स्थानीयसँगको सहमतिविपरीत सर्भे गरिएपछि मदन भण्डारी राजमार्गको सुर्खेत खण्डबारे विवाद उत्पन्न भएको छ। सुर्खेत पश्चिम क्षेत्रको पञ्चपुरी नगरपालिकाका स्थानीय आन्दोलित बनेका छन्।
केही समयअघि पञ्चपुरीको खम्बागाडे हुँदै सालकोट–चतुरे–बाबियाचौरबाट सर्भे गरेर अगाडि बढ्ने सहमति राजनीतिक दल र स्थानीयबीच भएको थियो।
तर सर्भे टोलीले कोटीहोम खण्डबाट सर्भे गर्न थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्। सोमबारदेखि सुरु भएको आन्दोलन अझ पनि जारी छ। स्थानीयले सहमति अनुसार पञ्चपुरी नगरपालिका–२ को खम्बागाडे हुँदै सालकोट–चतुरे–बाबियाचौरसम्म सर्भे गर्नुपर्ने माग गर्दै आएका छन्।
धेरै जनसंख्या भएको क्षेत्रबाट राजमार्गको सर्भे नगरी केही मान्छेको स्वार्थमा जंगलबाट सर्भे गरेकोले आन्दोलन गर्नुपरेको आन्दोलित संघर्ष समितिका संयोजक झक्कीबहादुर सिजापतीले बताए। ‘बढी संङ्ख्यामा वस्ती भएकोले धेरै जनता लाभान्वित हुने ठाउँबाट सडक नलिई जंगलको बाटो सर्भे गरियो,’ उनले भने, ‘जनताको लाभभन्दा पनि केही व्यक्तिको स्वार्थका कारण यस्तो अवस्था आएको हो।’
पञ्चपुरीका ७ वटा वडाहरुले सालकोटबाटै राजमार्गको सर्भे गर्नुपर्ने सहमति जनाए पनि केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण सहमति भएको भन्दा अन्यत्र सर्भे गरिएको स्थानीय चन्द्र बहादुर रावतले बताए।
खम्बागाडेमा ४ किलोमिटर सर्भे गरिसकेपछि सर्भे टोलीलाई नै केही व्यक्तिहरुले अपहरण शैलीमा लिएर अर्को बाटो सर्भे गर्न लगाएको रावतले बताए।
पञ्चपुरी नगरपालिका वडा नम्बर १, २, ३, ४, ६, ८, ९ का जनप्रतिनिधी, राजनीतिक दल र स्थानीयबीच खम्बागाडेदेखि सालकोट–बराइँचे खण्डबाट सर्भे गर्नुपर्ने लिखित सम्झौता भएको थियो।
सम्झौता अनुसार खम्बागाडेदेखि पलैंटे हुँदै चार किलोमिटर सडकको सर्भे गरिरहेका बेला पञ्चपुरी–५ का केही स्थानीयले अपहरण शैलीमा टोलीलाई लिएर जबर्जस्ती अर्को ठाउँबाट सडक सर्भे गर्न लगाएको स्थानीय बलबहादुर रोकायले आरोप लगाए।
सातवटै वडाका स्थानीयले सडकमा टायर बालेर आन्दोलन गरेका छन्। बजार र सवारी साधन समेत बन्द गराइएको छ। आन्दोलनलाई सशक्त बनाउन भन्दै १८ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य युद्ध बहादुर विकले बताए। आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको भन्दै उनले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।
आन्दोलनकै क्रममा मंगलबार पलैँटे बजारमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको गाडीलाई स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। मेयर थापाले केन्द्रबाटै कुन ठाउँबाट डिपिआर गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा अन्यौल भएको बताए।
‘केन्द्र सरकारबाटै कुन बाटो सर्भे गर्ने भन्ने विषयमा स्पष्ट खुलाइएको छैन, यहाँबाट प्रतिनिधित्व गर्ने माननीयले दुवै बाटो गर्ने भन्नेजस्तो कुरा गरेपछि यस्तो समस्या आएको हो,’ उनले भने, ‘समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भएपनि, कुन बाटोमा सर्भे गर्ने भन्नेमा निर्क्यौल त हुनुपर्यो नि।’
प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका सांसद् नवराज रावतले यसका लागि आफूले पहल गर्ने बताए। स्वास्थ्य राज्यमन्त्री समेत रहेका रावतले आफू सोही क्षेत्रको सांसद् भएकाले विवाद समाधानका लागि पहल गर्ने बताएका छन्।
सरकारले २०७५ जेठ ६ गते १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्री मधेसका उपत्यका जोड्ने उद्देश्यका साथ उक्त निर्णय गरेको हो।
झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म यो राजमार्ग पर्छ। राजमार्गले धरान, चतरा, गाइघाट, सिन्धुलीमाडी, हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छी, घोराही, बोटेचौर, वीरेन्द्रनगर, बड्डीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा हुँदै रुपाल जोड्नेछ।