यौन शोषणजस्तो गम्भीर आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय एक नम्बर प्रदेश धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणाको पोस्टिङ विवादमा आउँदा प्रहरी प्रधान कार्यालय मौन देखिएको छ।
उनीमाथि यौनशोषण गरेको आरोपमा गृह मन्त्रालयले आवश्यक अनुसन्धान तथा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई चिठी लेखेको एक साता नाघेको छ।
मंसिर १७ गते राणामाथि अनुसन्धान तथा छानबिन गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो।
गृहले पत्र लेखेको एक साता पुग्दा पनि प्रधान कार्यालयले राणामाथि छानबिन गर्न तदारूकदा देखाएको छैन। राणालाई यथावत् ‘पोस्टिङ’मा निरन्तरता दिइरहेको छ।
प्रधान कार्यालयका अनुसार प्रहरीको आचरण तथा व्यवहारमाथि कारबाही गर्ने निकाय ‘छानबिन तथा प्रहरी निरीक्षणालय’ छ, त्यो प्रहरी महानिरीक्षकको सिधा मातहत रहने निकाय हो। यो निकाय राणामाथि लागेको आरोपबारे गृहले लेखेको चिठीबारे बेखबर छ।
‘म एक सातादेखि विदामा छु, के कस्तो चिठी या पत्र आएको छ भन्नेबारे मलाई थाहा भइसकेको छैन,’ निरीक्षणालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्यौपाने भन्छन्, ‘म कार्यालय गएपछि मात्र भन्न सक्छु, दुई दिनपछि सोध्नुहोला।’
राणा नेपाल प्रहरीको ९८ औं टोलीका एसएसपी हुन्। २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिर सुरू गरेका उनका अधिकांश ब्याची अहिले प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा बढुवा भइसकेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार राणामाथि धरानकी एक उच्च घरानाकी महिलाले यौनशोषण गरेको आरोप लगाएपछि छानबिन गर्न प्रधान कार्यालयलाई पत्र लेखिएको हो। नेपालगन्ज घर भएका राणाको सुनसरीमा यो समेत गरेर तेस्रो पटकको दरबन्दी हो।
उनी डिएसपी हुँदा जिल्ला प्रहरी कार्यालय झापामा थिए। त्यसबेला ती महिलासँग चिनजान भएको स्रोत बताउँछ। राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप लगाउँदै ती महिला गृह मन्त्रालय पुगेकी थिइन्।
राणा प्रहरी उपरीक्षक भइकन लगातार सुनसरी जिल्लाको प्रहरी प्रमुख र तत्कालीन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय (हाल एक नम्बर प्रदेश प्रहरी कार्यालय) सुनसरी प्रमुख भएर काम गरिसकेका थिए। तीन महिनाअघि राणा आफैंले रोजेर संघीय प्रहरी इकाई कार्यालय धरान गएको गृह स्रोत बताउँछ।
संघीय प्रहरी इकाई यस्तो कार्यालय हो, जसले प्रदेशभरिका जिल्ला प्रहरी कार्यालयको अनुगमन/सुपरीवेक्षण तथा कामकारबाहीबारे अनुसन्धान गर्छ। यसले केन्द्र र प्रदेश प्रहरी कार्यालयबीचको अपराध अनुसन्धानबारे जानकारी राख्छ। सो कार्यालय हाल प्रधान कार्यालयको ‘प्रतिनिधि’को रूपमा सक्रिय छ।
भूतपूर्व प्रहरी अधिकारीका अनुसार महिलामाथि ‘यौन शोषण’को आरोप प्रहरीमाथि नै लाग्नु गम्भीर हो। यसमा प्रहरी प्रधान कार्यालयले ‘तुरून्तै’ सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने र विषयवस्तुको गम्भीरता हेरेर जिम्मेवारीमा रहन दिने/नदिने निर्णय गर्न सक्छ।
‘प्रहरी अधिकृतमाथि आरोप लाग्छन्, यो सामान्य हो, तर आरोपको गम्भीरता हेरेर कारबाही गरिनुपर्छ,’ पूर्वएआइजी विज्ञानराज शर्माले भने, ‘आरोप प्रमाणित भएपछि मात्रै कारबाही गर्नुपर्छ। कहिलेकाहीँ चिठी/सर्कुलर आउँछन्, तर विषयवस्तुको गाम्भीर्यता हेरेर प्रहरी प्रधान कार्यालयले कारबाही अगाडि बढाउनुपर्छ। गम्भीर अपराध हो भने त्यसलाई पहिलो प्राथमिकतामा राखेर कारबाही अगाडि बढाउनुपर्छ, यो नै प्रहरीको सदाचार नीति हो।’
गम्भीर प्रकृतिको आरोप लागेपछि भने ‘पोस्टिङ’लाई निरन्तरता दिँदा अनुसन्धानमा बाधा पर्ने अर्का एक पूर्वप्रहरी अधिकारीले जनाए। ‘यस्तो गम्भीर आरोप लागेर गृह मन्त्रालयले चिठी नै लेखिसकेपछि हाल कार्यरत दरबन्दीबाट तुरून्त मुक्त गराएर छानबिन गर्नुपर्छ, अरूको अपराध अनुसन्धान निकायको व्यक्ति आफैंलाई यस्तो आरोप लाग्ने विषय आफैं गम्भीर छ,’ ती अधिकारीले भने।
प्रधान कार्यालय स्रोतका अनुसार राणालाई गृहको चिठीपछि सामान्य सोधपुछ पनि गरिएको छैन।
‘यो प्रहरी महानिरीक्षकज्यूले नै हेरिरहनुभएको विषय भएकाले हामीलाई जानकारी भएन,’ प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले भन्यो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालनिकट स्रोतले भन्यो, ‘छानबिन अगाडि बढ्छ, के कसो घटना हो अनुसन्धान हुन्छ। मिडियामा अहिले भन्नेगरी अवस्था विकसित भइसकेको छैन।’
गृह मन्त्रालयले भने प्रधान कार्यालयलाई लेखेको पत्रको प्रगतिबारे सोधिने बताएको छ।
‘पटक-पटक ती महिला आएर हारगुहार गरेपछि चिठी लेखिएको हो,’ गृह स्रोतले भन्यो, ‘यसको छानबिन के कसो भयो भन्नेबारे गृह बेखबर बन्दैन।’