खुलामञ्च पुग्दा कलाकार ‘मिलन राई’ ‘नोस्टाल्जिक’ हुन्छन्। यो ठाउँसँग उनको पुरानो सम्बन्ध छ।
सार्वजनिक ठाउँका रूखबिरूवामा कागजको पुतली टाँस्दै हिँड्ने मिलनलाई ‘बटरफ्लाई म्यान’ भनेर चिनिन्छ। खुला सार्वजनिक स्थलका अभियन्ता उनले खुलामञ्चसँग जोडिएको आफ्नो कथा शनिबार ‘अकुपाई टुँडिखेल’ मा सुनाए।
यो २०६९ सालको घटना हो।
मिलन कलाकृतिलाई आर्ट ग्यालरीको सीमाबाट बाहिर निकाल्नुपर्छ भनेर दौडधूप गर्दै थिए। काठमाडौं महानगरपालिका गएर ‘सार्वजनिक ठाउँलाई कलाकृतिले सिँगार्नुपर्यो' भन्दै निवेदन पनि दिए।
'ग्यालरीमा मात्र कला प्रदर्शन गर्दा यसको पहुँच धनी वर्गमा सीमित हुन्छ,' उनको भनाइ थियो, 'समाजका हरेक तप्कासम्म पुर्याउने हो भने सार्वजनिक ठाउँहरूमा कला प्रदर्शनी हुनुपर्छ।'
महानगरमा उनको कुरा सुनुवाइ भएन।
यही क्रममा खुलामञ्चको अर्धचन्द्राकार 'स्टेज' उनलाई इन्द्रेणीजस्तै लाग्यो। स्टेज खैरो रङको थियो। त्यसमा इन्द्रधनुषी सप्तरङ छर्न पाए खुला आकाशमा इन्द्रेणीजस्तै खुला टुँडिखेलको बीचमा इन्द्रेणीको झल्को आउँछ भन्ने उनलाई लाग्यो।
उनी अमेरिकाको न्यूयोर्कबाट भर्खरै फर्किएका थिए। केही हिच्किचाहट थियो। तै आफ्नो इच्छा पूरा गर्न महानगरमा प्रस्ताव लिएर गए। महानगरले कुनै जवाफ दिएन।
हरेक दिन खुलामञ्चको बाटो हुँदै गुज्रँदा त्यहाँ इन्द्रधनुषी सप्तरङ पोखिएको हेर्ने हुटहुटी बढ्दै गयो।
उनले एउटा योजना बनाए। साथीभाइको सानो समूहलाई सुनाए। सबै हौसिए। त्यसपछि लगभग एक साता राति अबेरसम्म खुलामञ्च वरिपरि घुमेर त्यहाँका गतिविधि निगरानी गर्न थाले।
एकदिन आँट गरेर राति ३ बजे उनीहरू सुटुक्क खुलामञ्चभित्र छिरे। र, मोबाइलको उज्यालोमा तीन घन्टाभित्रै खुलामञ्चलाई इन्द्रेणी बनाइदिए।
'अकुपाई टुँडिखेल' को सातौं साताको कार्यक्रमअन्तर्गत कलाकार मिलन राई शनिबार आफ्नो खुलामञ्च अनुभव बाँड्दै। तस्बिर: सबिना श्रेष्ठ/सेतोपाटी
भोलिपल्ट बिहान सबैलाई अचम्म पार्ने गरी खुलामञ्चको रङ फेरिएको थियो। सबै जना कसले गर्यो होला भन्थे। जवाफ कसैलाई थाहा थिएन। मिलन आफैं पनि 'मैले गरेको' भनेर अघि सरेनन्। कसैले सोध्न आए उनी जवाफ दिन्थे, ‘कसले गरेछ है?’
