमा उत्सव मनाउन आतिसबाजी गरिएको थियो।
साग खेलकुदअन्तर्गत ७ वटा खेल पोखरामा हुँदैछ। खेलका लागि खेलाडीहरु पोखरा आइसकेका छन्। पोखरामा सागको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सागलाई भब्य रुपमा सफल पार्न सबै क्षेत्रको उत्तिकै सहयोग चाहिने बताए।
‘पोखरामा धेरै छिटो खेलकुदका भौतिक संरचना निर्माण भए, यसमा हाम्रा खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्नेमा हामीविश्वस्त छौं’ उनले भने, ‘पोखरामा सागका केही खेल हुनु पोखरा र प्रदेशकै लागि गौरवको बिषय हो।’
सोही अवसरमा युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले सागको अवसरमा पोखरामा धेरै खेलकुद पूर्वाधार निर्माण भएको बताए। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भने अघिल्ला कार्य समितिले गर्न नसकेको काम आफुले गर्न सकेको दाबी गरे। उनले भने, ‘अघिल्लो कार्यसमितिले गर्न नसकेको बक्यौता १३ औं सागमा मेरो कार्यकालमा सम्भाव भएको हो।’