पशुपति क्याम्पसमा पढ्ने सृष्टि पन्त सोमबार बिहान पनि सधैंझै कलेजका लागि डेराबाट हिँडिन्।
बिहान पौने छ बजे झिसमिसे उज्यालो थियो। सडकमा गाडी पातला थिए। सुकेधारा चोकमा उनले बाटो काट्न खोजिन्। अलिकति हिँडेकीमात्र के थिइन्। बत्तिँदै आएको गाडीले उनलाई ठक्कर दियो। उनी सडकमै ढलिन्।
केहीबेर स्थानीयहरूले उनलाई ओम अस्पताल पुर्याए। गम्भीर घाइते भएकी सृष्टिले अस्पतालमै अन्तिम सास फेरिन्।
आफ्नी साथीलाई बसले ठक्कर दिएर मारेपछि आक्रोशित विद्यार्थीले एक बसमाथि आगजनी गर्दै चाबहिल चोकमा प्रदर्शन गरे।
सृष्टिलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘बाटो काट्दै गर्दा ठक्कर दिएको रैछ। पन्तले बाटो काटेको ठाउँमा जेब्रा क्रस भए/नभएको खुलेको छैन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने।
उनका अनुसार शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ।
पन्तलाई भक्तपुर-काठमाडौं रूटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले ठक्कर दिएको हो।
गोरखा मिरकोटकी २१ वर्षिया पन्त बिबिएस चौथो वर्षमा पढ्दै थिइन्।
पन्तको मृत्यु भएपछि आक्रोशित बनेका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिए।
बसमा आगो लगाएको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका चेतन थापा र राकेश श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।
सृष्टिको माइती गोरखा नगरपालिका वडा नम्बर १४ प्युघरवेशी हो। गत वर्षमात्र उनको विवाह भएको थियो।
सोमबारको घटना सुनेपछि घर/माइतीमा शोक छ।
सृष्टिका आमाबुवा बिहानै अबुँवाबाट गाडी चढेर काठमाडौं आइरहेका छन्। एक छिमेकीले दिएको जानकारीअनुसार सृष्टि घरकी कान्छी छोरी थिइन्।उनका एक दिदी र भाइ छन्।
सृष्टिका श्रीमान् वैदेशिक रोजगारीमा छन्।
सृष्टिको निधनपछि उनका साथी नारायण पोखरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई विश्वास नै लागेको छैन कि दिनहुँजसोसँगै सुकेधारादेखि पशुपति क्याम्पस आउने साथीको निधन भयो भन्ने। हामीलाई गाडीको नजिक नहिँड भनेर सम्झाउने अत्यन्तै मिलनसार साथी। जे सुनें त्यो झूट सावित होस्।’
सृष्टिलाई ठक्कर दिने बसका चालकलाई कानुनअनुसार कारबाही गर्न पनि उनले माग गरेका छन्।
‘यो चालक र व्यवसायीको चरम लापरबाही हो,’ उनले उल्लेख गरेका छन्, ‘सडकमा हिँड्ने विद्यार्थी मार्ने भए हामी चुप बस्न सकिँदैन। कानुनी दायरामा ल्याइयोस्।’