सानोठिमी जनक शिक्षा सामग्री केन्द्र नजिकैको ऐतिहासिक पाटी र ढुंगेधारा सडक विस्तार नाममा मासिएको छ।
२ सय ५२ वर्ष पुराना यी संरचनाको अब डोब मात्रै बाँकी छ। पाटीको त नामोनिसान छैन भने ढुंगेधारा नजिकैको प्रहरी कार्यालयमा राखिएको स्थानीय निरज बाडेले बताए।
अघिल्लो वर्ष असोजतिरै 'जी सिने अवार्ड' हुने भन्दा यी सम्पदा भत्काउन खोजिएको थियो। संरचनाको मुखैमा डोजर पुग्दा स्थानीय र ‘पुरानो बाटो सडक विस्तार पीडित समितिले’ विरोध जनाएकाले काम रोकियो।
त्यही बेला समितिका अध्यक्ष महेश कारंजितले भनेका थिए, ‘यसपालि त यी ऐतिहासिक सम्पदा मासिनबाट जोगियो, तर के थाहा, काठमाडौंको सोह्रखुट्टे पाटीजस्तै यहाँ पनि रातारात डोजर चलाइने हो कि?’
बुधबार त्यस्तै भयो। स्थानीय र अभियन्ताहरूले थाहै नपाउने गरी एकाबिहानै यी सम्पदामा डोजर चलाइयो। आक्रोश पोख्नुबाहेक विकल्प रहेन।
घटना निरीक्षण गर्न बिहीबार बिहानै मध्यपुर थिमीका मेयर मदन सुन्दर श्रेष्ठ पुगे। सडक विस्तारक्रममा यसरी सम्पदा उखेल्न नपाउने बताए र तत्कालै बनाउने प्रतिबद्धता जनाए।
‘यी सम्पदा यथास्थानमा जस्ताको त्यस्तै बनाउने हो। नगरपालिकाले यसका लागि ३० लाख बजेट पनि बिनियोजन गरिसकेको छ,’ उनले भने, ‘यो नबनेसम्म बाटो पनि बन्न दिइन्न।’
मेयर श्रेष्ठले ‘सम्पदा हाम्रो सम्पत्ति’ भएकाले जोगाउन पर्ने कुरामा जोड दिँदै भने, ‘यसलाई यहीँ बनाउने, सारेर हाम्रो परम्परा जोगिन्न। सडक विस्तार भन्दैमा बचाउन सक्ने कुरामा लापरबाही गरेर भएन नि!’
यो पाटी र ढुंगेधारा वडा नम्बर २ मा पर्छ। यहीँका स्थानीय निरजका अनुसार वडाध्यक्ष राम थापा मगरको रोहवरमा यी सम्पदा भत्काइएको हो।
‘उनले पहिला पनि ठाउँ परिवर्तन गरेर बनाइदिन्छु भनेका थिए। जनक शिक्षाभित्र पारेर बनाइने भनिए पनि पुरातात्विक कुरा सार्न मिल्दैन,’ उनले भने।
यही विषयलाई लिएर स्थानीय र अभियन्ताहरू बिहीबार पुरातत्व विभाग पुगेका थिए। सबै बेलिविस्तार लगाएपछि प्रवक्ता रामबहादुर कुँवरले तुरुन्तै पुरातत्व अधिकृत मोहसिंह लामालाई खटाए। त्यसक्रममा वडाध्यक्ष राम थापाले भने यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए। अन्जानमा भएको गल्ती सच्याएर एक महिनाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता पनि देखाए।
‘पुरातत्विक मान्यताअनुसार नै निर्माण हुनेछ। फल्चा(पाटी) झनै कलात्मक बन्नेछ,’ उनले भने।
संघर्ष समितिका अध्यक्ष महेशका अनुसार भक्तपुर, मनोहरादेखि निकोसेराको खस्याङखुसुङ खोलासम्म बाटो विस्तार गर्ने सरकारको योजना छ। हाल यहाँका बाटा करिब ९ मिटर फराकिला छन्। विस्तार गरी २२ मिटर बनाइँदैछ।
यी बाटामा मौलिक घर छन्। मन्दिर, पाटी र ढुंगेधारा छन्। योजनाअनुसार बाटो बढाउँदा यी सबै मासिन्छन्।
‘पुरातत्व विभागले सय वर्ष पुरानो कुनै सम्पदा मास्न नपाइने भनेको छ। त्यो नियम पालना गर्नु पर्दैन?’ उनले भने, ‘सडक विस्तार नाममा के हाम्रा सम्पदा मास्न पाइन्छ? यहाँको नेवार बस्ती पनि सम्पदाभन्दा कम छैन। यी कुरा बेवास्ता गर्नुभएन।’
बिहीबार नै मध्यपुर थिमीका कल्याण साहुले बन्दै गरेको कालोपत्रे सडक खनेका थिए। आफ्नो जग्गा मिचेर सडकमा पारेको भन्दै उनले आक्रोश पोखेका हुन्।
संघर्ष समितिले अघिल्लो वर्ष नै यो विषयमा सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सडक विस्तारका लागि धनीको इच्छाविपरीत घर र जग्गा प्रयोग गर्न नमिल्ने भनी सर्वोच्चको पूर्णपाठमा व्याख्या छ। यसविपरीत पनि बाटो खन्ने काम भइरहेको छ।
त्यसैक्रममा ‘युवा क्लब’, स्थानीयले पुज्दै आएको मन्दिर, पीपलको बोट लगायत संरचना भत्काइसकेका छन्। अन्य संरचना पनि भत्काउँदै बाटो विस्तार गर्ने क्रम जारी छ।
संघर्ष समितिले विरोध गरेकै तीन वर्ष भइसक्यो। सडक विस्तार नाममै त्यो बेला ऐतिहासिक ‘द्योः जो’ हिटी र सँगैको फल्चा (पाटी) विनास गरिएको थियो। त्यसलाई उत्खनन् गरेर ब्युँताउन सकिन्छ। तर सडक विस्तार नाममा ज्यादती भइरहेको स्थानीय बताउँछन्।
‘सडक विकास होइन, पूर्वाधार मात्रै हो। कहाँ सडक विस्तार गर्ने भनेर अनुसन्धानै नगरी जथाभावी बढाएर हुन्छ?’ अर्का स्थानीय कृष्ण चित्रकार भन्छन्, ‘वर्षौंअघि विकास भइसकेको सभ्यता मासेर सडक विस्तार गर्न उचित हुँदैन।’
सडक विस्तार नाममा बिना मुआब्जा नागरिकको घरजग्गा अतिक्रमण गर्न हुन्न। त्योसँगै, स्थानीयको पुनर्वास योजना गर्नुपर्छ। व्यवसायीलाई पुनर्स्थापना गराउनुपर्छ। ऐतिहासिक बस्ती मास्न हुँदैन। सम्पदा जोगाउनेमा ध्यान दिइनुपर्छ। यी सबै कुरामा समन्वय भए मात्रै सडक विस्तार योजना अघि बढाउनुपर्ने स्थानीय बताउँछन्।