सुनसरीको इटहरीस्थित खनार गाउँकी राधा ९ वर्षअघि छोरीहरू सोनम र स्वेच्छालाई काखीमा च्यापेर घरबाट निस्किएकी थिइन्।
श्रीमानको ज्यादती सहन नसकेर उनले घर छोड्नु परेको थियो।
१८ दिनअघि राधाको निधन भयो।
'रक्सी खाएर बाले कुटपिट गर्थे, आमाको शरीरमा बाँचुञ्जेल घाउचोटका दाग थिए,' जेठी छोरी सोनमले भनिन्, 'बुवाको घर छोडेपछि आमाले साह्रै दु:खले हामीलाई हुर्काउनुभयो तातो घाममा काम गर्न हिँड्नुहुन्थ्यो,चटपटे बेचेर म र बहिनीलाई सरकारी स्कुलमा भए पनि पढाउँदै आउनुभएको थियो अब त...,' उनी स्तब्ध भइन्।
छोरीछोरी जन्माएको भन्दै राधालाई पतिले हेला गर्थे रे।
एक वर्षअघि पति बिते। कानुनी रूपमा अझै उनीहरू दम्पत्ति नै थिए। त्यो खबर सुनेर राधाले काजकिरिया गर्न पतिको घर जाने निधो गरिन्।
सासू र देवरले ‘नआउनू’ भन्ने खबर पठाएछन्।
राधाले आफू भाडामा बसेकै घरमा किरिया बसिन्।
आफूहरूलाई हेला गर्ने बुवाको किन किरिया गरेको भनेर दुई छोरीले सोधिहाले।
'मान्छे मरेपछि काजक्रिया नगरे आत्माले शान्ति पाउँदैन,बैगुनी नै भए पनि ऊ तिमीहरूको बुवा हो,' सोनमले आमाले भनेको सम्झिइन्।
पतिको आत्माको शान्तिको लागि राधाले १३ दिनसम्म कष्ट सहिन्। 'बाले अलपत्र छोडे पनि उनको आत्माको शान्तिको लागि पत्निले नै किरिया गर्नुपर्ने भनेर यही समाजले आमालाई सिकाएको हो,' उनले भनिन्,'बुवाको व्यवहारले मनको सम्बन्ध टुटिसकेको भए पनि आमाले सामाजिक मान्यतालाई मान्नुभयो।'
त्यतिबेला सोनमले दुइटा कुरा बुझिन्।
पहिलो मरेपछि मान्छेलाई माफी दिनुपर्ने रहेछ।
दोस्रो, मर्दापर्दा त्यागै गरेको भए पनि नातागोता इष्टमित्रले आफ्नो कर्तव्य निभाउनुपर्ने रैछ।
समाज चाहिने त्यसैका लागि रहेछ।
राधा ४ वर्षदेखि श्वासप्रस्वाससम्बन्धी रोगबाट पीडित थिइन्।
सास फेर्नपनि संघर्ष गर्नुपर्ने उनले यी चार वर्ष जसोतसो कटाइन्। राधा धर्मकर्म असाध्यै मान्ने। पूजाआजा गरे धर्म हुन्छ भन्ने मान्थिन्।
१८ दिनअघि ग्रह शान्तिको पूजा लगाएकी थिइन्। त्यही रात उनको आत्माले पनि शान्ति खोज्यो। तर सजिलै कहाँ पाउँथिन्?
उनको काजकिरिया गर्न न २ छोरीले सजिलै पाए न त पतिका परिवार आए।
समाज र आफन्तबारे आमाबाट १ वर्ष अघिमात्र लिएको ज्ञान सोनमलाई झूटो लाग्न थाल्यो। किनभने उनले समाज र इष्टमित्रको अर्कै रूप देख्न पर्यो।
आमा बितेपछि बुवाका परिवार सतगत गर्न आउलान् भन्ने उनीहरूलाई आश लागेको थियो। तर आएनन्। दुईछोरीले आमालाई दागबत्ति दिए। जब दिदीबहिनी सेता लुगा लगाएर आमाको किरिया बस्न खोजे पण्डित नै मानेन्। न त उनीहरूको समाज।
'हामी दुई छोरीले किरिया गर्छौ भन्दा समाज र पण्डितले मानेन। छोरी मान्छेले पिण्ड दिन मिल्दैन भनेर कुनै पनि पण्डित आमाको अन्तिम संस्कारको लागि तयार भएनन्,' सनमले भनिन्,'पण्डितकै कुरा मानेर आमाले आफूलाई अलपत्र पार्ने पतिको १ वर्षअघि किरिया बस्नुभएको थियो।'
उनकी आमा पनि त छोरी मान्छे नै थिइन्।
छोरीले नमिल्ने भए त्यो पनि नमिल्नु पर्ने हो भन्ने प्रश्न सोनमले गर्दा उनीहरू सुन्नै मानेनन्।
भर्खरै १६ वर्षमात्र पुगेकी सोनम र १२ वर्षकी स्वेच्छा टुहुरामात्र भएनन्, आमाको अन्तिम संस्कार गर्न समाजसँग लड्नुपर्यो।
मानिस मरेपछि किरिया नगरे आत्माले शान्ति पाउँदैन भन्ने विश्वास गर्न सिकाएकी आमाकै किरिया ७ दिनसम्म बस्न पाएनन् छोरीहरू।
'हामीले नै किरिया गर्ने भनेर बस्यौं। तर किरिया गर्न त पण्डित चाहिन्थ्यो। सात दिनसम्म पण्डितले फर्केर पनि हेरेनन्,' सनमले त्यो दिनको घटना सुनाइन्।
आमा हुँदा पो उनीहरूको सबै थियो। गरिब त उनीहरू पहिलै थिए भएको धन पनि गयो। आमा गएपछि सबैथोक सकिएझैं भएका बेला उनीहरूको घरमा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम आइन्।
उनले उनीहरूले आमाको काजकिरिया गर्न नपाएको सुनेकी रहिछन्। 'आठौं दिन उहाँ आउनुभयो,' सनमले भनिन्, 'हामीलाई ढुक्क भयो।' उपमेयरले गाउँमा कुरा गरिछन्। धेरै जनामध्ये बल्ल एक जना पण्डितले छोरीलाई किरिया गराउन मानेछन्।
उपमेयरले आएर पण्डितलाई फकाएपछि सनम र स्वेच्छाले आठौं दिनका दिनदेखि आमाको किरिया बसे।
गएको हप्ता राधाको अन्तिम संस्कार सकियो।
'बल्ल आमाको आत्माले शान्ति पाए जस्तो लागेको छ,' सनमले भनिन्। छोरीले पनि काजकिरिया गर्ने समाचार यसअघि पनि उनले पढेकी रहिछन्। त्यसैले ठूलो समस्या हो जस्तो लाग्दैन्थ्यो रे।
'आफूलाई पर्दा समाजले गरेको व्यवहारले थाहा पाएँ, छोरीलाई त मान्छेमा गनिँदो रहेनछ,' उनले भनिन्,'समाज मर्दापर्दा काम लाग्छ भन्ने आमाले सिकाउनुभएको थियो तर होइन रहेछ।'
उनले अझै अघि भनिन्, 'आमाको आत्माले त शान्ति पायो होला। छोरीको लागि यो समाजको नियम कानुन र अवरोधले गर्दा हामी छोरीहरूको आत्मा भने विचलित भयो।'