पत्रकारिता पेसा। काममा बिहान–साँझ सोचिँदैन। गल्ली र सडक भनिँदैन।
सुरूसुरूमा काठमाडौंका गल्ली भनेपछि एक किसिमले निस्सासिन्थेँ म। जब अँध्यारा, उज्याला, साँघुरा, फराकिला गल्लीमा 'तपाईं सिसिटिभीको निगरानीमा हुनुहुन्छ' लेखिएका बोर्ड देखिन थाले, मेरो डर केही पन्छियो। सिसिटीभीले कैद गरेका दृश्यका आधारमा प्रहरीले अपराधी पहिचान गरेका समाचारले मन ढुक्क हुन्थ्यो।
काठमाडौं छिरेदेखि मेरो कार्यक्षेत्र मध्यबानेश्वरको भित्री गल्लीको कार्यालयमा थियो। डेरा नजिकै र उज्यालैमा पुग्ने भएकाले त्यो गल्लीको अँध्यारोसँग जम्काभेट भएन।
सेतोपाटीमा काम गर्न थालेपछि बाटो फेरियो। सिंहदरबारको पेटी हुँदै आउजाउ गर्नुपर्ने भयो।
सिंहदरबार मुलुकको प्रमुख प्रशासकीय केन्द्र। पर्खालका चारैतिर सुरक्षाकर्मी तैनाथ छन्। कहिलेकाहीँ पेटीमा पनि सुरक्षाकर्मी देखिन्छन्। चौडा फुटपाथ हुनु म जस्तो पैदलयात्रुका लागि कम्तीको खुसीको कुरा होइन।
मेरो यात्रा सिंहदरबारको पश्चिमी पर्खालको पेटीबाट सुरू भएर उत्तरी पर्खालमा टुंगिन्छ। झन्डै आधा किलोमिटर सिंहदरबारको कम्पाउन्डसँगै जोडिएको सडकपेटी छिचोल्नुपर्छ।
सुरूका चार महिना यो बाटो मेरा लागि निकै सहज भयो। आफूलाई खुबै सुरक्षित महशुस गरेँ। एक्लै बाटो पार गर्न कुनै कठिनाइ भएन।
जब दिन छोट्टिन थाल्यो, बाटोको वास्तविकताले हैरान बनायो। देशको सुरक्षा गर्नुपर्ने सिंहदरबार, देशलाई उज्यालो बनाउनुपर्ने सिंहदरबार, आफैं अन्धकारमा रहेछ। आफैं असुरक्षित रहेछ। रातमा परै जाओस्, साँझै मोबाइलको लाइट बालेर हिँड्नुपर्ने बाध्यता रहेछ।
सिंहदरबार परिसरको यो कालो अवस्थाले डर र लज्जा दुवै वोध भयो।
दिनभर सेवाग्राहीको आउजाउ हुनाले समस्या हुँदैन। सम्साँझमा पनि वरपरका होटल र सडकमा व्यस्त गुडेका सवारीले बटुवाका नजरलाई भरथेग गरिदेलान्। तर हिँउदमा? आठ नबज्दै होटल बन्द हुन्छन्, सवारी घटिसक्छन्।
त्यस बेला सिंहदरबारको फुटपाथमा टर्च नबाली हिँड्न सम्भव छ? यसको साक्षी तपाईं पनि बस्न सक्नुहुन्छ।
सिंहदरबारको मुख्य दक्षिणी गेटबाट सर्वसाधारण वा कर्मचारीले भित्र प्रवेश पाउँछन्। गेटका दुवैतिरका फुटपाथ रातको समयमा चकमन्न। एउटा सडकबत्ती छैन। गाडिएका खम्बाले उज्यालो दिनुको साटो, अँध्यारोमा ठक्कर हान्लान् भन्ने डर।
यहाँका बत्तीले किन काम गर्दैनन्? यसको मर्मत कसले गर्ने हो? कसैलाई थाहा छैन। थाहा भए अहिलेसम्म बनिसकेको हुँदो हो नि!
