आँखा सर्जन डा. सन्दुक रुइत १० वर्षअघि दोलखामा शिविर गर्न पुगे। शिविरमा एक जना बिरामी डोकोमा बोकेर ल्याइयो। ५ वर्षदेखि दुइटै आँखा बन्द भएकी ती बिरामी थिइन्, कान्छीमाया।
उनका दाजुले सिन्धुपाल्चोकबाट उनलाई बोकेर शिविरमा उपचार गर्न ल्याएका थिए। श्रीमानले त छाडिसकेका।
कान्छीमायाको साथमा तीन वर्षका बालक पनि थिए। आँखा बन्द भएकै अवस्थामा ती बालकलाई उनले जन्मदिएकी थिइन्।
शिविरमा डा. रुइतको टोलीले कान्छीमायाको आँखाको शल्यक्रिया गर्यो। भोलिपल्ट जब उनको पट्टी खोलियो, रुइतलाई ती बिरामीको उमेर शल्यक्रिया गर्नुअघि भन्दा २० वर्ष सानी लाग्यो रे।
'अप्रेसनअघि ६० वर्षको जस्तो देखिएको थियो,' रुइतले पोखरामा जारी नेपाल साहित्य महोत्सवमा भने, 'पट्टी खोलेपछि एकैदिनमा २० वर्ष कम उमेरको देखिँदो रहेछ।'
रुइतले कान्छीमायाको काखमा उनको सानो छोरा राखिदिए। बच्चा जन्माएर देख्न नपाएकी कान्छीमायाले काखमा बच्चालाई हेरिरहिन्। बच्चाको गाला सुम्सुम्याइन्। एकछिनपछि तपतप आँशु झारिन्।
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अनुभव सुनाउँदै रुइतले भने, 'विश्वका थोरै भाग्यमानीलाई यस्तो अनुभव गर्ने मौका मिल्छ।'
रुइतका अनुसार उनी कान्छीमायाको परिवारसँग अहिले पनि सम्पर्कमा छन्। कान्छीमायाका छोरा ८ वर्ष भइसके। नियमित स्कुल जान्छन्। कान्छीमाया दैनिक काममा लागेकी छिन्।
'यस्तो अनुभूतिले भित्र कताकता आनन्द आउँछ,' रुइत भन्छन्, 'ब्याट्री रिचार्ज भएजस्तो मन रिचार्ज हुन्छ।'
यस्ता अनुभव रुइतका जीवनमा धेरै छन्। हालसम्म एक लाख २५ हजारभन्दा बढीको आँखाको ज्योती फर्काइसकेका रुइत एक वर्षअघि हेटौंडा अस्पतालमा शिविर गर्न पुगे। शिविरमा शल्यक्रिया गरिएका ३०० बिरामीमध्ये एकजना ८ वर्षे बालक थिए। रोशन नामका ती बालकको आँखा मोतियाविन्दुले ठप्प पारेको थियो।
यति सानो उमेरमा आँखाको शल्यक्रिया गर्नु सामान्यतया चुनौती हुन्छ।
डा. रुइतले रोशनलाई सोधे, 'बाबु तिमी के खाने?'
बालकले भने, 'मःम खाएको छैन, मःम खाने।'
'अरु?'
'जिलेवी।'
शल्यक्रियाको भोलिपल्ट पट्टी खोलेपछि रोशन एकैचाटी उठेर आए। के गर्न लाग्यो भनेर रुइत अचम्मित भए। रोशनले रुइतलाई छोए। कपाल र गाला सुम्सुम्याए।
रुइतले यस्तो प्रतिक्रिया अपेक्षा नै गरेका थिएनन्।
'मेरो आवाज सुनेर झम्टे जस्तो,' रुइतले भने, 'यस्तो एग्रेसिभ रियाक्सन धेरै देखेको छैन, धेरै सुन्दर रियाक्सन।'
डा. रुइतको जीवन संघर्ष र सफलताका कथा पढेर अहिले धेरै मानिस मुग्ध छन्। उनका जीवनका असफलताका उदाहरण दिन कार्यक्रममा दर्शकले सोधे।
उनको असफलताका कथा पनि बिरामीकै सेवामा केन्द्रित रहेछ।
दोरम्बामा शिविर लिएर जाँदा गाउँबाट एउटा सानो बोलावट आयो। एक घण्टा पैदलयात्रापछि ओछ्यानबाट बाहिर निस्कन नसक्ने बिरामीकहाँ पुगे। हेरे। उनलाई मानसिक समस्या पनि रहेछ। दुइटै आँखाका नानीमा फुलो परेर बिग्रिएको थियो। केही गर्ननसक्ने अवस्था।
त्यति टाढा आएर पनि केही गर्न नसकेकोमा उनलाई अहिले पोलिरहने रहेछ।
डा. रुइतले यसैमा अर्को प्रसंग जोडे।
'तिलगंगा आँखा अस्पताल बनाउन सानो जग्गा पाएकाले त्यति काम गर्न सक्यौं। अझ धेरै जग्गा पाएको भए धेरै काम गर्न सक्छौं जस्तो लाग्छ।'
रुइतको टोलीले प्रयोगमा ल्याएको प्रविधि अहिले नेपालमा मात्र होइन, विश्वका धेरै देशमा फैलिरहेको उनले सुनाए। यही प्रविधि लिएर डा. रुइतको टोली उत्तर कोरिया पुगेका थिए।
त्यहाँ एक हजार जनाको आँखाको शल्यक्रिया गरेर देख्न सक्ने बनाए।
रुइत भन्छन्, 'चलनचल्ती अनुसार के गर्यो भन्ने कुरा ठूलो होइन, उनीहरू आँखा देख्न सक्ने भएर आफ्नो दैनिक काममा फर्कनु ठूलो हो।'
उनले फेरि भने, 'जहाँ आँखा नदेख्नेहरू छन्, त्यहाँ हामी पुग्छौं।'
डा. रुइतका अनुसार अझै नेपालमा दुई लाख मान्छे आँखा देख्ननसक्ने अवस्थामा छन्। उनीहरूको शल्यक्रिया गरेर देख्नसक्ने बनाउने उनको धोको छ। विश्वमा यो संख्या २० लाख बढी रहेको अनुमान छ।
तिलगंगा आँखा अस्पतालमा अहिले बर्सेनि करिब एक लाख मान्छे आँखाको शल्यक्रिया गर्न आउँछन्। नेपालबाट मात्र नभएर भारत, भुटान, चीन, पाकिस्तान लगायत देशका बिरामी समेत तिलगंगामा आउने डा. रुइत बताउँछन्।
'नेपालमा अन्धोपन निवारणका लागि राम्रो समाधान छ भन्ने विश्वलाई थाहा छ। उनीहरूले पनि यसको ट्रान्सलेसन गरिराछन्। यो संसारको लागि नेपालको देन हो झैं लाग्छ,' डा. रुइतले गौरवान्वित हुँदै भने, 'नेपालको झण्डा लिएर संसारमा जान सक्छौं जस्तो लाग्छ।'
डा. रुइतको अग्रसरतामा खोलिएको तिलगंगा अस्पतालमा अहिले विश्वस्तरीय उपचार सेवा सस्तोमा उपलब्ध छ। विकसित देशमा ५ हजार डलर पर्ने आँखाको शल्यक्रिया तिलगंगामा बढीमा १५–२० हजारमा सम्भव छ।
रुइतले यसरी मानिसको सेवा गर्दै दुर्गम गाउँगाउँ चहार्नुभन्दा देशविदेशबाट आएका आरामदायी जीवनका प्रस्ताव स्वीकारेर जानेबारे नसोचेका होइनन्। तर उनलाई सधैँ एउटा डाक्टरको धर्मले रोक्छ।
'आमचिकित्सकको सबभन्दा ठूलो धर्म सेवा दिने हो,' उनी भन्छन्, 'हामीले त्यही पढेका हुन्छौं, कसम खाएका हुन्छौं, त्यो दिनैपर्छ।'
नेपालमा स्वास्थ्य सेवा चाहिनेभन्दा बढी व्यापारीकरण भएको उनको बुझाइ छ। नेपालमा मेडिकल कलेज जरुरी भए पनि आवश्यकता र गुणस्तर हेर्नुपर्ने उनको भनाइ छ। पोष्ट ग्राजुएसनको सिट बढाउनुपर्ने भन्दै उनले यसका लागि विद्यार्थीले धेरै मेहनत गर्नुपरेको बताए।
स्वास्थ्य संस्था सबभन्दा पहिलो विरामीमा केन्द्रित हुनुपर्ने उनी बताउँछन्। बिरामीले सेवा सरल तरिकाले पाउनुपर्ने उनको भनाइ छ।
'धनीलाई एउटा सेवा, गरिबलाई एउटा हुनुहुँदैन,' डा. रुइतले भने, 'सबैलाई बराबर हुनुपर्छ।'
राज्यले सञ्चालन गरेका स्वास्थ्य संस्थामा केही न केही समस्या भएर अगाडि बढाउन गाह्रो भइराखेको उनको बुझाइ छ।
'यस्तो अवस्थामा कमर्सियल हेल्थ सेक्टर फस्टाउँछ,' डा. रुइतले भने, 'हामीले कमर्सियलमा ध्यान दिएर सामाजिक उद्यमशीलताको विकास गर्नुपर्नेमा ध्यान दिनुपर्छ।'
उनले नयाँ पुस्ताका युवाले यसको नेतृत्व गर्नुपर्ने बताए।
तिलगंगा आँखा अस्पतालको सफलताको सूत्र भने उनले प्रतिवद्धता र इमान्दारितालाई दिए।
रवि लामिछानेको प्रश्नमा उनले भने, 'सबभन्दा ठूलो कुरा प्रतिबद्धता र इमान्दारी हो। त्यसपछि राम्रो मान्छे छानेर क्षमता बढाउने, निर्णय गर्ने र नेपालको सन्दर्भमा सबभन्दा महत्वपूर्ण कुरा राजनीतिबाट टाढा बस्ने।'
तिलगंगाको उपलब्धि के भनेर कसैले सोधे, उनको जवाफ यस्तो रहेछ-
'तिलगंगालाई राजनीतिबाट टाढा राख्न सक्यौं, सक्दा रहेछौं। यो म एक्लैले गरेको काम होइन, हाम्रो असाध्यै भिजनरी टिमले गरेको हो।'
अन्तर्क्रियाको अन्त्यतिर दर्शकले डा. रुइतलाई सोधेका थिए- आलंकारिक राष्ट्रपतिको प्रस्ताव आयो भने के गर्नुहुन्छ?
उनले भने, 'यति बेला हुँदैन। म अहिले धेरै काम गर्न अकुपाई भइसकेको छु।'
यो पनि थपे- अझै धेरै काम गर्न बाँकी छ। हे भगवान, हाम्रो काममा राजनीति नपसोस्, हामी गर्न सक्छौं, गरेर खाएका छौं, पक्का गर्न सक्छौं।