फेवातालको किनारैमा छ, पोखराको राजदरबार। जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ। राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन सुरू गरेका यो दरबार २०१५ सालमा बनाउन सकिएको थियो।
राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनाएका थिए। उनको सन्तान नभएपछि यो भवन स्वतः राजा वीरेन्द्रको नाममा गएको थियो।
हिमालयले आफू पोखरा जाँदा बस्ने ठाउँका रूपमा हिमागृह बनाएका थिए।
यी दुई दरबार लेकसाइडमा घुम्ने धेरैले नदेखेको हुनुपर्छ। किनकी, फेवातालको बाराहीघाट गएका जो कोहीले पनि नेपाली सेनाको क्याम्प र ड्युटी बसिरहेका सैनिक देख्न सक्छन्। सेनाले सर्वसाधारणलाई भित्र छिर्न दिँदैनन्, सर्वसाधारण भित्र छिर्न पाउने प्रावधान ट्रष्टले बनाइसकेको छैन।
अग्लो पर्खालबीच नेपाली सेनाका जवान ड्युटी बसेको ठाउँबाट रत्नमन्दिर जाने बाटो छ। त्यसभन्दा माथि सडक छ। सडकलाई पर्खाल बनाएर सेना बस्ने ३८ कोठे भवनले छेकिदिएको छ। यो दरबारभित्र छिर्ने अर्को गेट फेवातालमा माछापुच्छ्रेको छाया हेर्न जाने बाटो बसुन्धारा पार्क जाने बाटोमा छ। यहाँ पनि गेटमै नेपाली सेनाले सुरक्षा दिएको छ।
त्यसकारण, यो दरबारभित्र जानु त के बाहिरबाट पनि सर्वसाधारणले देख्न पाएका छैनन्।
अहिले पर्यटकलाई विचरण गराउन यो खुला हुनुपर्ने आवाज उठिराखेको छ। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार आ-आफूले उपयोगमा ल्याउन पाउनुपर्ने अडान राखिरहेका छन्। गण्डकी सरकारका पर्यटनमन्त्री विकास लम्साल त नेपाल भ्रमण वर्ष २०२० यही दरबार हाताबाट सुरूआत गर्ने मनस्थितिमा छन्।
नेपाल ट्रष्टमा भने यस विषयमा कुनै छलफल नै नभएको ट्रष्टका सदस्य याङजोम शेर्पा बताउँछिन्।
‘रत्नमन्दिर खोल्दिनु भनेको छ, व्यवस्थापन नगरी खोल्न मिल्दैन, उनले भनिन्, यसबारे कुनै छलफल नै भएको छैन।’
हिमागृह र रत्नमन्दिरलाई ‘राजदरबार’ भनिए पनि ती भवन साना र साँघुरा छन्।
‘जसलाई दिए पनि नेपाल ट्रष्टको नियमभित्रै रहेर दिने हो’, शेर्पा भन्छिन्, ‘भिजिट नेपाल २०२० भनेर नाटक गर्दैमा केही हुँदैन, मेन्टेन गरेर मात्र खोल्नुपर्छ।’
यता, गण्डकी प्रदेश सांसद राजीव पहारीले पर्यटकका लागि खुला गर्न व्यवस्था मिलाउन भन्दै सांसद विकास कोषबाट बजेटको व्यवस्था समेत गरेका छन्।
यो दरबारको चर्चा दरबार हत्याकाण्डपछि बढेको हो।
दरबार हत्याण्ड भएको दिन २०५८ जेठ १९ गते ज्ञानेन्द्र शाह यही हिमागृहमा थिए।
त्यो रात भोजन सकेर जब ज्ञानेन्द्र सुत्नका लागि हिमालय सुत्ने कोठामा पुगे, त्यति नै बेला अप्रत्याशित खबर आयो।
दरबारमा गोली चल्यो, राजा वीरेन्द्रको वंशनाश भयो।
