'मिस ट्यालेन्ट अवार्ड गोज टु कन्टेस्टेन्ट नम्बर फोर्टिन्।'
नम्बर फोर्टिन् अर्थात् कला सुब्बा।
उनी आफूलाई अवाक् बनाउने त्यो नतिजा सुनेर हासौं कि रोऊँको अन्यौलमा थिइन्। खुसीले आँखा रसाएको क्षण अझै सम्झिन्छिन्– १९९६ सेप्टेम्बर २१, काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मिस नेपाल।
सन् २००० मा उनको जीवनमा अर्को खुसी थपियो। मिस ट्यालेन्ट बनेको चार वर्षपछि उनी वर्षकै उत्कृष्ट मोडल बनिन्।
दुई दशकभन्दा बढी समय मोडलिङमा सक्रिय उनी अनुभवी कोरियोग्राफर बनिसकेकी छन्। र्याम्प, विज्ञापन र फोटोसुटमा वर्षौं बिताइसकेकी उनी फेसन शोहरूमा निर्णायक र प्रशिक्षकका रूपमा सक्रिय छिन्।
आँखामा बाक्लो गाजलसहित मेकअप गरिएको अनुहार, टपक्क कालो बेरेट टोपी र लामा बुट उनको चिरपरिचित लुक्स हो। पहिरनमा विशेष ध्यान दिने कला दरबारमार्गको एउटा रेस्टुरेन्टमा भेटिँदा उही चिरपरिचित हुलियामा थिइन्।
आफ्नो 'अपिरियन्स'प्रति सचेत कलाले भनिन्, 'मेरो पेसा नै यस्तो छ, आधुनिक पहिरन, शृंगार र मेकअप गर्नैपर्छ। यो मेरो पेसागत आवश्यकता र बाध्यता दुवै हो।'
हङकङमा जन्मेर धरानमा बाल्यकाल बिताएकी कलालाई आफ्नै कलायात्रा सम्झँदा अजीब लाग्छ। भन्छिन्, 'धरानमा हुञ्जेल कहिल्यै लिपस्टिकसमेत लाउँदिनथेँ। मोडल बनिएला भन्ने त सोचेकै थिइनँ।'
सानोमा त उनी 'टम ब्वाय' थिइन् रे!
केटाको जस्तै हुलिया। २०४८ सालमा एसएलसी दिएर काठमाडौं आएपछि बल्ल उनलाई फेसन दुनियाँको चस्का लागेको हो। हाफपेन्ट, चप्पल र स्पोर्टस् जुत्तामा 'रफ' देखिन चाहने धराने फेसनको प्रभाव थियो।
बुबा, ठूलोबुबा, काका सबै ब्रिटिस गोर्खा सैनिकमा थिए। बुबाले सानोमा युद्ध लडेका कथा सुनाउँथे रे। यसले कलालाई पनि आर्मी वा प्रहरी पेसातिर आकर्षित गर्थ्यो।
जिन्दगी आखिर आकस्मिकताहरूको घटजोड न हो।
काठमाडौंमा फिल्मफेयर, स्टारडस्टजस्ता भारतीय म्यागेजिन र नेपालकै वेभ, कामना हेर्न थालिन्। उनी सम्झन्छिन्, 'ती पत्रिकाका मोडलका फोटामा आफूलाई राखेर हेर्न थालेँ।'
डली गुरुङ, सनी रौनियार, हनी रौनियार, रम्यता लिम्बू, प्रशान्त ताम्राकार, मोनिमा खड्का आदि मोडल उनले अझै सम्झने नाम हुन्। यिनै मोडलका सौन्दर्य, प्रस्तुति, हिँडाइ, चालढाल लगायतले उनलाई लोभ्याउन थाल्यो।
उनी नाच्न रमाउँथिन्। गुरू प्रवेश बान्तवासँग सिकिन् पनि। आफ्नी दिदी गायिका पवित्रा सुब्बा जहाँजहाँ गीत गाउन जान्थिन्, त्यहाँत्यहाँ कला आफ्नो नृत्यकला देखाउँथिन्।
नाच्नकै लागि धेरैपटक सुनसरीको प्रतिनिधित्व गर्दै काठमाडौं, झापा, धनकुटा, मोरङदेखि दार्जिलिङ र मिरिकसम्म पुगिन्। आज पनि नेपाल प्रज्ञा प्रतिष्ठानको बाटो हिँड्दा राजारानीको जन्मोत्सवमा धरानबाट आएर नाचेको सम्झेर रमाउँछिन्।
काठमाडौं आएर उनले केही समय गुरू प्रवेशसँगै कत्थक नाचलाई निरन्तरता दिएकी थिइन्। खासमा मिस ट्यालेन्टको उपाधि पनि राम्रो नाचेरै जितेकी हुन्।
रहरले बाटो मोड्न थाल्यो। नाच्नेभन्दा सयौं मान्छेका अगाडि र्याम्पमा ठमठमी हिँड्ने रूचि जाग्यो। भन्छिन्, 'रहर नशा बनेपछि कसको के लागोस्!'
