रंगकर्मी अनुप बराल दुई महिनादेखि पोखरालाई थलो बनाएर रंगकर्ममा लागिरहेका छन्। उनका लागि पोखरा नयाँ ठाउँ होइन। उनले यहीँबाट रंगकर्मका सुरूआती चरण पार गरेका थिए।
दुई दशकअघि एक कविले 'अनुपलाई रोक पोखरा' भनेर कविता लेखे। कविताले अनुपलाई रोक्न सकेन। उनी काठमाडौं लागे। काठमाडौंले पनि अनुपलाई रोकेन। रंगकर्मको भोक मेटाउन उनी मुम्बईस्थित नेशनल स्कुल अफ ड्रामामा अध्ययन गर्न पुगे। भारतको रंगकर्ममा चर्चित हस्तीहरू जन्माएको यो कलेजमा तीन वर्ष अध्ययन गर्दा धेरैले यो स्कुललाई 'पागलहरू बस्ने ठाउँ' भन्थे रे।
नभनून् पनि किन? स्कुलमा परीक्षा दिन कुनै कक्षाकोठामा बसेर होसियारी पूर्वक लेख्न पर्दैनथ्यो। एक महिनाअघि नै सूचना बोर्डमा परीक्षाका प्रश्न टाँसिएका हुन्थे। यो परीक्षा होस्टलमा बसेर वा शिक्षकसँग बसेर दिन पाइन्थ्यो।
अध्ययनमा लेक्चरभन्दा पनि बढी अभ्यास हुन्थ्यो। दाहिने हातले लेख्नेलाई देब्रे हातले लेख्न लगाउँथे। परीक्षामा सोधिने प्रश्नको उत्तर कुनै पनि पुस्तकमा पाइँदैनथ्यो।
भारतका चर्चित अभिनेता जन्माउने यस स्कुलमा ३ वर्ष पढेपछि अनुप काठमाडौं फर्किए। उनी मुम्बईमै बसेर रंगकर्ममा लाग्ने अवसर थियो। सहकर्मी साथीहरूले बस्न कर गरिरहेका थिए।
अनुपलाई त्यतिबेलै लागेछ, 'नेपाली भाषा र संस्कृतिमा आधारित भएर जति काम गर्न सक्छु, त्यति विदेशमा सक्दिनँ।'
काठमाडौं फर्किँदा पनि रंगमञ्चको अभाव थियो। अनुपले यहाँ रंगमञ्चलाई अघि बढाए। उनका उत्पादन दयाहाङ राई, सृजना सुब्बा लगायत अहिले नेपाली रंगमञ्चमा सफल छन्।
पोखराबाटै रंगमञ्चमा लागेका अनुप काठमाडौं–मुम्बई–काठमाडौं हुँदै फेरि पोखरा फर्किएका छन्।
नेपाल साहित्य महोत्सवमा लेखक सरस्वती प्रतीक्षाले उनलाई सोधेकी थिइन्, 'पोखराको गति र तपाईंको गति मिलेको छ?'
अनुपले जवाफ फर्काए, 'पोखराको गति नै मेरो गति हो।'
उनको एउटा पुरानो सपना रहेछ- बाकसमा जतन गरी राखेको। 'त्यसैलाई समात्ने कोशिस गरराखेको छु,' अनुपले भने।
अनुप अहिले पोखरामा रंगमञ्च जमाउने 'स्पेस' खोजिरहेका छन् जहाँ रंगकर्मका सबै गतिविधी गर्न सकियोस्। एउटा सहरलाई जीवन्त बनाउन पनि कलाकर्म चाहिने भन्दै उनले पोखरा आएपछि आफू झनै बलियो भएको महशुस गरेको सुनाए।
प्रस्तोता प्रतीक्षाको प्रश्नमा उनले आफू जन्मिएको ठाउँमा अभिभावकसँग बस्न पनि पोखरा फर्किएको बताए। रंगकर्मका लागि स्पेस आफैं बनाउने बताएका अनुपले भने, 'मनले पोखरा फर्कौं भन्यो, मानेँ। राम्रो काम गर्न आफैंले सुरू गर्नुपर्छ।'
'आफ्नै गाउँ फर्की आएँ' सत्रको प्यानलमा रंगकर्मी अनुपसँगै युवा उद्यमी राम गुरुङ थिए।
लेखक सरस्वती प्रतीक्षाले सुरूमै भनिन्, 'धेरै देशले वस्तु उत्पादन गर्छ र विदेश निर्यात गर्छ। हामी यस्तो देशमा छौं, जहाँ युवा उत्पादन गरेर विदेश निर्यात गर्छौं।'
यसरी नै विदेश निर्यात हुन चाहेका थिए, कास्की घलेलका राम गुरुङ। २०५८ सालमा उनी बेलायत जान भनेर लाग्दा दलालको फन्दामा परे।
उनका अनुसार भारतको बाटो हुँदै बेलायत जान खोज्दा भिसा नक्कली पर्यो। मुम्बई एयरपोर्टबाट बेलायतका लागि जहाज चढे, जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा थप यात्रु राख्न ओर्लियो। जहाजभित्रै बसिरहेका गुरुङलाई अचानक दिल्लीस्थित अध्यागमनका सुरक्षाकर्मीले पक्राउ गरे। गुरुङ दक्षिण एसियाकै ठूलो तिहाड जेल पुगे। भारतका विद्यार्थी नेता कन्हैया कुमार जेल बसेपछि तिहाड जेल अझ चर्चित भएको छ।
दसैं-तिहार बेला थियो। तिहाड जेलबाहिर पनि दसैं उत्सव चलिरहेको थियो। बाहिर पटका पड्काएर मनोरञ्जन लिइरहेका थिए। गुरुङ भने यो अन्कन्टार जेलमा आँशु चुहाइरहेका थिए।
साढे दुई महिना तिहाड जेल बसेपछि उनी डेढ लाख धरौटीमा रिहा भए। उनलाई रिहा गर्न पारिवारिकस्तरमा सम्बन्ध रहेका पोखराका किरणलाल श्रेष्ठ गएका थिए।
जेलबाट धरौटीमा छुटेपछि उनलाई घर फर्कन मन लागेन। बेलायत जाने भनेर गुरुङले १२ लाख सकिसकेका थिए। गुरुङलाई छुटाउन गएका श्रेष्ठले गाउँ फर्कन 'कन्भिन्स' गरे। गुरुङ माने र फर्किए।
घलेलको बौद्ध सिर्जना युवा क्लबका अध्यक्ष रहेका गुरुङ सामाजिक सेवामा उत्तिकै दत्तचित्त थिए। उनकै अगुवाईमा घलेलमा लघु जलविद्युत आयोजना बनाएर गाउँ झिलिमिली पारिसकेका थिए। १९ वर्षकै उमेरमा आफूले यो काम गरेको बताउँदै गुरुङले त्यसको कथा सुनाए।
पोखरामा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको प्रदर्शनी हेरेपछि थोरै पानीले पनि बिजुली निकाल्न सकिन्छ भन्ने देखेर उनले आफ्नो घरमा बिजुली बाल्ने सपना देखेछन्। जब गाउँ गएर यो कुरा गरे, गाउँलेले सबै घरमा बिजुली बाल्न पाउनुपर्ने कुरा गरे। त्यसपछि नै गाउँ नजिकैको घट्टेखोलाबाट बिजुली निकालियो, गाउँ झिलिमिली भयो।
नेपालमा माओवादी द्वन्द्व तीव्र थियो। गुरुङका छोरा लाहुरे हुने वा विदेश जाने चलन झनै बढेको थियो। उनी भने बेलायत जान हिँडेका थिए।तिहाडबाट फर्किएपछि गाउँमै सामाजिक सेवामा लागिरहे।
यत्तिकैमा सन् २००९ मा बेलायती नागरिक रिचल रसेल घलेलकै 'बमबहादुर घलेल आधारभूत विद्यालय'मा स्वयंसेवी बनेर आइन्। तीन महिनाका लागि आएकी रसेलको घलेलकै बुद्धिबहादुर गुरुङसँग प्रेम बस्यो। रसेल बेलायत फर्किएर आफ्ना प्रियतमलाई बोलाइन्।
उनीहरू बेलायत गएको तीन वर्षपछि विवाह उत्सव मनाउने निर्णयमा पुगे। उनीहरूको संस्कार अनुसार मिल्ने साथीका रुपमा रसेलले राम गुरुङलाई विवाह उत्सवमा सहभागी हुन निमन्त्रणा गरिन्।
गुरुङ बेलायत गए। रसेल दम्पत्ति नियमित काममा जानुपर्ने भएकाले गुरुङलाई लण्डनस्थित वाटरपार्क घुम्न लगाए। पार्कमा 'केबल स्की' लगायत खेल र मनोरञ्जनका व्यवस्था थिए। जब गुरुङ वाटरपार्क घुम्न थाले, तालैतालको सहर पोखरामा पनि यो काम गर्न सकिने उनलाई लाग्यो।
उनले त्यहाँका अधिकारीहरूसँग कुरा गरे। पोखराको दिपाङ तालको फोटो गुगल म्यापबाट दिए। ती बेलायती अधिकारीले दिपाङ तालमाथि केबल स्कीको थ्रिडि भिडियो बनाएर दिए। अनि उनलाई तुरुन्त पोखरा फर्किन मन लाग्यो।
चार महिना बेलायतमा बिताएर काठमाडौं उत्रिएलगत्तै गुरुङ नेपाल पर्यटन बोर्डमातहत पर्यटन उद्योग महाशाखा पुगे। पोखराको दिपाङ तालमा यो खेल खेलाउन सकिने बताए।
पोखराको तत्कालीन लेखनाथ नगरपालिकामा निवेदन दिए। सर्वदलीय बैठकमा योजना पेश गरे। भिडियो देखाए। सबैले राम्रो भने। तर जब ताल भाडामा दिने कुरा आयो, त्यसपछि यसो गर्न नसकिने उनीहरूले सुनाए।
यत्तिकैमा गुरुङको भेट नेपालका प्रथम क्यानोनिङ गाइड राजेश लामासँग भयो। लामाले मर्दी हिमाल पदयात्राबाट फर्किँदा घलेलमा राम्रो झरना देखेको कुरा गरे। यो झरनामा क्यानोनिङ गर्न सकिने बारे कुरा भएपछि गुरुङले उनलाई बोलाए। लामाले क्यानोनिङको सम्भावनासँगै नेपालका धेरै ठाउँमा काम गर्दा पनि सञ्चालन हुन नसकेको तितो अनुभव पनि सुनाए।
घलेलको कुदी झरनामा क्यानोनिङ परीक्षण भयो। सफल भयो। तर यसलाई निरन्तरता दिन चलाउने मान्छे भेटिएनन्। त्यसपछि गुरुङ आफैंले यो सञ्चालनमा ल्याए।
अमेरिकन क्यानोनिङ एकेडेमीका संस्थापक रिच काल्सनले यो झरनामा क्यानोनिङ गर्न स्थानीय र १६ जिल्लाका युवालाई क्यानोनिङ गाइडको तालिम दिए। अहिले पोखरा क्यानोनिङ घलेललाई चिनाउने एउटा ब्राण्ड बनेको छ।
बेलायत जाने सपनाले तिहाड जेल पुगेका गुरुङ बेलायत त पुगेकै थिए। तर उनी त्यहाँ रहिराहन सकेनन्, चाहेनन्। आफ्नै गाउँ फर्केर सामाजिक उद्यमशीलतामा लीन भए।
समाजसेवा र उद्यमशीलतामा उत्तिकै समय दिइरहेका गुरुङले पोखराबाहेक अन्यत्र पनि क्यानोनिङ फैलाइरहेका छन्। उनकै अगुवाईमा घान्द्रुक, स्याङ्जा, पर्वत लगायत ठाउँमा पनि स्थानीय युवालाई तालिम दिएर उद्यमी बन्न सघाइरहेका छन्।