त्यतिबेलैदेखि पोखरास्थित दरबारमा काम गर्थे, भीम गौंडेल। राजप्रसाद सेवाबाट जागिरमा छिरेका गौंडेलले नै ज्ञानेन्द्रलाई सुत्ने कोठासम्म पुर्याएका थिए। अप्रत्याशित खबर आएपछि ज्ञानेन्द्र सोही रात काठमाडौं फर्कनुपर्यो।
रातको समय पानी परिरहेको थियो। पानीकै कारण तत्कालीन शाही सेनाको नाइटभिजन हेलिकप्टर दरबार परिसरमा ल्याण्ड हुन सकेन। त्यसपछि ज्ञानेन्द्र सेनाको पहरामा गजुरी पुगे, भोलिपल्ट हेलिकप्टरमार्फत् सैनिक अस्पताल छाउनी ओर्लिए। त्यतिबेला राजा वीरेन्द्रको मृत्यु भइसकेको थियो भने तत्कालीन युवराज दीपेन्द्र कोमामा थिए।
‘पोखरा गएको बेला बस्ने ठाउँ चाहियो’ भनेर यसअघि नै ज्ञानेन्द्रले हिमागृह दाजु वीरेन्द्रसँग मागेका थिए। राजा वीरेन्द्रले पनि हिमागृह ज्ञानेन्द्रलाई दिने सहमति जनाइसकेका थिए। तर यो ज्ञानेन्द्रको नाममा नामसारी नहुँदै दरबार हत्याकाण्ड भयो, हिमागृह सरकारको भयो।
हिमागृहबाट नजिकै छ, रत्नमन्दिर।
यो दरबारमा राजा र राजाका परिवारमात्रै बस्ने गर्दथे। राजाको पोखरा भ्रमणमा यहाँ रात्रिभोज खान राजाका दाजुभाइ लगायत आए पनि बास चाहिँ हिमागृहमा गएर बस्थे।
दरबारको अगाडि छ फेवाताल।
फेवाताल पारी रानीवन र माथि विश्व शान्ति स्तुप देख्न सकिन्छ। राजा महेन्द्रले दरबारबाट सिधा अगाडि फेवा किनारमा पानीभित्रबाट पिलर उठाएर भ्यु प्वाइन्ट बनाएका थिए। जहाँ राजा चढ्ने डुंगा बाँधिराख्ने किला अहिले पनि ठडिरहेको छ। यद्यपी डुंगा भने छैन।
भ्यु प्वाइन्टमा बल्छी थापेर माछा मार्न, फेवाताल र रानीवन चिहाउन कौसी निकालिएको छ। भित्र आराम गर्ने कोठा छन्। यहीँ बसेर राजा महेन्द्रले गीत र कविता रचना गर्दथे।
यही ठाउँबाट राजा महेन्द्र र नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला फेवातालमा एउटै डुंगामा बोटिङ गरेको समेत चर्चा सुनिन्छ। बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्,
‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवाताल किनारामा। त्यहाँ तपाईं जानुपर्यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर’ भनेर राजाले भने। मैले भनें, ‘मलाई पनि सरकारसँग बस्न मन लागेको छ।’
बंगलाजस्तै देखिन्छ घर छ अनि केही कटेज जस्तै। त्यसमा फर्निसिङ पनि कटेजजस्तै थिए। दक्षिण भारतबाट बेतको पलङ, कुर्सी र ड्रेसिङ टेबुलहरू सारा आएका थिए। त्यस किसिमको सादा। तर जति आवश्यकता हुनसक्छ एउटा पाहुनालाई, त्यो सबै कुरा थियो, आफ्नो निजी छनोटबाट। रानीले सबै ठीक गरेर राखेकी थिइन्।
पोखराको यो रत्नमन्दिरमा बिपी कोइराला बाहेक अरु कोही पनि दरबार बाहिरका मानिस बस्न पाएका छैनन्।
रत्नमन्दिरमा राजा, रानी, युवराज, युवराज्ञी लगायत बस्ने कोठाहरू फरक फरक छन्। रानी महिनावारी हुँदा सुत्ने कोठादेखि पूजा– पाठ गर्ने, आराम गर्ने कोठाहरू पनि छुट्टा-छुट्टै छन्।
