गत असोजमा भएको इन्टरपोलको ८८ औं महासभा बैठकमा सहभागी हुन नेपालका प्रहरी अधिकारीहरू चिली गएका थिए।
त्यस क्रममा इन्टरपोल महाशाखा बेइजिङ र नेपाली प्रहरी अधिकारीबीच ‘अनौपचारिक छलफल’ भएको थियो।
सो छलफलमा नेपालमा साइबर तथा वित्तीय अपराधमा चिनियाँ नागरिक संलग्न रहेको चीन र नेपाली प्रहरी अधिकारीबीच कुराकानी भएको थियो। किनकि, त्यसको एक महिनाअघि भदौ महिनामा सवा करोड बढी रकम काठमाडौंका एटिएम बुथबाट चोरी गरेको घटनामा आठ चिनियाँ पक्राउ परेका थिए।
त्यसको अध्ययन गर्न चीनको फरेन्सिक टोली नेपालमा आएको थियो। यो घटनापछि चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएर बैंकिङ तथा साइबर अपराधमा संलग्न दुवै देशका प्रहरी अधिकारीहरूले पत्ता लगाएका थिए।
नेपाल आएर चिनियाँ नागरिकले अपराध गरिरहेको ‘ब्रिफिङ’पछि त्यहाँका अधिकारीले त्यस्तो गतिविधि रोक्न चाँडै नै उपयुक्त कदम चालिने आश्वासन नेपाल प्रहरीलाई दिएका थिए।
इन्टरपोलको महासभामा दुई देशका अधिकारीबीच कुराकानी भएपछि नेपालमा चिनियाँ नागरिकको निगरानी बढाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
यसबीचमा विभिन्न चरणमा चिनियाँ अधिकारी र नेपाल प्रहरीको अनुसन्धान ब्युरोबीच ‘कुराकानी’ र सूचना ‘आदान-प्रदान’ भएको थियो।
पर्यटक भिसामा नेपाल आउने र अन्य गैरकानुनी गतिविधि गर्ने गरेका केही उदाहरण नेपाल प्रहरीले चिनियाँ अधिकारीलाई दिँदै गए।
त्यसपछि दुई देशबीचको समन्वयमा सोमबार काठमाडौंमा चिनियाँ पक्राउ अभियान चलाइयो। त्यहाँको इन्टरपोल शाखाले केही विवरण उपलब्ध गराएपछि अपरेसन थालिएको ब्युरोले जनाएको छ।
ब्युरो प्रमुख निरजबहादुर शाहीका अनुसार ‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा १२२ जना चिनियाँ पक्राउ परेका थिए।
शाहीका अनुसार पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन्। उनीहरूलाई तारकेश्वर नगरपालिका-१ मनमैजु, काठमाडौं-३ बाँसबारी र बुढानिलकण्ठ-३ बाट चिनियाँ समातिएका हुन्।
ती चिनियाँलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो।
यो अपरेसनको नेतृत्व ब्युरोले गरेको थियो। समन्वयमा इन्टरपोल शाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर थिए।
पक्राउ परेका चिनियाँबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको छ।
धेरै व्यक्तिको पासपोर्टसमेत फेला पर्न नसकेको प्रहरीले जनाएको छ। उनीहरू ती क्षेत्रमा कार्यालय नै खडा गरेर बसेका थिए।
उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम् प्रयोग गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।
‘उनीहरूले प्रयोग गरेको प्रविधि हेर्दा एकैछिनमा ठूलो घटना गराउन सक्ने बुझ्न सकिन्छ,’ उनले एटिएमबाट पैसा चोरीको घटनातिर संकेत गरे, ‘यिनीहरूले यो प्रविधि बैंक तथा वित्तीय अपराधमा प्रयोग गर्न सक्ने जोखिम थियो।’
प्रहरीले औपचारिक रूपमा के प्रयोजनका लागि चिनियाँ नागरिकले काम गर्थे भन्ने स्पष्ट पारिसकेको छैन।
तर, उनीहरूले इन्टरनेटमार्फत् बेवसाइट बनाइ नेपालका ठूला घरानाका व्यक्तिलाई ठग्न खोजेको थाहा भएको छ।
‘चिनियाँ नागरिक के के अपराधमा छन्, त्यसको अनुसन्धान भइरहेको छ,’ डिआइजी शाहीले भने, ‘तर, उनीहरू जे प्रयोजनमा नेपाल आए, त्योभन्दा भिन्न गतिविधि देखिन्छ। जुन गैरकानुनी हो।’
शाहीले अनुसन्धानपछि जे कानुन आकर्षित हुन्छ त्यसैअनुसार चिनियाँ नागरिकमाथि कारबाही हुने बताए।
शाहीका अनुसार ती चिनियाँ नागरिक तीन-चार महिनायता नेपालमा आएको बुझिएको छ।
प्रहरीले अहिले उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ। यो कमजोर मुद्दा मानिन्छ।
प्रहरीले भने अनुसन्धानमा कसूर स्थापित हुँदै जाँदा मुद्दाहरू चलाउँदै जाने बतायो।
ब्युरो प्रमुख शाहीले यो घटनापछि पनि चीनको इन्टरपोल महाशाखा र नेपालको ब्युरोबीच कुराकानी भएको बताए।
‘उहाँहरूले हामीलाई धन्यवाद दिनुभएको छ,’ शाहीले भने।
उनीहरूमाथि अभद्र व्यवहारको मुद्दामा पाँच दिन म्याद थपी अनुसन्धान अघि बढाइएको छ।