बराहताल गाउँपालिका–४ तरंगाका लक्ष्मण थापा हप्तादिन अघि बराह ताल पुगे।
बाटोभरी ६ वर्षअघि आफुले देखेको बराह तालको बयान गर्दै हिडेका उनी त्यहाँ पुगेपछि सुख्खा जमिन देखेर निरास भए।
कक्षा ८ मा पढ्दा २०७० मा बाल क्लवका साथीलाई लिएर उनी बराह ताल पुगेका थिए। त्यहाँ उनीहरू पौडि खेलेका थिए।
‘त्यतिबेला भेरी तर्दा डराएको थिइन तर यहाँ तालको छेउमै पौडी खेल्दा पनि साह्रै आत्तिएको हुँ,’ उनले भने, ‘अहिले यो ताल खाली देख्दा जति मन दुख्यो यसअघि कहिल्यै दुखेको थिएन।’ उनका अनुसार २ वर्षअघिमात्र पनि ताल पहिलेको जस्तै थियो।
घना जंगलको बीचमा २० विगाह क्षेत्रफलमा फैलिएको बराह ताल सुर्खेतका पर्यटकीय क्षेत्रहरूमध्येको एक मानिन्छ। पर्यटकीय क्षेत्रका रूपमा रहेका प्राकृतिक तालहरूमध्ये बराह ताल सुर्खेतको दोस्रो ताल हो। यसलाई सुर्खेतको ‘रारा ताल’ वा कर्णालीको दोस्रो रारा पनि भन्ने गरिएको छ। यो तालमा यतिबेला पानीको थोपा समेत छैन।
चराले सफा गर्थे ताल
स्थानीयका अनुसार केही बर्षअघिसम्म ‘बराह ताल’मा हाँस, सारस जस्ता विभिन्न खालका चराहरू थिए। तीमध्ये केही चरा रौं नै नभएका थिए। जंगलको बीचमा ताल भएकाले रूखबाट खस्ने पातपतिंगरहरू तिनै रौं नभएका चराले ओसारेर ताल किनारमा लैजन्थे। ताल सफा हुन्थ्यो।
‘म पहिलोपटक २०३६ सालमा यो तालमा आएको थिएँ, त्यतिबेला पात खस्ने वित्तिकै चराले नै लिएर बाहिर फाल्ने गरेको रमणीय दृश्य देखेको हुँ,’ साविक बराहताल गाविसका पूर्व अध्यक्ष समेत रहेका ओम महताराले भने, ‘अहिले ती चरा कहाँ गए होलान्?’
बराहताल गाउँपालिकाको अध्यक्ष तेजबहादुर बस्नेतका अनुसार बराह तालमा १७ प्रजातिका चराहरु थिए।
‘यो तालमा १७ प्रजातिका चराहरु थिए, तीमध्ये पनि केही पखेटा नभएका चराहरु थिए, पानी सुकेपछि ती चराहरुले कति पीडा भोगे होलान्,’ बस्नेतले भने,‘बीचमा जाने सम्भावना हुँदैनथ्यो,कोहीकोहीले छेउमा पौडी पनि खेल्थे। खेल्दा तालमा भएका चरा कराउँथे, त्यो आवाज सुन्दा रमाईलो लाग्थ्यो।’
२०५६ मा पनि ताल सुकेको थियो
महताराका अनुसार २०५६ सालमा पनि बराह तालमा पानी सुकेको थियो। त्यसबेला ‘बराह’ देवताको पुजा गरेपछि ताल पुनः भरिएको उनले बताए। ‘२०५६ सालमा तालमा पानी एकाएक सुक्यो,’ उनले भने, ‘त्यसबेला परम्परागत मान्यता अनुसार बराह देउताको पुजा गरेपछि फेरि पानी आयो ।’
अहिले बराह तालको छेउमा बराह देवताको एउटा मन्दिर छ। महातारका अनुसार उक्त मन्दीर तालको पानी सुकेपछि पुजा गर्न बनाइएको हो। उक्त मन्दीर अहिले जीर्ण छ । वडा अध्यक्ष कठायले मन्दिरलाई मर्मत गरेर पुजा गरिएमा ताल भरिन सक्ने आशामा स्थानीयले माग गरेको बताए।
बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले तालको पुनःउत्थानका लागि तीनै तहका सरकारको एउटै योजनासहित कार्यक्रम बनाउनुपर्ने बताए। उनले संघीय, प्रदेश र स्थानीय सरकारबाट तालको संरक्षणको लागि छुट्याईने बजेटलाई एकत्रित गरेर एउटै खालको कार्यक्रममा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
यसरी पुनःजिवित गराउन सकिन्छ
तालसम्बन्धी अनुसन्धानकर्ता डा.नवराज केसीका अनुसार यो ताललाई आधुनिक तरिकाबाट पुनःउत्थान गर्न खोज्नु गलत हुन्छ। केसीले ताललाई पुनःउत्थान गर्न प्राकृतिक तरिकाबाटै अघि बढ्नुपर्नेमा जोड दिए।
‘ताल भनेको पानी होईन, माटो हो,’ उनले भने, ‘यो माटोलाई पानी सञ्चित गर्न सक्ने खालको बनाउने गरी लाग्नुपर्छ, त्यसपछि आपसेआफ पानी भरिन्छ। पानी ल्याएर हाल्ने खालको सोच्नुहुँदैन।’
उनले ताल बारे पहिले बुझ्न जरूरी रहेको बताए ।
अनुसन्धानकर्ता डा. केसीका अनुसार, जंगलमा भएको बनमारा झारले वरपर अरू झार अथावा माटोलाई दलदल बनाएर पानी सञ्चित गर्न सघाउ पुर्याउने खालको झार उम्रन दिँदैन। त्यसले गर्दा पनि तालमा पानी सुकेको हो । अब यस्तो खालको झारलाई हटाउनुपर्छ। पानी सञ्चित गर्न सघाउ पुयाउने खालको बोटविरुवा उमार्ने गरी काम गर्नुपर्छ।
लक्ष्मण जस्तै बराह ताल जाने भनेपछि उत्साहित भएर वीरेन्द्रनगरबाट हिँडेका सुर्खेतका जिल्ला वन अधिकृत प्रमुख गोविन्द दाहाल पनि त्यहाँ पुगेपछि निराश बने।
‘हामी ताल भनेपछि हुरुक्कै भएर आएको, यहाँ पुग्दा त निरास भैयो,’ उनले भने।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनका लागि भनेर शनिबार कर्णाली प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी लगायत करिब ४० जना बराह ताल पुगेका थिए। सबै निरास भए।
स्थानीय ओम महताराका अनुसार बराह ताल यो बर्षको हिउँद सुरू भएसँगै सुख्खा बनेको हो। बराहताल गाउँपालिका–४ का वडा अध्यक्ष टेकबहादुर कठायतले २०७२ सालको भुकम्पका कारण ताल सुकेको हुन सक्ने बताए।
‘२०७२ सालमा आएको भुकम्पले तालको मुहानहरुलाई बिगारेको हुनसक्छ, त्यसपछि यो ताल घट्दै गएको थियो। अहिले सबै सुक्यो,’ उनले भने ।
‘बर्षा याममा परेको पानी वरीपरी भएका पहाडहरुको बीचमा लेयरमा बस्छ, त्यो झरेर पनि तालमा आउँछ,’ उनले भने, ‘त्यो किन हरायो, जान्नु जरुरी छ ।’ बराहताल वरपर खनिएको बटोका कारण त्यस्तो लेयरमा सञ्चित पानी बीचमा रोकिएको हुन सक्ने केसीले बताए ।
कर्णाली प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बराह तालको उत्थानका तीनै तहको सरकारको सहभागितामा कार्य योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन्।उनले प्राकृतिक रुपमै पुनःउत्थान गर्नेगरी कार्य योजना बनाउने बताए।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले पनि ताललाई पुनःउत्थान गर्न प्राकृतिक रुपमा सोच्नुपर्ने बताए। उनले ताललाई पुनःजिवित गराउन प्रदेश सरकारका तर्फबाट भरपूर सहयोग रहने बताए।