सिंहदरबारलाई अँध्याराले पहरा दिइरहेको पक्कै हुँदैनथ्यो होला। पिलपिले टर्चलाइट बालेर सुरक्षाकर्मी घुमिरहेका हुन्थेनन् होला।
सिंहदरबारका यो घेराको समस्या अँध्यारो मात्र होइन।
केही दिनअघिको कुरा हो, मुश्किलले मोबाइल लाइटको प्रकाशमा आठ बजेतिर हिँड्दै थिएँ। दक्षिणी गेट नपुग्दै सेतो लुगा लगाएका मानिस पर्खालको भित्तापट्टि फर्किएका रहेछन्।
केही वर्षअघि सिंहदरबारको पर्खाल रङ्ग्याउने केही पक्राउ परेका थिए। त्यही घटनाको याद आयो। कसैले केही लेख्दै रहेछन् कि पोस्टर टाँस्दैछन् भनेर सोच्दै थिएँ।
यत्ति भइदिएको भए हुन्थ्यो बरू, ती मान्छे त पर्खालको आडमा शौच गरिरहेका रहेछन्।
केही समयअघि मात्र काठमाडौं ठूलै तामझाम साथ खुला दिसामुक्त सहर घोषणा भएको थियो। सिंहदरबार हेर्न भ्याएनछन् क्यार! खुला 'दिसायुक्तै' रहेछ।
म लाज लागेर उता फर्किन मात्र सक्थेँ।
ती व्यक्तिको सिधा टाउकामाथि पोष्टमा सुरक्षाकर्मी थिए पनि। अँध्यारो बाक्लिइसकेकाले देख्न मुश्किल थियो सायद। त्यसैले बाटामा हिँडिरहेका मान्छेका अगाडि शौच गर्ने फाइदा उनले लिएका रहेछन्।
यस्तै अँध्यारोको फाइदा कतिले उठाएका होलान्? वरपर अपराधी सलबलाए भने बटुवादेखि सिंहदरबार कसरी सुरक्षित होलान्?
पश्चिमी पर्खालदेखि हनुमानस्थानसम्म र उत्तरतिर पनि अँध्यारो मात्रै भेटिन्छ। सोलार प्यानलसहितका खम्बामा बत्ती बल्न छाडेको महिनौं भइसकेको रहेछ।
पूर्वी पर्खालतर्फ उज्यालो दिन २६ वटा सोलार प्यानलसहितका खम्बा छन्। मुश्किलले ६ वटा पिलपिल भेटिए। तिनको उज्यालोले बाटो ठम्याउन हम्मे नै पर्छ।
सोचेँ– देशको अभिभावकत्व लिनुपर्ने सिंहदरबारले ती बत्तीमा ध्यान दिन पाएन होला।
फेरि सोचेँ– आफ्नै कम्पाउन्डको समस्या नदेख्नेले यत्रो देशको समस्या कसरी देख्लान्?
अनामनगरबाट सिंहदरबारको पेटी हुँदै पश्चिम लाग्दा पोलमा सिसिटिभीमा पनि आँखा नपुगेका होइनन्। तर छामछुम गर्दै हिँड्नुपर्ने हामीलाई त यसको के अर्थ?
केही समयअघि सिसिटिभीकै बारे समाचार लेख्दा महानगरीय प्रहरी प्रवक्ता श्यामलाल ज्ञवालीले देखाएका समस्या ताजै छन्।
'सुरक्षाका दृष्टिबाट सिसिटिभी क्यामरा जडान गरेर मात्र हुँदैन,' ज्ञवालीले भनेका थिए, 'आवश्यक सडकबत्ती प्रबन्ध हुन नसक्दा क्यामराले काम गर्न पाएको छैन। रातको समयमा भएका कतिपय घटना अनुसन्धान गर्न पनि कठिन भइरहेको छ।'
केही समयअघि सिंहदरबार पर्खालनजिकै घरमा सिलिन्डर बम विस्फोट भएको थियो। एकजनाको मृत्यु पनि भयो। प्रहरीका अनुसार त्यो बम सिंहदरबार पर्खाल छेउमै पड्काउन तयार गरिँदै थियो।
देशले बिजुली बेच्न सक्ने भइसक्यो, हामी भने अन्धकारमै हिँडिरहने?
सबै तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी