सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ।
सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा मन्त्री पुनले पूर्वसूचना प्रणालीले नागरिकको सुरक्षामा महत्वपूर्ण सहयोग गर्ने बताए।
मौसमअनुसार जोखिमको सम्भावना पुग्न सक्ने क्षतिका बारेमा जानकारी लिन राडारले दिने भएकाले यसको सदुपयोगले जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए। मन्त्री पुनले राडारले दिने सूचना हरेक नागरिकसम्म पुग्ने व्यवस्था मिलाउन समेत आग्रह गरे।
‘पहिले मानिसहरू आकाश हेरेर मौसमबारे जानकारी लिन्थे, अब सबै जानकारी सिस्टममार्फत् नै हुने भयो,’ उनले भने, ‘बरु यसले दिने सूचनाहरू जनताको कानसम्म सहजै पुग्ने वातावरण मिलाउनु जरूरी छ।’
२०७५ कात्तिक १४ गते निर्माण सम्पन्न भएको राडार विभिन्न अन्यौलका कारण सञ्चालनमा आउन सकेको थिएन।
यसअघि यसबाट लिइने जानकारी अमेरिकामा रहेको इन्टरप्राइज इलेक्ट्रोनिक्स कोअपरेसन (सिइसी)ले संकलन गर्दै आएको थियो। सोही कम्पनीसँगको सम्झौतामा नेपालमा राडार जडान गर्ने प्रक्रिया चलेको छ।
अब सुर्खेतमा जडित राडारले दिने सूचना जल तथा मौसम विज्ञान विभाग काठमाडौंबाट संकलन गरिनेछ।
संकलित सूचना प्रवाह तथा अन्य विषयमा समन्वय भने सुर्खेतमा रहेको जल तथा मौसम विज्ञान कार्यालयले गर्नेछ।
के हो राडार?
राडार मौसमसम्बन्धी जानकारी दिने विद्युतीय प्रणाली हो। सुर्खेतमा जडान गरिएको राडारको क्षमता चार सय किलोमिटर वरपरसम्मको मौसमको बारेमा जानकारी दिन सक्नेछ। जल तथा मौसम विज्ञान विभागले नेपालका तीन ठाउँमा राख्न प्रस्ताव गरेको मौसमसम्बन्धी सूचना दिने प्रणालीमध्येको सुर्खेतमा जडान गरिएको यो राडार पहिलो चरणको हो।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार विभिन्न चरणमा जडान गर्नेगरी गरिएको प्रस्तावअनुसार पहिलो चरणको सुर्खेतको रातानाङ्लामा जडान भैसकेको छ। दोस्रो चरण पाल्पाको रिब्दीकोट र तेस्रो चरणमा उदयपुरको उदयपुरगढीमा राडार जडान गर्ने तयारी छ।
विश्व बैंकको सहयोगमा १७ करोड रुपैयाँ लागतमा जडान गरिएको सुर्खेतको मौसमी राडारले कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशभित्र पर्ने ४ सय किलोमिटर दूरीसम्मको मौसमको पूर्वसूचना दिनेछ।
राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ, बाढीलगायत जोखिमको पूर्वानुमान गर्छ।