शिवरात्रीअगाडि पशुपतिदेखि गुहेश्वरीसम्म बागमतीको पानी कम्तिमा नुहाउन मिल्ने हिसाबले सफा बनाइने भएको छ।
फागुन ९ गते पर्ने शिवरात्रीअघि नै गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी बागमतीमा बगाइने काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले बताए।
पन्थीका अनुसार प्रशोधन केन्द्र सञ्चालन भएसँगै दैनिक ३ करोड २० लाख लिटरसम्म पानी प्रशोधन हुनेछ। केन्द्रको काम अहिलेसम्म ९८ प्रतिशत काम सकिएको छ। २ अर्ब ५५ करोड रूपैयाँ लागतमा बनिरहेको केन्द्र अबको डेढ महिनाभित्र पूर्ण सञ्चालनमा ल्याइनेछ।
केन्द्र पूर्ण सञ्चालनमा आएपछि बागमतीमा बग्ने पानीको रङमै आमूल परिवर्तन आउने पन्थीको दाबी छ।
'पिउनयोग्य त हुँदैन तर नुहाउन मिल्नेगरी बागमतीको पानी सफा बनाउँछौं,' उनले भने।
अहिले केन्द्र परीक्षणकालमा छ। केन्द्र निर्माणको ठेक्का पाएको अष्ट्रियन कम्पनी 'भिएटेक' ले २०७३ साउनबाट काम सुरू गरेको थियो। साढे दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सकिएन। डेढ वर्ष म्याद थपियो।
अब भने डेढ महिनाभित्र जसरी पनि काम सक्नेगरी निर्माण कम्पनीलाई ताकेता गरिरहेको पनि पन्थीले बताए।
काठमाडौं उपत्यकाका ढलहरू सिधै नदीमा मिसिन नदिने र प्रशोधनपछि मात्र नदीमा छोड्ने भनेर प्रशोधन केन्द्र निर्माण भइरहेको हो।
निर्माण सकिनै लागेको गुहेश्वरी प्रशोधन केन्द्रले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल समेट्छ। भनेको गोठाटार, जोरपाटी, चावहील, मित्रपार्क, गौरीघाट र गौशालाका ढल यही केन्द्रमा जम्मा हुन्छन्। त्यसका लागि नदीको दुई किनारामा ढल बिछ्याउने काम बागमती सभ्यता विकास समितिले गरिसकेको छ।
पन्थीका अनुसार ती ठाउँबाट नदीका दुई किनारा भएर बग्दै आउने ढल 'इनलेट' मा भेट हुन्छ। त्यसपछि पानी 'ग्रिट च्याम्बर'मा जान्छ। च्याम्बरले पानीमा भएको बालुवाका कण, प्लास्टिक, बोरा, र ठूला ठोस वस्तु छान्छ। त्यसपछि बल्ल पानीको थिग्रिने प्रक्रिया सुरू हुन्छ।
यसका लागि 'सेडिमेन्टेसन' ट्यांकी छ। सेडिमेन्टेसनमा तीन वटा ट्यांकी छन्।
पहिलो एरेसन ट्यांकीमा पानीमा भएका जीवाणुलाई अक्सिजन दिएर जीवित राखिन्छ। ती जीवाणुले पानीमा रहेको फोहोरको लेदो खाएर एकै ठाउँ पार्छ जसले गर्दा पानीको कालो पनि घट्छ।
त्यसपछि पहिलो ट्यांकीको पानी दोस्रोमा खस्छ। यसमा पातलो, लिप्न मिल्ने माटो थिग्रिन्छ।
अनि पानी तेस्रो ट्यांकीमा जान्छ जहाँ आइसक्दा पानीले आफ्नो रङ फेरिसकेको हुन्छ। पानी थप सफा देखिन्छ।
सेडिमेन्टेसन ट्यांकीको प्रक्रिया सकिएपछि पानी 'डिस्क फिल्टर'मा जान्छ। डिक्स फिल्टरबाट पानी पनि क्लोरिनाइजेनको लागि क्लोरिन ट्यांकीमा जान्छ। जहाँ टर्चरी प्रणालीबाट पानीको शुद्धीकरण गर्न क्लोरिन प्रयोग गरिन्छ। नुनबाट क्लोरिन बनाउने प्रणाली प्रशोधन केन्द्रभित्रै छ।
क्लोरिन हालेपछि पानी आधा घन्टासम्म खेलिबस्छ। त्यसपछि बल्ल प्रशोधित पानी बागमतीमा बग्ने हो।
प्रशोधन केन्द्र परीक्षण चरणमै रहेकाले अहिले पानी बागमतीमा छोडिएको छैन।
'सञ्चालनमा आएपछि गुहेश्वरीबाट प्रशोधित पानी छाडिन्छ,' पन्थीले भने, 'पानी छोडेपछि बागमतीको बहाव पनि बढेको देखिन्छ। अहिले देखेजस्तो हिलो, फोहोर पानी देख्न पर्दैन।'
गुहेश्वरीमा यसअघि नै १ करोड ६२ लाख लिटर क्षमताको प्रशोधन केन्द्र थियो। तर त्यसले काम गरिरहेको थिएन। अहिले बन्न लागेको नयाँ केन्द्र त्यति नै क्षमताको हो।
दुवै केन्द्र सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बग्छ। जसले गर्दा नदीको गइरहाइ पैतालाभन्दा माथि र घुँडाभन्दा तल पुग्नेछ। अहिले गुहेश्वरीको भागमा मुश्किलले पैताला डुब्ने मात्र पानी बग्छ।
केन्द्रको उद्देश्य बागमतीमा कुनै पनि ढल मिसिन नदिने भए पनि लुकिछिपी केही ढल मिसिएका पन्थी बताउँछन्।
'कतिपय खोल्सामा ढल बगाएको स्थिति छ। केन्द्र सञ्चालनमा आइसकेपछि कडाइ गर्न वातावरण मन्त्रालय र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गर्छौं,' उनले भने।
गुहेश्वरीजस्तै भक्तपुरको सल्लाघारी र ललितपुरको बालकुमारी र धोबीघाटमा प्रशोधन केन्द्र बनिरहेको छ। सल्लाघारी प्रशोधन केन्द्रको क्षमता १ करोड ४२ लाख लिटर हुनेछ। केन्द्रले भक्तपुर नगरपालिका सबै र सूर्यविनायक नगरपालिकाको केही भाग समेट्छ।
बालकुमारी केन्द्रले ललितपुरको पूर्वी दक्षिण क्षेत्र समेट्छ। साथै सल्लाघारी केन्द्रले नसमेटेका भाग बालकोट, सूर्यविनायकको केही भाग, कटुन्जे र ठिमी हुँदै बग्ने ढल प्रशोधन गर्छ।
यस्तै धोबीघाट केन्द्रले ललितपुरको पश्चिम उत्तर भाग, धोबीखोला र विष्णुमतीमा बग्ने ढल प्रशोधन गर्छ। त्यसका लागि धोबीखोला र विष्णुमती दुवैमा ढल बिछ्याउने काम भइरहेको छ।
तिनै ढल बागमतीमा बिछ्याइएको मूल ढलसँग जोडिन्छ र धोबीघाट केन्द्रमा छोडिन्छ। यो हुँदा बागमतीमाजस्तै यी खोलामा पनि ढल सिधै मिसिन पाउँदैन।
टुकुचा खोलामा अलि जटिलता देखिएकाले त्यहाँ एसियाली विकास बैंकको सहयोगमा छुट्टै केन्द्र निर्माण हुने पन्थीले जानकारी दिए।