यःमरि पुन्हि
'त्यः छिं त्यः, बकछिं त्यः
लातापाता कुलिंचा जुस्सिं त्यः
यःमरि च्वामु, उकी दुने हाकु,
ब्यूसा ल्यासे मब्यूसा बुरिकुति!'
यो 'यःमरि गीत' हो।
यःमरि पुन्हिका दिन नेवार समुदायबीच सुन्न सक्नुहुन्छ। मंसिर शुक्ल पूर्णिमाका दिन यही गीत गाउँदै यःमरि माग्दै घर-घर जाने चलन छ। गीत ठाउँअनुसार भिन्न-भिन्न हुनसक्छन्। केही हेरफेर भएका पनि। अचेल भने गीतै सुन्न नपाइने सम्भावना पनि धेरै छ। यःमरि माग्दै हिँड्ने चलन हराउन थालिसक्यो।
यःमरि अचेल बोलिचालीमा योमरी भइसकेको छ। यसको शाब्दिक अर्थ भने मनपर्ने रोटी भएको यःमरि पकाउन दख्खल भएकी काठमाडौं नरदेवीकी रैथाने शोभिता महर्जन बताउँछिन्।
'यःमरि दुई शब्द मिलेर बनेको हो,' शोभिता भन्छिन्, 'योः अर्थात् मनपर्ने, मरि भनेको रोटी। मिठो र सबैलाई मनपर्ने भएकाले नाम यःमरि भएको हो।'
परम्परागत रूपमा यःमरि फोसी (कसौडी आकारको तामाको भाँडा), पटासी (स–साना प्वाल भएको माटाको भाँडा) र भेगाः (माटाको भाँडा) मा बनाइन्छ।
यःमरि चामलको पिठोबाट बन्छ। पानीमा पिठो मुछेपछि लाम्चो कागती जस्तै चुच्चो परेको आकारमा ढालिन्छ। यसको मुख बन्द गर्नुअघि यसभित्र स्वादअनुसार तातएको चाकु, खुवा हाल्न सकिन्छ। यःमरि भरिसकेपछि यसलाई आकार दिएर बन्द गरिन्छ।
अब यःमरि पकाउन तयार भयो।
पकाउनका निम्ति सबभन्दा पहिले फोसीमा पानी राख्नुपर्छ। फोसीमाथि पटासी। अनि पटासीमा पराल। यसमाथि यःमरि। यसलाई माथिबाट भेगाःले छोप्नुपर्छ।
करिब २० मिनेटपछि यःमरि पाक्छ।
शोभिताका अनुसार यःमरि पुन्हि वर्षका दिन-रातसँग पनि जोडिएको छ। यःमरि बनाउने रात वर्षकै लामो रात हो।
'यःमरि बनाउँदै नै यो रातको संकेत हुन्छ। यसको माथिल्लो चुच्चो जति लामो भयो त्यति नै रात लम्बिन्छ भन्ने विश्वास छ,' शोभिता भन्छिन्, 'यसदिन पछि चिसो पनि बढ्छ। यःमरि खाएपछि बाँकी तीन महिनाका ठण्डीमा न्याने हुने विश्वास छ।'
संस्कृतविद् ओम धौभडेलका अनुसार 'योगुमरि'बाट परिमार्जन हुँदै यःमरि नाम रहेको हो।
यःमरिको इतिहास पनौतीमा सुरू भएको मानिन्छ। धौभडेलकाअनुसार यःमरि कथा भक्तपुरका स्थानीयसँग पनि जोडिन्छ। एक स्थानीयका बालबच्चा भोकाएका रहेछन्। घरमा केही खानेकुरा थिएन। राति नै उनीहरू पनौती पुगेछन्। त्यहाँबाट धान लिई पिठो बनाएर फर्केछन्। अनि यःमरि बनाएछन्।
'राति भक्तपुरबाट पनौती पुगेर पिठो ल्याएर, यःमरि पकाएको, कति लामो रात होला,' धौभडेलले लामो रातबारे प्रस्ट्याउँदै भने, 'त्यसैले त जेष्ठ शुक्ल पूर्णिमा (वर्षको लामो दिन) मा काम गरेर नपुग्ने र मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात सुतेर पनि नपुग्ने मान्छे जिन्दगीमा कहिले सुखी हुँदैन भनिन्छ।'
त्यस्तै राति पकाएको यःमरिले योबेलाको ठण्डी कति छ भन्ने संकेत दिने पनि उनले जानकारी दिए। राति पकाइएको यःमरि बिहानसम्म जति फुट्छ, त्यसकै आधारमा जाडो नाप्ने चलन छ।
मंसिर शुक्ल पूर्णिमामा मनाइने भए पनि भक्तपुरमा भने दुई महिनाअघि नै यःमरि पकाउने परम्परा रहेछ। धौभडेलका अनुसार कात्तिक शुक्ल पूर्णिमामा 'कट्ही पुन्हि' भनेर एक मुरी चामलको पिठोको दुइटा ठूला यःमरि बनाइन्छ।
यी यःमरिलाई आमा र बुबाको प्रतीकका रुपमा 'मायोः र बायोः' भनिन्छ।
