हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो। तै पनि हुम्लामा १०० किलोमिटर सडक छ।
सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म ५ किलोमिटर, सर्केगाड गाउँपालिकादेखि चंखेली गाउँपालिकाको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ। तिब्बतसँग जोडिएको हिल्सा नाकादेखि सिमीकोटसम्म ८४ किलोमिटर छ। ९४ किलोमिटर सडकमध्ये यहाँ ८४ किलोमिटर मात्र ट्रयाक खोलिएको छ।
यी सबै सडक अहिले सञ्चालनमा छन्। यी सडकहरूमा साना तथा ठूला गरी करिब ६० सवारी साधन गुड्छन्। सवारी साधन सञ्चालन भएता पनि सडकमा न ट्राफिक संकेत छन्, न त रुट परमिट नै। त्यसैमाथि कच्ची र साँघुरो सडक सवारी दुर्घटनाका कारक बनेका छन्।
हुम्लामा यसै वर्षमात्र तीन वटा सवारी दुर्घटना भइसकेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार यी सबै दुर्घटनाका कारण भनेको साँघुरो सडक हो।
‘यहाँ भएका सबै सडकहरू ट्रयाक मात्र छन्, साँघुरो र कच्ची बाटोमा गाडी गुडिरहेका हुन्छन्, दुर्घटना हुने गर्छ।’
पाँच महिनामा तीन दुर्घटना
हुम्लामा पछिल्लो पाँच महिनाभित्र दुइटा टिपर र एउटा जीप दुर्घटनामा परेका छन्। यी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ।
२०७६ असार ३ गते खार्पुनाथ गाउँपालिकामा बोलेरो जीप दुर्घटनामा पर्यो।
कर्णाली नदीमा जीप खस्दा गाउँपालिकाका उपाध्यक्षसहित सिन्दु हमालसहित ११ जनाको मृत्यु भयो।
दुर्घटना भएको उक्त जीप नेपाली सेनाको हेलिकप्टरमार्फत् हुम्ला पुर्याइएको थियो।
यस्तै, मंसिर १२ गते टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। नाम्खा गाउँपालिकाबाट सिमीकोट जाँदै गर्दा बीचमा भएको दुर्घटनामा १२ जना घाइते भए।
सडक सञ्जालले नजोडिएकाले घाइतेलाई २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज पुर्याइयो।
बिहीबार पनि नाम्खा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
एक जना ट्राफिक खटाइयो
हुम्लामा ट्राफिक कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार हाललाई हेर्नेगरी एक जना प्रहरी जवानलाई खटाइएको छ।
तत्काल जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर काम गर्नेगरी प्रहरी जवान काजमा खटाइएको प्रदेश कार्यालयले जनाएको छ।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले अबको एक हप्ताभित्र हुम्लामा ट्राफिक कार्यालय स्थापना भइसक्ने बताए।
‘अब धेरै समय लाग्दैन, एक हप्ताभित्र कार्यालय स्थापना भइसक्छ,’ एसपी यादवले भने, ‘दुर्घटना बढ्दो छ, भाडामा घर लिएर भए पनि कार्यालय स्थापना गर्ने तयारी भएको छ।’
उनका अनुसार भर्खरै मात्र हुम्लामा प्रहरी कार्यालय स्थापना गर्न निर्देशन भएको छ।
हुम्लामा १० जना ट्राफिक प्रहरीको दरबन्दी स्वीकृत भएको यादवले जानकारी दिए।
दरबन्दी स्वीकृत भए पनि जनशक्ति अभावका कारण तत्काल सबै दरबन्दी पूरा हुन नसक्ने उनले बताए।