दरबारभित्र विभिन्न जिल्लाबाट उपहार स्वरूप आएका गलैंचादेखि कलाकारहरूले उपहार दिएको चित्रकलाले सजिएका छन्। कोठामा रहेका बेडहरू बाँसका प्रजातिबाट बनाइएका छन्। बेडहरू निकै साना लाग्छन्।
रत्नमन्दिरमा कुकुर पाल्ने ठाउँ अहिले झाडी झांगिएको छ। राजाले बाहिरका मानिस अर्थात प्रजालाई भेट्ने ठाउँ शून्य भएको छ।
दरबार अगाडि बनाइएका चौतारा उस्तै छन्, तर बस्ने मानिस कोही छैनन्।
गणतन्त्र स्थापना भएपछि जब नारायणहिटीबाट ज्ञानेन्द्र शाह बाहिरिए, त्यसपछि पोखराको रत्नमन्दिर र हिमागृह पनि ‘मौरी नभएको घार’ जस्तो बन्न पुग्यो।
मुलुकमा घण्टौंसम्म लोडसेडिङ हुँदाका त्यसबखत पोखराका यी दरबारले भने कहिल्यै लोडसेडिङ खेप्नु परेन।
नेपाल विद्युत प्राधिकरणले रत्नमन्दिरका लागि भनेर जेनेरेटरको व्यवस्था गरिदिएको थियो। गणतन्त्र स्थापना भएपछि राजपरिवारको नाममा रहेको सम्पत्ति जब नेपाल ट्रष्टको नाममा गयो, त्यसपछि प्राधिकरणले यो जेनेरेटर माग्यो।
ट्रष्टको नाममा सम्पत्ति अभिलेख भइसकेपछि दिन नमिल्ने भएपछि अहिले जेनेरेटर यतिकै थन्किएको छ।
‘राजा पोखरा आउँदैछ’ भन्ने कुरा केही दिन अघि नै खबर आउँथ्यो। राजाको स्वागत सत्कारका लागि क्षेत्रीय प्रशासक, सिडिओदेखि कर्मचारी र कतिपय सर्वसाधारणसम्म जाने गर्दथे। राजाले कर्मचारी र सर्वसाधारण भेट्नका लागि मैदानमा छाप्रो जस्तो सानो बस्ने ठाउँ बनाएका थिए, त्यहीँ उनीहरूलाई दर्शनभेट दिन्थे।
राजपरिवार, उनीहरूका सुसारे र सुरक्षाकर्मीको चहलपहल दिन-रात हुन्थ्यो।
‘त्यतिबेला राजप्रसाद सेवाबाट खाएको जागिरको भाउ नै अर्कै हुन्थ्यो, गौंडेल सम्झन्छन्, अहिले दरबारमा जाँदा सन्नाटा छाएजस्तो मात्र लाग्छ।’
रत्न मन्दिरमा ११ वटा र हिमागृहमा ६ वटा कोठा छन्।
यसका अतिरिक्त बैठक कोठाहरू छुट्टाछुट्टै छन् भने किचन पनि अलग्गै छन्। दरबारभित्र रहेका सबै सामग्री सुरक्षित राखिएका छन्।
सबै कोठा र बाहिर कम्पाउण्डमा सिसी क्यामेराले निगरानी राख्छ। नेपाली सेनाले यी दुवै दरबारको पहरा दिएको छ।
दरबार बाहिर कम्पाउण्डमा फोटो खिच्न दिए पनि भित्र भने निषेध गरिएको छ।
राजप्रसाद सेवाबाट निजामती सेवामा समायोजन भएका १३ जना कर्मचारी यसको हिफाजतका लागि खटिएका छन्।
पोखराका पर्यटन व्यवसायीदेखि राजनीतिक नेतासम्म हिमागृह र रत्नमन्दिर पर्यटकका लागि खुला गर्नुपर्ने धारणा राख्छन्।
पर्यटकका लागि खुलाउन यसअघि पनि पहल नभएका भने होइनन्।
नेपाल ट्रष्टका सचिव भीमप्रसाद उपाध्याय रहेको समयमा टिकट शुल्क समेत राखेर खुलाउने तयारी भएको थियो। तर स्थानीयले विरोध जनाए, सचिव उपाध्याय पछाडि हटे।
नेपाल ट्रष्टले हिमागृहको व्यवसायिक उपयोग गर्ने भन्दै निजी क्षेत्रलाई भाडामा दिन टेण्डर आह्वान गर्यो। टेण्डरमा यती एयरलायन्सका संचालक, पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले टेण्डर पाए पनि। फेरि पनि स्थानीयले विरोध गरे, शेर्पा पछि हटे।
अहिले पोखराको लेकसाइडमा मात्रै हिमागृह र रत्नमन्दिरसहित नेपाल ट्रष्टको नाममा १७४ रोपनी जमिन छ। फेवातालमा जोडिएको यो जग्गा लेकसाइडको सबभन्दा उत्तम स्थानमा छ।
यस्तै, १ रोपनी १२ आना पोखरा-७ रत्नचोकमा छ। यो जमिनमा स्थानीयले अहिले तरकारी खेती गर्छन्।
फेवाताल किनारको सबभन्दा उपयुक्त अवस्थितिमा रहेको जमिन दुरुपयोग हुन्छ कि भनेर कतिपय मानिस चिन्तित छन्।
गणतन्त्र स्थापना भएपछि पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्टमा ल्याउँदा राष्ट्रहितमा प्रयोग गर्ने भनिएको थियो।
नेपाल ट्रष्ट ऐन २०६४ मा शिक्षा र स्वास्थ्य प्रयोजनका लागि मात्र नेपाल ट्रष्टको जमिन सदुपयोग गर्न पाइने प्रावधान राखिएको थियो।
तर अहिले आएर यो ऐन संशोधन भएको छ। सरकारले एकैपटक संसदमा ५७ वटा ऐन संशोधन प्रस्ताव गर्यो, आवश्यक छलफल नै नभई सबै पारित भए। नेपाल ट्रष्ट ऐन २०६४ माथिको संशोधन प्रस्ताव पनि यही घानमा पारित भयो।
नेपाल ट्रष्ट ऐन २०६४ को संशोधित व्यवस्थामा ‘ट्रष्टको सम्पत्ति राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुनेगरी पर्यटकीय र व्यवसायिक कार्य सञ्चालन गर्न सकिने’ प्रावधान थपिएको छ।
अझ, संशोधित ऐनको उपदफा ३ क मा ‘जुनसुकै कुरा लेखिए पनि अवधि तोकेर भाडामा दिएको सम्पत्तिको उपयोग गर्ने पक्षले थप पुँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनुअघि नै आवश्यकता अनुसार ट्रष्टको सिफारिसमा सरकारले भाडा अवधि थप गर्न सक्नेछ’, उल्लेख छ।
सरकारले नेपाल ट्रष्ट ऐन २०६४ मा व्यवस्था भएको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि मात्रै उपयोग गर्न पाइने जग्गा वा सम्पत्ति ऐन संशोधनमार्फत् अब व्यक्ति वा संस्थालाई व्यवसायिक वा जुनसुकै प्रयोजनमा दिन सक्ने बनाएको छ।
उल्लेखित संशोधनले अब दरबार पुननिर्माण गर्ने वा भत्काएर बनाउने निहुँमा ऐतिहासिक झल्को समेत मेटाउन सक्ने बनाइदिएको छ।
यो कानुनी व्यवस्थाले अब फेवाकिनारका रत्नमन्दिर, हिमागृह र जमिन मात्र होइन, देशका ११ जिल्लामा फैलिएका ट्रष्टको नाममा रहेका २१ हजार रोपनी जग्गा कानुनी जोखिममा पुगेको छ।
‘यो व्यवस्थाका विरूद्ध संसदमा संशोधन प्रस्ताव अस्वीकृति गरियो, राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले भने, ‘हामीले आवाज उठायौं तर केही लागेन।’
सरकारले ट्रष्टको ऐन संशोधनमार्फत् नीतिगत भ्रष्टाचार गरेको उनको आरोप छ।
‘गणतन्त्र आएपछि राजाको सम्पत्ति स्वतः जनताको हुन्छ’, अधिकारीले भने, ‘ट्रष्टको नाममा गएको सम्पत्ति सरकारले दुरुपयोग गर्न खोजे जनताले नै जोगाउनुपर्ने बेला आएको छ।’