बझाङको जयपृथ्वी नगरपालिका सुवेडाकी ६० वर्षीया लक्ष्मी बमको पराल झिक्ने क्रममा रूखबाट लडेर हात भाँचियो।
सदरमुकाम चैनपुरको जिल्ला अस्पतालमा सम्भव नभएपछि उनी सेती प्रादेशिक अस्पताल धनगढी आइन्। धनगढीमा रहेका आफन्तको सहयोगमा उपचार गराउँदै छन्। श्रीमान् घरगोठ हेर्न सुवेडामै छन्।
८ दिनअघि प्रादेशिक अस्पतालको इर्मेजन्सी वार्ड भर्ना भएकी लक्ष्मीलाई डाक्टरले भने- भाँचिएको हातको अपरेशन गर्नुपर्छ।
उनी अस्पतालमै भर्ना भइन्। भर्ना अर्थात् अप्रेसनको लाइनमा।
उनलाई डक्टरले भनेका थिए, मंसिर २२ गते पालो आउँछ।
लाइन घटेर उनको पालो आउला भन्दा झन् बढिरहेको छ।
डाक्टरले लक्ष्मीलाई हात दुई ठाउँमा भाँचिएको बताइसकेका छन्। घाइते हातको चर्को दुखाई बल्लबल्ल सहेकी उनको अझ ठूलो समस्या अर्कै छ- उपचार गर्न बस्दा लाग्ने खर्च सकियो।
'अपरेशनको समय लम्बिँदै गएको छ। खाना र दैनिक औषधी किन्न अब पैसा छैन,' उनले भनिन्।
लक्ष्मीजस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका ५८ वर्षिया जानकी देवी पाण्डेको पनि बाँया हात भाँचिएकाले अपरशेन गर्नु पर्नेछ। उनी पनि नौ दिनदेखि अस्पतालको बेडमा डाक्टर पर्खिरहेकी छन्।
बिरामीको चापअनुसार अस्पतालमा आवश्यक चिकित्सकको कमी र भएका चिकित्सकले पनि बिदा लिएकाले डेढ सातादेखि हाडजोर्नीसँग सम्बन्धित अपरेशन ढिला भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले बताए। उनका अनुसार हाडजोर्नी सम्बन्धी अपरेशन गर्ने एक जना डाक्टर तालिम, अर्का विदामा काठमाडौं र एक जना डाक्टरले अपरेशन गर्न समय धेरै लागेको हो।
डाक्टरको अभाव मात्र होइन अस्पतालको फार्मेसीमा औषधीको पनि अभाव छ।
पैसा सकिएपछि लक्ष्मीलाई सहयोग गरिरहेका उनका भतिजा वीरेन्द्र बमले गरिब तथा विपन्न वर्गका लागि औषधी लगायतका सेवा दिन स्थापना गरिएको शाखाबाट पहेँलो पर्चा पनि बनाइदिए। त्यही पर्चा देखाएर लक्ष्मीले सहुलियत मागिन्। तर, अस्पतालको फार्मेसीमा औषधी पनि छैन। किन्नै पर्ने अवस्था छ।
'अस्पताले लक्ष्मीको अपरेशनका लागि बीस हजार रुपैयाँ लाग्ने बताएको छ। त्यत्रो पैसाको जोहो कसरी गर्ने पीर उस्तै परेको छ मलाई,' उनले भनिन्।
धनगढी उपमहानगरपालिका १८ फुलबारीकी निर्मला बिकले नल्कामा चिप्लिएर भाचिएको खुट्टाको उपचार गर्न भर्ना भएको तीन दिनपछि मात्रै प्लास्टर गर्न पाएकी थिइन्। उनलाई अस्पतालमा कुरेर बसेकी भगवती बिकका अनुसार, अस्पतालका डाक्टरहरू नै बिरामी हेर्न नआउने गरेको, उपचारमा ढिलाइ हुने गरेको गुनासो गरिन्।
सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारबाट ५० शैयाको अस्पतालको दरबन्दी र सुविधा छ। मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पाण्डेयले अस्पतालको स्तरोन्ति प्रदेश सरकारले गर्न नसकेसम्म नागरिकले सास्ती भोगिरहनुपर्ने बताए।
विसं १९९७ सालमा जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल अहिले प्रादेशिक अस्पताल भएको छ। २०४० साल पछि स्तरोन्नतिको पर्खाइमै छ।
यहाँ ५० शैया नेपाल सरकारको स्वीकृति र थप ७५ शैया अस्पतालबाटै सञ्चालित छन्।
प्रदेशभरीका बिरामी यहाँ आउँछन्। बिरामीको चाप बढी भएकाले अनुमति १ सय २५ शैया भए पनि झण्डै २ सय ५० शैया सञ्चालन गरिरहेको डाक्टर पाण्डेयले बताए।
सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल भए पनि आर्थिक रूपले विपन्न नागरिकहरूको एकमात्र विकल्प हो।
सर्वसुलभ उपचार सेवा पाउने आसामा टाढाटाढाबाट आउने बिरामीले भने यहाँ सेवा भन्दा धेरै कष्ट बेहोर्नु परेको बताउँछन्।
इमर्जेन्सीमा भर्ना भएर चाँडै उपचार होस् भनेर अस्पताल पुगेका बिरामी अपरेशनका लागि हप्तौं कुरेर बस्दा झन् पीडित बनेका छन्।