मोडल त बन्ने तर कसरी?
उनी यही प्रश्न आफू र आफ्ना वरिपरिका मान्छेलाई पनि सोध्थिन्। मोडलिङ क्षेत्रकै गतिविधि कम हुने त्यो समय बाटो देखाइदिने कोही थिएन। जंगलमा स्याउलाले बाटो बनाउँदै हिँडेजस्तै एक्लै अघि बढिन्।
संयोगवश गोरखापत्रमा नेपालकै पहिलो मोडलिङ एजेन्सी 'द र्याम्प' को विज्ञापन देखिन्। उनलाई ऐनामा आफ्नै रूप हेर्दा 'राम्री छु' भन्ने आत्मविश्वास थिएन। 'द र्याम्प' को दोस्रो ब्याचमा भर्ना हुनुअघि उनले एजेन्सीका मान्छेसँग सोधेकी थिइन्, 'के म मोडल बन्न सक्छु?'
उनका अनुसार, उनमा मोडलमा हुनुपर्ने धेरै गुण थिएनन्। आफ्नै मूल्यांकन गर्छिन्, 'हिँडाइ, बोलाइ, पहिरन, मेकअप धेरै कुरामा ध्यान दिनुपर्ने रैछ। त्यसको पनि कला हुँदो रैछ।'
उनमा नाम कमाउने तिर्सना भने थियो। बुबा शेरबहादुर लिम्बूले भनिरहन्थे– छोरी नाम कमाउनुपर्छ।
आफ्नो कमजोरी सुधार्दै र सीप निखार्न गरेको मेहनतले लामो समय परिणाम दिएन। अडिसनमा उनका धेरै प्रयास अस्वीकृत भइरहे। दुःख पोखिन्, 'कतै हाइट पुगेन भने। कसैले चिम्सा आँखा र थेप्चो नाक, के मोडल बन्न आको होला भने। मंगोलियन लुक्सका कारण धेरैले होच्याउँथे, गिज्याउँथे।'
घोचपेच सहन नसक्दा धेरै रात आँशु पुछ्दै बिताइन् उनले। घरि रिस उठ्थ्यो, घरि दिक्क। भन्छिन्, 'म पनि जिद्दी थिएँ। अझै मेहनत गरेर सफल भएर देखाउने इख थियो।'
गोरखापत्रमा मिस नेपालको विज्ञापन उनको इख छर्ने बाटो भयो। मिस नेपालमा सहभागी भएपछि जीवनले कोल्टे फेरिहाल्यो।
सन् १९९६ उनका लागि खास छ। त्यही वर्ष उनले हिट्स एफएममा रेडियो प्रस्तोताका रूपमा काम सुरू गरेकी थिइन्। हालसालै हिट्स एफएमबाट विश्राम लिएकी उनी सफल र लोकप्रिय रेडियो प्रस्तोता हुन्। उनका लाखौं प्रशंसक छन्।
जे काम गरे पनि उनी मोडलिङ र मिडियाभन्दा टाढा छैनन्। नामजस्तै कला क्षेत्र नै उनको संसार थियो र छ।
मिडियाको बदलिँदो प्रविधि र समयको साक्षी पनि बनेकी छन् उनी।
थाइल्यान्डबाट प्रसारण हुने नेपालकै पहिलो स्याटेलाइट टेलिभिजन 'च्यानल नेपाल' मा साढे चार वर्ष काम गरिन्। उनले सुरू गर्दा हिट्स एफएमको रेकर्डिङ पनि सिंहदरबारभित्रै हुन्थ्यो। टेलिभिजन प्रस्तोता र कार्यक्रम निर्माणको अनुभव बोकेकी उनी कलाकारसँग कुराकानी गर्ने 'उडान' शृंखला चलाउँथिन्।
कुराकानी क्रममा कलाले बारम्बार दोहोर्याएको कुरा हो– यो क्षेत्रमा काम गर्न र टिक्न सजिलो थिएन।
उनले जोड दिनुको कारण छ।
सन् १९९८ मा गोरखापत्रको पहिलो पृष्ठमा समाचार छापियो– 'नेपाली कलाकार र मोडलको नांगो तस्बिर'। समाचारमा कलासँगै नायिका जल शाह, मेलिना मानन्धर, पूजा चन्दका फोटोसप गरिएका तस्बिर थिए।
'ग्ल्यामर क्षेत्र रोजेर नाम मात्र कमाइनँ, बदनाम पनि भएँ,' आक्रोश र पीडा मिसिएको स्वरमा भन्छिन्, 'धन्न परिवारको साथ थियो। केही समय डिस्टर्ब्ड भएँ र फेरि अघि बढेँ।'
जीवनमा नयाँ पीडा थप्नेको कमी भएन रे।
गुनासो पोखिन्, 'मैले आफ्नो मनले खाएको क्षेत्रमा काम गरेकी हुँ। तर मान्छे ग्ल्यामर फिल्डमा काम गर्ने केटीलाई चरित्रहीन र असामाजिक ठान्छन्। म पनि सामान्य मान्छे हुँ। बाहिरी आवरण त बोक्रा हो। मन गुदी हो। अरे यार, मसँग पनि त मन छ।'
खानाका परिकार बनाउन रमाउने उनलाई 'तिम्लाई पनि खाना बनाउन आउँछ?' जस्ता प्रश्न सोधिन्छन् रे। झोक्किंदै भन्छिन्, 'म रक्सी, चुरोट केही खान्नँ। तर मेरो अपिरियन्सका कारण खान्नँ भन्दा पनि ट्वाँ परेर हेर्छन् मान्छे।'
यस्तै व्यहारले उनलाई 'मिसफिट' र 'आउटसाइडर' महशुस गराउँछ। 'पाइला पाइलामा मान्छे चरित्रको प्रमाणपत्र लिएर हिँड् भनेजसो गर्छन्, म मान्दिनँ,' उनी रोष पोख्छिन्।
'बिहे कहिले गर्ने?' उनलाई सबभन्दा दिक्क पार्ने प्रश्न।
'बिहे गर्छु भन्नेहरू सर्त राखेर आए। कसैले मिनिस्कर्ट नलगाऊ भने त कसैले मिडिया छोड भने,' आफ्नो छड्के टोपी मिलाउँदै भन्छिन्, 'मेरो काम र पेसा स्वीकार्न नसक्नेलाई टाढैबाट छड्के सलाम।'
फेसन होस् वा मिडिया, कलाका लागि दुवै सिर्जनात्मक क्षेत्र हुन्।
आफ्नी दिदी पवित्रा सुब्बाका तीन गीतका भिडियो निर्देशन गरिसकेकी कला भावी योजना सुनाउँछिन्, 'अब फिल्म निर्देशन गर्ने सपना छ।'
दिदी पवित्रा मात्रै हैन, अर्की दिदी सत्यासँग पनि कलाको सहकार्य गजबको छ। कला मोडलिङ गर्ने, सत्या फोटो खिच्ने। कलाका थुप्रै फोटो क्रेडिटमा सत्याको नाम भेटिन्छ।
ग्ल्यामर क्षेत्रमा उमेर नापिन्छ रूप हेरिन्छ, गुण र अनुभव हेरिन्न। मोडल-नायिकाको उमेर ढल्केसँगै माग घट्ने कुरा उनलाई खट्किन्छ। रनवे १९९६ को पहिलो 'र्याम्प' हिँडेकी कलालाई समयले जवानी ढल्किने मोडमा ल्याइपुर्याएको छ।
'तीस कटेसी बूढी भइस् भन्ने फिल गराउँथे। अब चालीस काटियो, जिन्दगी सकिएझैं व्यवहार गर्छन्,' उनले भनिन्।
उनलाई भने यो उमेरमा आफू झन परिपक्व लागिरहेछ।
भन्छिन्, 'मोडलको दुइटा अर्थ हुन्छ। एउटा व्यापारिक डिजाइन वा उत्पादन प्रबर्द्धन गर्ने मोडल र अर्को समाजलाई प्रेरणा दिने रोलमोडल। म दुवैखाले मोडल बन्न प्रयास गरिरहनेछु।'