पैदलयात्रीहरूको सुविधाका लागि पोखराको सिर्जनाचोकमा आकाशे पुल (ओभरहेड ब्रिज)को निर्माण कार्य थालिएको छ।
बढ्दो जनघनत्व र सवारी साधनको कारण पोखराका मुख्य चोकहरूमा आकाशे पुलको आवश्यकता भएकोले पोखरा महानगरपालिकाको अगुवाइमा सिर्जनाचोकमा पहिलो पटक आकाशे पुल निर्माण गर्न थालिएको हो।
पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजारको लागतमा सिर्जनाचोकमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण गर्न लागिएको इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए।
आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य समेत रहेका स्व. पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरेका थिए। यस्तो डिजाइनको आकाशे पुल नेपालमा पहिलोपटक बन्न लागेको इन्जिनियर भण्डारीले बताए। आकाशे पुलको लागि एक वर्ष अगाडि डिजाइन तयार गरेकोमा अहिले शिलान्यासको चरणमा आएको उनले उल्लेख गरे।
इन्जिनियर भण्डारीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारै तिरबाट झर्न मिल्छ। आकासे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिको सबै संरचना स्टिलको बन्ने छन्।
२०७६ जेठ ५ गते आकाशेपुल निर्माणको लागि सम्झौता भएकोमा २०७७ साउन २७ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ।
निर्माण कम्पनी केएम/जेबिएनएस पोखरा जेबी पोखरा १७ ले आकाशे पुल बनाउने जिम्मा पाएको छ।
इन्जिनियर भण्डारीले सिर्जनाचोकपछि पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुंगामा समेत आकाशेपुल निर्माण गरिने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आकाशेपुलको शिलान्यास गर्दै अहिलेदेखि नै व्यवस्थित र योजनाबद्ध ढंगले काम नगरे अबको १० वर्षमा पोखरा काठमाडौं जस्तै हुने घोषणा गरे।
‘पोखरालाई व्यवस्थित सहरको रूपमा विकास गर्न ठोस योजनाका साथ अघि बढनु जरूरी छ,’मुख्यमन्त्री गुरुङले भने, ‘दीर्घकालीन सोचका साथ भौतिक पूर्वाधार र विकास निर्माणका काम गरेर पोखरालाई शान्त, सुरक्षित बनाउनु आवश्यक छ।’
छोरेपाटनदेखि विरौटाचोक, राष्ट्रबैंकचोक रत्नचोक, सिर्जनाचोक हुँदै सिद्धार्थचोकसम्मको सडक ४ लेनको बनाउनुपर्ने उल्लेख गर्दै उनले जनसंख्या वृद्धि र बढ्दो सवारी साधनको कारण पोखराका मुख्य ठाउँका सडक ४ लेनको बनाउने योजनासहित प्रदेश सरकारले काम थालेको बताए।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको मुख्यमुख्य क्षेत्रमा ४ लेनको नमूना सडक बनाउने बताए।
ग्रामीण क्षेत्रका महानगरका वडाहरूमा १० मिटरको १ सय २९ किमी सडक बनाएको जानकारी दिँदै उनले महानगरका विकट क्षेत्रमा विकास निर्माण क्षेत्रको काम गरेर निकटमा ल्याउने धारणा राखे।
उनले सिर्जनाचोकबाहेक ५ ठाउँमा आकाशेपुल निर्माणको लागि अध्ययन भइरहेको जानकारी दिए ।