जसले गरे पनि नयाँ रङमा खुलामञ्चको रूप फिरेको थियो। सबैले मन पराइदिएकोमा मिलन ढुक्क भए।
'अकुपाई टुँडिखेल' को सातौं साताको कार्यक्रम क्रममा शनिबार पहिलोचोटि यसबारे सार्वजनिक रूपले बोल्दै उनले भने, 'मलाई क्रेडिट लिनु थिएन। खुलामञ्चमा आफूले सोचेको रङ भर्न पाएको र सबैले मन पराइदिएकोमा म सन्तुष्ट थिएँ।'
उनको सन्तुष्टि त्यति बेला अझ बढ्यो, जब महानगरले आफैं आएर उनको डिजाइनमा थप रङ हाल्दै निख्खर इन्द्रेणी बनाइदियो।
'हामीले लुकिछिपी हतारमा बनाएकाले रङ फिक्का थियो। ठाउँ-ठाउँमा टाटेपाटे पनि भएको थियो,' उनले भने, 'महानगरले त्यसैमाथि रङ थपिदिएपछि त पक्का इन्द्रेणी नै देखियो।'
मिलनको सिर्जना महानगरबाट एकाएक कसरी अनुमोदन भयो त?
यसबारे उनलाई पनि केही थाहा थिएन। मिलनले खुलामञ्च रंगाएको कथा सुनाएपछि त्यसैको अर्को पाटो खोले, कांग्रेस नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले।
'म त्यति बेला कांग्रेसको काठमाडौं जिल्ला सभापति थिएँ। त्यो बेला खुला मञ्चमा १३औं अधिवेशन हुन लागेको थियो। अधिवेशनमा विभिन्न पार्टीका हजारौं मान्छे आउँदै थिए,' प्रधानले भने, 'रातारात खुलामञ्च रंगाइएको देखेर सुरूमा त हामी छक्क पर्यौं। कसको आइडिया होला भनेर खुल्दुली पनि भयो। तर हामीलाई त्यो रङ मन पर्यो। त्यसले टाढाबाट पनि खुलामञ्च प्रस्टै देखिन्थ्यो।'
‘त्यसपछि मैले नै महानगरपालिकालाई यही रङ हुबहु लगाएर गाढा बनाइदेऊ भनेर अनुरोध गरेँ,' उनले भने।
आफूलाई थाहा नभएको यो पाटो सुनेर मिलन दंग परे, 'लौ मलाई त यो थाहै थिएन। त्यति बेला महानगरले किन यस्तो गर्यो होला भनेर अचम्म त लागेको थियो, तर आफ्नै काम गुपचुप राखेका बेला थप सोधिखोजी गर्ने कुरा भएन। आज बल्ल रहस्य खुल्यो।'
काठमाडौंका जागरूक नागरिकहरूले कात्तिक २३ गते खुलामञ्च मानव साङ्लोले घेरेर ‘अकुपाई टुँडिखेल’ अभियान सुरू गरेका हुन्। त्यसयता प्रत्येक शनिबार जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ। यसपालि मिलनसहित विभिन्न वक्ताहरूले आ-आफ्नो टुँडिखेल अनुभव बाँडेका थिए।
विगतमा रानीपोखरीदेखि रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले यो अभियान सुरू भएको हो।
शनिबारको कार्यक्रममा मिलनको खुलामञ्च कथा र उनको पुतली प्रेमबारे प्राध्यापक कपिल श्रेष्ठले कविता सुनाए:
‘म बालक छँदा पुतलीको पछिपछि दगुर्थें
पुतली जहाँ–जहाँ उडेर जान्थे म पनि उसैका पछि लाग्थेँ
कहिले सिस्नुले पोल्थ्यो, कहिले काँडा बिझ्थ्यो
कहिले खुट्टाका मसिना औंलामा घाउ–चोट लाग्थ्यो
तर म पुतलीको पछि लाग्न मोहित थिएँ
पुतलीको शुद्धताबाट मोहित थिएँ
अहिले मेरी सानी नातिनी पनि
म सानो बेलामा झैं पुतलीको पछि दौडिरहेको देख्छु
उ पनि पुतलीसँग उत्तिकै मोहित छे’