रौतहटको जिल्ला कारागारमा अचेल कैदीबन्दीहरू डराउन थालेका छन्। राणाकालमा बनेको यो कारागार जीर्ण बन्दै गएको थियो। २०७२ वैशाखमा गएको भुकम्पका कारण चर्किएपछि यो झन् कतिखेर भत्केला भन्ने स्थितिमा छ।
भूकम्पका कारण भवन ठाउँ-ठाउँमा चर्किएपछि कैदीहरू डरत्रासमा बस्न बाध्य भएका हुन्।
भवन कुनैपनि बेला भत्किने डरबाट आफूहरू रातभरि सुत्न नसकेको भन्दै जेल प्रशासनलाई कैदीबन्दीले गुनासो गर्दै आएका छन्।
जिल्ला कारागार जेलर शम्भु प्रसाद यादवले पुरानो एवं जीर्ण अवस्थामा रहेको र भवनमा भूकम्पबाट भित्र बस्न खतरा रहेको बताए ।
स्थानीय सुरक्षा प्रशासनले भूकम्प गएपछि पटक/पटक कारागारको अनुगमन गरी त्यहाँको अवस्थाबाट कारागार व्यवस्था विभाग र गृहमन्त्रालयमा पत्र लेखेर पठाएको थियो।
यादवका अनुसार, कारागारको सुरक्षार्थ राखिएका प्रहरी र कर्मचारी भवन समेत जीर्ण अवस्थामा छ।
'कारागारभित्र कैदीलाई बस्न गाह्रो छ। कारागार प्रशासन चलाउने हाम्रो कार्यलय पनि जीर्ण छ,' उनले भने।
जीर्ण एवं पुरानो कारागार भवनलाई मर्मत सम्भार तथा नयाँ भवन बनाउनका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेकोले समस्या समाधान हुने आसमा आफूहरू रहेको जेलर यादवले बताए।
९० जना कैदीको क्षमता रहेको कारागारभित्र अहिले २ सय ९७ कैदीहरू छन्। १४ महिला कैदी बन्दी र बाँकी पुरूष छन्।