एउटा केराको मूल्य कति पर्ला? महँगीमा भए दस रूपैयाँसम्म? संसारका केही ठाउँमा विशेष गरी फलाइएका भए एक सय डलर?
योभन्दा बढी त के पर्ला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईंको अनुमान गलत भयो। अमेरिकाको मायामी बिचमा एउटा केरा एक लाख २० हजार डलर अर्थात् करिब एक करोड चालीस लाख रूपैयाँ बिक्रीमा राखिएको छ।
यो केरा सुनको हैन है, न हिरामोती जडित नक्कली हो। यो सामान्य खाने केरा नै हो जसलाई भित्तामा टेप टाँसेर अड्याइएको छ।
आर्ट बासेलमा बिक्रीका लागि राखिएको उक्त केराका तीन संस्करण थिए। दुइटा बिकिसकेको जनाइएको छ। अन्तिम संस्करणको यो केराको बोलकबोल १ लाख ५० हजार डलरसम्म पुगेको सिएनएनले लेखेको छ।
योा काम माउरिजियो क्याटलानको हो। उनी आफ्ना मूर्तिहरूका लागि चर्चित छन्। उनले बनाएको १८-क्यारेट सुनको चर्पी ६० लाख डलरमा बिकेको थियो।
बुधबार पेरोटिन आर्ट ग्यालरीको भित्तामा टाँसिएको यो केरा कलालाई 'कमेडियन' नाम दिइएको छ। यो मायामीकै पसलमा किनिएको सामान्य केरा हो जसलाई एक टुक्रा टेपले टाँसिएको छ।
ग्यालरीका संस्थापक इमानुएल पेरोटिनले यसबारे भनेका छन्, 'केरा वैश्विक बजारको संकेत हो। द्विअर्थी र हाँस्यको संकेत पनि। त्यसैले यसले दुवै कुरा प्रतिनिधित्व गर्छ।'
एक सामान्य केराको यति धेरै मूल्य किन्न चाहनेहरूका लागि कुनै सुविधा भने छैन। केरा कुहिन थालेपछि के गर्ने भन्नेबारे ग्यालरी वा बिक्रेताले केही सुझाव दिएका छैनन्।
पेरोटिन ग्यालरीका अनुसार क्याटलानलाई यो आइडिया गत वर्ष नै फुरेको थियो।
'पहिले क्याटलनले केरा स्वरूपको कुनै ढलोट वा मूर्तिकला बनाउने सोचेका थिए,' पेरोटिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उनी जहाँ जाँदा पनि केरा किनेर ल्याउँथे र आफ्नो होटलको भित्तामा झुन्डाउँथे। यसलाई उनलाई प्रेरणा दिन्थ्यो। उनले धेरै नमूनाहरू बनाए। कहिले पारदर्शी पदार्थमा, कहिले पित्तल त कहिले केमा। अन्तिममा उनले साँच्चैको केरा नै राख्ने निधो गरे।'