मान्छेका केही सपना उसको मृत्युपछि पनि पूरा हुने रहेछन्।
लोकप्रिय गायक तथा संगीतकार नारायणगोपाल गुरुवाचार्यको एउटा अधूरो सपना उनी बितेको झन्डै तीन दशकपछि पूरा हुने भएको छ।
२०४७ मंसिर १९ गते ५१ वर्ष उमेरमा निधन भएका नारायणगोपालले एउटा संगीतघरको परिकल्पना गरेका थिए– गीतगंगा।
यही सपनासँग उनकी श्रीमती पेमला पनि जीवनको अन्तिम क्षणसम्म जोडिइन्। पेमलाका अनुसार, नारायणगोपालको चाहना थियो- मृत्युपछि आफ्नो घरमा संगीत प्रशिक्षण केन्द्र खोलियोस् र त्यसमा निमुखा बच्चाहरूलाई समेत संगीत सिकाउने वातावरण बनोस्।
नारायणगोपाल बितेपछि प्रकाशित 'बागीनाः नारायणगोपाल स्मृति' मा पेमलाले उनको सपना र चाहनाबारे लेखेकी छन्।
नारायणगोपालको २९ औं स्मृति दिवस अवसरमा बिहीबार उनको परिकल्पनाले सार्थकताको बाटो लिएको छ। महाराजगञ्जस्थित नारायणगोपालको घर परिसरमा उनकै परिकल्पनाअनुसारको भवन शिलान्यास भयो।
छ करोड लागतमा बन्ने तीनतले 'गीतगंगा' भवनका लागि काठमाडौं महानगरपालिकाले तीन करोड उपलब्ध गराइसकेको छ।
अपांगतामैत्री भवनको कलाशैली र ढाँचा मौलिक नेपाली शैलीको हुने वडा-३ का अध्यक्ष दीपक केसीले जानकारी दिए। भवनमा नारायणगोपालसँग जोडिएका सबै सामग्री संकलन गरिएको संग्रहालय, संगीत प्रशिक्षण कक्ष, पुस्तकालय, प्रदर्शनी कक्षलगायतका कोठा र हल हुनेछन्।
भवन शिलान्यास काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए। वडाध्यक्ष केसी नारायणगोपाल संगीत कोषका महासचिवसमेत हुन्। तीन वर्षअघिदेखि नै उनी कोषमा आबद्ध थिए। उनकै नेतृत्व र पहलमा महानगरपालिकाले नारायणगोपाल स्मृति भवन निर्माणमा अग्रसरता लिएको हो।
स्मृति दिवसमा कोषले बर्सेनि नारायणगोपालका गीत-संगीत प्रस्तुति गर्छ। कलाकारहरूलाई सम्मान पनि गर्छ। यसपटक वडाध्यक्ष केसीले कोषका अध्यक्ष उषा शेरचनसँग मिलेर अतिथिलाई आसन ग्रहण गराउनेदेखि सम्मान र पुरस्कार बाँड्नेसम्म गरे।
उनी उत्साहित हुँदै पटकपटक भनिरहेका थिए, 'संगीत संरक्षण गर्ने काम स्थानीय सरकारले नै गर्नुपर्छ।'
संसारभर स्थानीय सरकारले कला र संस्कृति संरक्षण गर्दा सकारात्मक असर परेको उदाहरण दिँदै उनले थपे, 'देशभरकै स्थानीय सरकारले आफ्नो क्षेत्रको कला र संस्कृतिको अपनत्व लिनुपर्छ। अनि मात्रै नेपाली कला संस्कृति माथि उठ्छ।'
आफ्नो टोल, छिमेक र समाजमा भिजेका उनी र उनको परिवारको नारायणगोपालसँग नजिकको सम्बन्ध थियो। उनका बुबा र दाइ पनि वडाध्यक्ष भएका थिए।
उनले भने, 'उहाँ (नारायण गोपाल) हाम्रो घर बारम्बार आउनुहुन्थ्यो। म उहाँलाई अंकल भन्थेँ।'
२०५३ सालमा आफैंले १५ सय रुपैयाँ हालेर बोर्ड बनाई पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीमार्फत् नारायणगोपाल चोक उद्घाटन गराएको उनी बताउँछन्। महाराजगञ्जमा भएको सालिक उनैले स्थापना गराएका हुन्। लैनचोरदेखि महाराजगञ्जसम्मको बाटोलाई नारायणगोपाल सडकको नाम पनि आफूले नै दिएको उनको भनाइ छ।
नारायणगोपाल र पेमलाका सन्तान थिएनन्। जब महाराजगञ्जचोकमा सालिक बन्यो, तब संगीतकार बुलु मुकारुङले लेखेका थिए– नारायणगोपालले छोरो पाए।
किलागलमा जन्मेका नारायणगोपाल यो क्षेत्रमा २०३८ सालदेखि बस्न आइपुगेका थिए। हाल नारायणगोपाल संगीत कोष भएको ठाउँ पुग्न महाराजगञ्ज भाटभटेनीको गेटसँगै जोडिएको बाटो प्रवेश गर्नुपर्छ। केसीका अनुसार त्यो नै चक्रपथबाहिर बनेको उनको वडाको पहिलो पक्की बाटो हो।
त्यति बेलासम्म मान्छे मूल सडकमा बस्थे। नारायणगोपालको घर वरिपरि सबै खेतीयोग्य जग्गा थियो। एक रात घर फर्किँदा नारायणगोपाल खेतमा लडेछन्। केसीले सम्झे, 'पिउनुभएको थियो कि? लड्नुभएछ...लडेको भोलिपल्ट बाटो बनाउनुपर्यो भन्दै हाम्रो बुबालाई भेट्न आउनुभएको थियो।'
त्यो बेला नारायणगोपालको ख्याति चुलिइसकेको थियो। 'हाम्रो घरमा गायक नारायणगोपाल आउँदा टोलभरि चर्चा चल्थ्यो,' उनले सुनाए।
नारायणगोपालको नाममा केही काम गर्न पाउँदा सिंगो संगीत क्षेत्रलाई सम्मान गर्न पाएको महशुस भइरहेको उनले बताए।
स्थानीय सरकारमार्फत् नारायणगोपाल स्मृति भवनका लागि बजेट हाल्ने कुरामा सहमत गराउन निकै दौडधूप गर्नुपरेको पनि उनी बताउँछन्। भने, 'सुरूमा त मेयर साबलाई मनाउनै गाह्रो भयो।'
राज्यले चाहे संगीत र कला क्षेत्र विकासमा धेरै काम गर्न सक्ने उनको भनाइ छ। नेपाली संस्कृति जोगाउने कलाकारलाई राज्यले संरक्षण गर्न चुकेको बताउँदै उनले भने, 'कला र कलाकारको संरक्षण नगर्ने, अनि कलाकारलाई दण्ड दिने राज्यको यो कस्तो चाला हो?'