'त्यो यःमरिभित्र माटोको घैंटो राखिन्छ। रञ्जितकार समूहले घैंटामा रातो, निलो, पहेंलो लगायत रङ राख्छन्। गोलमाडीको एक चैत्यमा प्रदर्शन गरिन्छ,' धौभडेलले भने, 'त्यतिबेला यःमरि भन्न नआएर स्थानीयले 'गोःमारी' भन्दा टोलकै नाम गोःमारी भएछ। पछि नाम अपभ्रंश हुँदै गोलमाडी भएको।'
त्यहाँको चैत्यमा राखेपछि भजनकीर्तन सुरू हुन्छ। अनि संकेत दिएपछि यःमरि लुछाचुँडी हुन्छ।
'घैंटोभित्रको रङ लुछाचुँडी हुँदा सबैलाई लाग्छ। अनि सबैले तालि बजाउँछन्,' उनले भने।
त्यसरी नै यःमरि पुन्हिमा पनि मायोः र बायोः प्रतीक बनाइन्छ। यिनलाई ढुकुटीमा राखिन्छ। त्यो दुइटा यःमरि पूरै एक मुरीको त हुँदैन। तर खाने यःमरि भन्दा केही ठूलो हुन्छ। त्योसँगै पिठोको कुबेर, लक्ष्मी, ख्याक, सिँचा, व्याञ्चा लगायत बनाएर पूजा हुन्छ।
'ढुकुटीमा राखेर पूजा गर्यो भने अथाह सम्पत्ति बढ्ने विश्वास छ,' उनले भने।
धौभडेलले यःमरिसँग जोडिएको किम्बदन्ती पनि सुनाए।
पाञ्चाल देश (पनौतीको संस्कृत नाम) मा केशचन्द्र भन्ने मान्छे रहेछन्। उनको घरमा एक दिन भगवान इन्द्र माग्ने भएर आएछन्। केशचन्द्र गरिब भए पनि निकै दयालु थिए। घरमा खानेकुरा नभए पनि उनले चामल पिसेर यःमरि पकाएर दिएछन्। इन्द्र खुसी भएछन्। जाँदाजाँदै इन्द्रले 'चार दिनपछि भान्साको तसलामा छोपेको कुरा हेर्नू' भनेछन्। त्यहाँ केशचन्द्रले सुनको यःमरि भेटे।
'यो कथाले यःमरिको इतिहास पनौती भएको भन्छ। ढुकुटीमा किन राख्ने र माग्न आउनेलाई किन यःमरि दिने भन्ने पनि बताउँछ,' धौभडेलले भने।
उनका अनुसार पनौतीसँग यःमरि जोडिनुको वैज्ञानिक कारण पनि छ। रोशी खोला र इन्द्रावती बीचमा बसेको पनौतीको हावापानी राम्रो छ। धानको चामल एकदमै मिठो हुन्छ। त्यहाँको अन्न काठमाडौंका राजाले समेत खाने गरेको उनले बताए।
नेवार समुदायमा प्रेमको सुरुआत पनि यःमरिबाट हुने धौभडेल बताउँछन्।
गीतले भन्छ, 'ब्यूसा ल्यासे मब्यूसा बुरिकुति!'
'अर्थात्, यःमरि दियो भने तरुनी, नत्र बुढी,' उनले भने, 'एकजना अपरिचित युवक यःमरि माग्न जान्छ। त्योबेला युवतीसँग चिनजान हुन्छ। पछि होलीसम्म पनि प्रसंग जोडिन्छ। त्यही लम्बिँदै विजया दशमीमा कसैको विवाह पनि हुन्छ।'
शोभिताका अनुसार केटाकेटीको जन्मदिनमा पनि यसको विशेष महत्व हुन्छ।
'केटाकेटी १२ वर्षका हुन्जेल जन्मदिनमा यःमरिको माला लगाइदिने चलन छ। जोडा–जोडा वर्ष गरेर,' उनले जानकारी दिइन्, 'तर धेरै हुँदा चाकुसहितको यःमरि भारी हुन्छ। त्यसैले खाली यःमरिको माला पनि लगाइन्छ।'
यो दिन नयाँ धान भित्र्याएर भकारी पूजा गर्ने पनि हो।
भकारीमा १२ वटा यःमरि राखेर गणेश, लक्ष्मी लगायत भगवान माथिबाट राखिने उनले बताइन्।
'लक्ष्मी भित्र्याएजस्तै हो भकारीको पूजा,' उनले भनिन्, 'पूजा गरेको त्यो यःमरि चार दिनपछि सेकाएर खाइन्छ। कति मिठो हुन्छ,' शोभिताले व्याख्या गरिन्।
इतिहास तथा संस्कृति विषयकी विद्यार्थी सुनीता तुलाधरका अनुसार यःमरिको गीतमा केही लिच्छविकालीन शब्द छन्। त्यसैले यो त्यही समयदेखि सुरू भएको हुनुपर्छ। गीतमा नापतौलको प्रसंग जोडिएको उनले बताइन्।
काठमाडौंका स्थानीय किरण मानन्धरका अनुसार यःमरि माग्न जाँदा धान, चामल पनि दिने चलन छ। उनका अनुसार गीतका हरफले भन्छन्, '४ माना भए पनि हुन्छ। आधा माना भए पनि। जतिसुकै भए पनि हुन्छ।'
'त्यः छिं त्यः, बकछिं त्यः
लातापाता कुलिंचा जुस्सिं त्यः'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी