त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी 'गोल्ड मेडलिस्ट' भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए।
अर्थशास्त्र संकायमा उत्कृष्ट हुने डोल्पाका विद्यमान महताराका बारे हामीले स्टोरी गरिसकेका छौं। (हेर्नुहोस्ः डोल्पाका गोठालो अर्थशास्त्रमा 'टपर')
त्रिविमै उत्कृष्ट अंक ल्याएर चान्सलर पदकसहित त्रिवि प्राध्यापक संघ स्वर्ण र रामप्रसाद मानन्धर स्वर्ण गरी तीन पुरस्कार पाउने उमेश आचार्यसँग पनि हामीले कुराकानी गरेका छौं।
नेपाल टेलिकमका आठौं तहका जागिरे उमेश विराटनगरका हुन्। उनी आफू सानैदेखि जेहेन्दार विद्यार्थी भएको बताउँछन्।
'म कक्षा चारसम्म स्थानीय बोर्डिङमा पढेँ,' शुक्रबार सेतोपाटीसँगको कुराकानीमा उमेशले भने, 'पछि पाँच कक्षा नपढी ६ कक्षामा विराटनगरकै जनता नमुना माविमा भर्ना भएँ।'
उनका बुवा प्राथमिक तहका शिक्षक हुन्। बुवाले अंग्रेजी स्कुलको खर्च धान्न नसकेर सरकारी स्कुलमा सरेको उनी बताउँछन्।
बोर्डिङमा उनी औसत विद्यार्थी थिए। सरकारी स्कुल पुगेपछि चाहिँ पढाइ निखारिँदै गयो। सरकारी स्कुल आएपछि नै पहिलोपटक पढाइ राम्रो भएकाले पुरस्कार पाए।
आज पनि पहिलोपटक पुरस्कार पाएको दिन सम्झँदै उनी भन्छन्, 'मैले पहिलोपटक ६ कक्षामा दोस्रो भएर अबिर लगाउन पाएँ।'
६ कक्षामा दोस्रो भए पनि ७ कक्षादेखि १० सम्म भने सबै परीक्षामा प्रथम भए। आफ्नो पढाइ राम्रो हुनुको जस उनी बुवालाई दिन्छन्।
'त्यो बेला मैले घर पुगेर हरेक दिन परीक्षा दिनुपर्थ्यो। बाबाले दिनभरी पढेका कुरा मौखिक सोध्नुहुन्थ्यो,' उनले प्रश्न सोधेसँगै दिएको प्रेरणा पनि सम्झिए।
सामान्य रुपमा पढ्दै उनको स्कुले समय सकियो। एसएलसी दिएपछि उनी फुर्सदिला भए। चार जनाको परिवारमा उनी र बहिनी दुवै विद्यार्थी। घर खर्च धान्ने भने उनका बुवा मात्र। घरको आर्थिक स्थिति बुझेका उनले आफैं केही गर्ने सोच बनाए।
'बुवाले पढाउने भएर मेरो रगतमै पढाउने थियो होला, एसएलसी दिएपछि मैले ८-९ कक्षामा गणित पढाउन थालेँ,' उनले उत्साहित हुँदै भने।
पढाउँदा पढाउँदै उनको एसएसलसीको नतिजा आयो। सरकारी स्कुलबाटै ७१ प्रतिशत ल्याएर पास भए। धेरैको सल्लाहअनुसार विराट क्याम्पसमा विज्ञान पढ्न थाले।
'सरकारी स्कुलबाट आएका हामीले के राम्रो गर्न सकिन्थ्यो भन्ने मनमा हुन्थ्यो। तर मेरो गणित राम्रो थियो। त्यसैले १२ पास गर्दा ९० जना विद्यार्थीमा टप टेनम परेँ,' उनले भने।
कक्षा ७ देखि प्रथम हुँदै आएका उनलाई १२ मा टप टेनमै चित्त बुझाउनुपर्दा खासै मन बुझेन। सबभन्दा ठूलो चिन्ता अब के गर्ने भन्ने थियो।
सुनाए, 'प्लस टुमा बायोलोजीसँगै गणित पनि पढेको थिएँ। त्यसैले मेडिकलतिर जाउँ भन्ने पनि सोच आयो।'
सबैजसो नेपाली विद्यार्थीको जस्तै अन्यौलता उनलाई पनि भयो। सुझाउने मान्छे कोही भएनन्। उनी आफ्नै खुसीले काठमाडौं आएर र डाक्टरीका लागि प्रवेश परीक्षाको तयारी थाले। उनको मनले भने केही निधो गरिसकेको थिएन।
त्यहीँ उनले थाहा पाए- नेपालमा अहिले इलेक्ट्रोनिक्स इन्जिनियरको माग छ।
भन्छन्, 'मलाई त्यो थाहा थिएन। अहिले जसरी सिभिल इन्जिनियरको छ, त्यति बेला इलेक्ट्रोनिक्स इन्जिनियरको माग थियो।'
यति थाहा पाएपछि उमेशले इन्जिनियरिङकै तयारी थाले। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा नाम निस्कियो पनि। नेपाल इन्जिनियरिङ कलेजले ५० प्रतिशत छुट दिने भएपछि त्यहीँ भर्ना भए।
'म यत्तिकै बस्नै नसक्ने,' उनले सुनाए, 'काठमाडौं आएबित्तिकै खर्च पनि बढ्यो। मैले सँगै बस्ने साथीहरूलाई पनि पढाउन सुरू गरेँ। नियमित थिएन तर बेला बेला भइरहन्थ्यो।'
उमेश इन्जिनियरिङका आठ सेमेस्टरमध्ये दुइटामा उत्कृष्ट भए।
'दोस्रो र छैठौं सेमेस्टर टप गरेँ,' उनी भन्छन्।
स्नातक तह औसतभन्दा राम्रो रह्यो।
'त्यो बेला ९६ जना विद्यार्थीमध्ये टप टेनमा परेँ। चार-पाँच जना विद्यार्थी डिन लिस्ट अवार्डमा पर्दा म पनि परेको थिएँ। हामीलाई दीक्षान्त समारोहमा त्यो बेलामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दीक्षित गर्नुभएको थियो,' उनले सम्झिए।
पढाइसकेपछि उनी नियमित पढाउन थाले।
'बुवाको कमाइले त्यतिका समय धानिसकेको थियो,' उनले सुनाए। बिहान पढाउने र दिउँसो कुनै कामको तयारी गर्ने उनको दैनिकी बन्न थाल्यो।
त्यही बेला एनसेलले धेरै जागिर खुलायो। उनले आवेदन दिए। त्यतिनै बेला दुइटा कलेजमा पनि 'लेक्चरर'का लागि निवेदन दिए।
'आवेदन दिएका दुवै कलेजले बोलाए। म पोखरा विश्वविद्यालय पढेका हुनाले त्रिभुवन विश्वविद्यालयको पढाइ हेर्न मन लाग्यो, कान्तिपुर इन्जिनियरिङ कलेज रोजेँ।'
कलेज पढाउँदा पढाउँदै एकदिन उनलाई फोन आयो। एनसेलमा पनि नाम निस्केछ। पहिलो चरणको अन्तर्वार्तामा नाम निस्कियो। त्यसपछि भने छनौटमा परेनन्।
अनि उनले नेपाल टेलिकमका लागि तयारी गर्न थाले। पहिलोपटक सातौं तहको परीक्षा दिएका उमेशले त्यसपछि अर्को परीक्षा दिनैपरेन। कलेज पढाउँदै थिए नै, परीक्षा दिएको १८ महिनामा उनी नेपाल टेलिकमको सातौं तहका कर्मचारी बने।
उमेश इटहरीमा जागिरका लागि सिफारिस भए। तर लामो समय बसेनन्। केही वर्षमै सरुवा भएर काठमाडौं आए। आएलगत्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए। नेपाल टेलिकमको बबरमहलमा जागिर, बेलुका अफिसपछि कलेज।
'जाडोमा साढे चार बजे र गर्मीमा साढे ५ बजे सुरू हुन्थ्यो,' उनले भने, 'राती ९ बजेसम्म चल्थ्यो।'
उमेश नियमित कलेज जान्थे। पढाइक्रममा दिइएका 'एसाइनमेन्ट'हरू नियमित बुझाउँथे। यस्तै स-साना कुरामा ध्यान दिएकाले यो सफलता पाएको दाबी गर्छन्।
यसरी नै पढ्दैपढ्दै स्नातकोत्तरमा उनी देशमै उत्कृष्ट भए। इन्जिनियरिङमा मात्र होइन, त्रिविमै सबभन्दा धेरै अंक ल्याउने विद्यार्थी बने।
त्यसो त उनले २०७४ सालमै इलेक्ट्रोनिक्स इन्जिनियरिङमा टप गरेकाले विद्याभुषण पाएका छन्। तर उनलाई आफूले नेपाल नै टप गरेको भन्ने कल्पनानै थिएन रे।
'अहिले यो पुरस्कार पाउने भन्ने पनि थाहा थिएन। एकदिन सँगै काम गर्ने साथीले तिमीले ल्याएको नम्बर यो हैन भन्दै मेरो प्रतिशत सुनाए। अनि उनैले नेपाल टप गरेकोबारे बताए। पत्रिकामा मेरो नाम र प्रतिशत देखेपछि अचम्म लाग्यो,' उनले सुनाए।
उमेशलाई अब विदेश गएर विद्यावारिधि गर्ने मन छ।
भने, 'बेलायतको युरोपियन एक्सचेन्ज कार्यक्रमको छात्रवृत्ति पाएको हो। तर घर छोड्न सजिलो छैन। अहिले नजाने सोचमा छु। तै पनि एकपटक पिएचडी गरेर आउने रहर चाहिँ छ।'
नियमित कक्षा जाने, ध्यान दिएर सुन्ने, बाहिरी स्रोतबाट पनि विषयगत कुरा पढ्ने र पुराना प्रश्न हल गर्नुका साथै अरूलाई सिकाउने वा पढाउने गर्दा पढाइमा सहयोग हुने उनको अनुभव छ।