अभियुक्तका परिवारबाट घुस लिएको बाहिरिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ।
दुई भिन्न मुद्दाका तीन अभियुक्तसँग रिजालले बुधबार एक लाख ११ हजार रुपैयाँ ‘घुस’ लिएका थिए। उनले एक लाख रूपैयाँ मागेर दश हजारको मात्रै रसिद दिएका थिए भने ३५ हजार मागेर १४ हजार रूपैंयाको मात्रै रसिद दिएका थिए।
रिजालले घटना बाहिरिएपछि बिहीबार रकम फिर्ता गरेका थिए।
‘उहाँलाई दोलखाको प्रजिअको जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सेतोपाटीसँग भने, ‘दोलखामा सहायक सिडिओलाई निमित्त सिडिओको जिम्मेवारी दिइएको छ।’
जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार रिजाल आफूले चलाउने सरकारी टेलिफोन नम्बर ‘सहायक सिडिओलाई दिनू’ भन्दै शुक्रबार मध्यान्ह हिँडेका छन्।
गृहले संभवत आइतबार दोलखामा नयाँ सिडिओ पठाउने शर्माले बताए।
भएको के थियो?
दोलखाको मैलुङ-४ का कुमार लामा मोक्तान जनप्रतिनिधि कुटेको अभियोगमा २४ दिनदेखि प्रहरी हिरासतमा थिए।
गत मंगलबार उनलाई जिल्ला प्रशासन कार्यालय दोलखा पुर्याइयो। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उनको थुनचेक बहस गरे।
बहस सकिएपछि सिडिओ रिजालले मोक्तानका परिवारसँग १ लाख रुपैयाँ मागे।
न्यून आय भएका मोक्तान परिवार भन्नेबित्तिकै एक लाख रुपैयाँ जुटाउन सक्थेन।
कुमारकी श्रीमती रेणु तामाङले अर्को दिन ऋणधन गरेर पैसा जम्मा गरिन्। साँझ प्रशासन कार्यालय गइन्। सिडिओले पैसाको बिटो समाते।
‘सिडिओले एक लाख रूपैयाँ नभए आठ/नौ वर्ष जेल हालिदिने भनेपछि मैले कहाँ कहाँ घुँडा टेकेर पैसा ल्याएर दिएकी हुँ,’ उनले भनिन्, ‘पैसा कम गरिदिनू भन्दा यो पसल हो र? भन्दै सिडिओले थर्काएपछि एक लाख रूपैयाँ नै बुझाएका हौं।’
प्रजिअ रिजालले मुद्दा शाखाबाट बिल लैजानू भने। रेणु रसिद लिएर घर फर्किइन्।
अर्को दिन (बिहीबार) बिहान उनले श्रीमान् छुटाउन तिरेको रसिद हेरिन्। रसिदको अंकमा मात्र होइन अक्षरमा पनि दश हजार रुपैयाँमात्र तिरेको लेखिएको थियो। उनले परिवारका अरू सदस्यलाई सिडिओले धेरै पैसा लिएको तर बिलमा नलेखेको सुनाइन्। उनीहरू फेरि प्रशासन कार्यालय गए।
कालिन्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट पनि सिडिओले १४ हजारको रसिद दिएर ३५ हजार रुपैयाँ लिएको भन्दै पुगेका थिए।
सिडिओले घुस लिएको हल्लाखल्ला भएपछि रिजाल बाहिर आए।
उनीहरू सबैलाई गाडीमा राखेर क्वार्टरमा लिएर गए। पत्रिकामा बेरेको पैसा उनीहरूलाई फिर्ता दिएर घटनाबारे बाहिर नभन्न आग्रह गरे।
तर उनीहरूले घटनाबारे स्थानीय पत्रकारलाई खबर गरे।
‘सिडिओसाब्, हामीले एक लाख बुझाएको हौं, रसिदमा त जम्मा दश हजारमात्रै लेखेको रहेछ। बाँकी पैसा खोई?,’ घटनाबारे पत्रकारहरूसँग रेणुले भनिन्, ‘अघिल्लो दिन पैसा माग्दा रिसाउनुभएका सिडिओसाब् बिहीबार बिहान त हँसिलो देखिनुभयो। क्वार्टरमा लगेर पत्रिकामा बेरेर ९० हजार फिर्ता दिनुभयो।’
सेतोपाटीलाई प्राप्त भिडिओमा प्रजिअ रिजालले घटनाका पीडित भनिएकाहरूलाई क्षतिपूर्ति भराउन रसिदमा उल्लेख गरिएकोभन्दा धेरै रकम लिइएको स्वीकारेका छन्।
दश हजारको रसिद दिएर बाँकी ९० हजार आफूले राखेको र बिहीबार फिर्ता गरिसकेको रिजालको भनाइ छ। ‘हाम्रो पैसा खोइ भन्दै माग्न आएपछि ९० हजार फिर्ता गरिदिएको हुँ,’ उनले भनेका छन्।
तर प्रजिअले अभियुक्तका परिवारसँग पैसा लिन मिल्ने कुनै कानुनी व्यवस्था छैन।
‘धरौटी कति तिराउने, क्षतिपुर्ति कति दिने सबै कुरा मुद्दाको फैसलामा लेखिएको हुनुपर्छ। पैसा लिनु नै पर्ने भए पनि त्यो मुद्दा वा लेखा शाखाले राख्छ,’ एक पूर्वसिडिओले सेतोपाटीसँग भने,‘यस्तो मुद्दाको पैसा सिडिओले छुनु पनि आचरणविपरित मानिन्छ। उहाँले त क्वार्टरमै लिएर राख्नुभएछ।’
रकम फिर्ताबारे सेतोपाटीले शुक्रबार बिहान सिडिओ रिजाललाई टेलिफोन गर्दा उनले बोल्न मानेनन्। अतिरिक्त पैसा लिनुभएको हो भन्ने सेतोपाटीको प्रश्न सुनेपछि उनले फोन काटिदिए।