अहिले जताततै सडक धमाधम कालोपत्रे भइरहेको छ। सग्ला सडक देखेर मान्छेहरू खुसी भइरहेका बेला भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा भने बिहीबार बेग्लै दृश्य देखियो।
मध्यपुर थिमी नगरपालिकाले भीमसेनचोक–बोडे सडक कालोपत्रे गर्दै थियो। रोलरले कालोपत्रे सम्याउँदै गर्दा एक जना व्यक्ति आएर खैंतीले धमाधम खन्न थाले। यसको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भयो।
भर्खर बन्दै गरेको कालोपत्रे खन्ने व्यक्ति स्थानीय कल्याण साहु हुन्। सडक स्तरोन्नति क्रममा आफ्नो घर अनधिकृत रूपले बीच बाटोमा पारिएको भन्दै विरोध जनाएको उनले बताएका छन्।
साहुले सडक खन्दै गर्दा एक महिला नगरपालिकाले आफ्नो घर र जग्गा सडकमा पारेको भन्दै आक्रोश पोख्दै थिइन्। उनले आफू र आफ्ना जेठाजुको जग्गा मिचिएको बताएकी छन्।
'मेयरसाबले हाम्रो घरमै बाटो पिच गरिरहेका छन्। मेरो घरमा मात्र पिच गर्नुको कारण के हो?' ती महिलाले भिडिओमा भनेकी छन्।
स्थानीय राम बादेले पनि मेयरले फाइदाका लागि एकातिर घर छाडेर अर्कातिर जग्गा मिचेर बाटो बनाएको आरोप लगाएका छन्।
'हामीले सडकको सेन्टर प्वाइन्टबाट दायाँ-बायाँ बराबर लिन आग्रह गरेको हो,' बादेले भने,' एकातिर घर मिचियो, अर्कोतिर लालपूर्जा नै नभएको घर छाडेको भएर विरोध गरेका हुन्।'
एकतर्फबाट मात्र सडक बढाउन खोज्दा साहु परिवारले विरोध गरेको उनले बताए।
कल्याण साहु र उनका भाइ दीप साहुले यसबारे उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। अदालतले त्यस स्थानमा तत्काल सडक स्तरोन्नति नगर्न आदेश दिएको थियो। तै पनि नगरपालिकाले काम अघि बढाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन्।
यसअघि पनि उनीहरूले पटक-पटक नगरपालिकामा पत्राचार गरेका थिए। नगरपालिकाले सीमांकन भइसकेकाले केही गर्न नमिल्ने भन्दै दीपलाई चिठी पठाएको थियो।
नगरपालिकाकी उपमेयर अञ्जना माधिकर्मी भने सडक स्तरोन्नति मात्रै गरेको र त्यसमा सबै सहमत रहेको बताउँछिन्।
'सबै स्थानीय मानिसकेका छन्। उनी (कल्याण साहु) मात्रै विरोध गर्दै हिँडेका हुन्,' उपमेयर माधिकर्मीले सेतोपाटीसँग भनिन्, 'एक जनाले यस्तो समस्या ल्यायो भने कसरी विकास गर्ने?'
अदालतको 'स्टे अर्डर' बारे आफूलाई थाहा नभएको र यसबारे मेयरसँग बुझ्न उनले भनिन्।
हामीले पटक-पटक प्रयास गर्दा पनि मेयरसँग सम्पर्क हुन सकेन।