भक्तपुरको तलेजू भवानी मन्दिर परिसरमा ३२९ वर्ष पुराना एकजोडा नगरा लामो समयदेखि थन्किएका थिए। पाटीजस्तो ठाउँमा राखिएका यी नगरा चिसो र अँध्यारोको ओसमा परेर मक्किएका थिए।
नगरपालिकाले दुई साताअघि मर्मत गराएर पुनः स्थापना गरेको छ।
बिहीबार सिद्धिलक्ष्मी मन्दिरअगाडिको ताहा सत्तल (तबा सत्तल) मा यी नगरा पुनः स्थापना गरिएका हुन्। ०७२ सालको भुइँचालोमा भत्किएको यो सत्तल पुर्निर्माण भएसँगै यहाँ नगरा राखिएको छ। सेनाको सहयोगमा नगरा पुनःस्थापित गरिएको हो।
वर्षौं थन्किएका नगराबारे धेरैलाई जानकारी नै थिएन। अब यसको महत्व र प्रयोजन विस्तारै खुल्दै जानेछ।
मेयर सुनील प्रजापति, उप–मेयर रजनी जोशी, दरबार हेरचाह तथा संरक्षण कार्यालय प्रमुख सरस्वती सिंह, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ लगायतले नगरा बजाउँदै पहिलो तल्लाको पश्चिमी भागमा सुरक्षित रूपमा पुनःस्थापना गरेका हुन्।
नेपाल भ्रमण वर्षको अवसरमा यसलाई पुनःस्थापना गरिएको नगरपालिकाले जनाएको छ। विगतमा यही सत्तलमा नगरा राखिएको इतिहास उल्लेख गर्दै आन्तरिक र बाह्य पर्यटकका लागि यसबारे जानकारी दिन आवश्यक भएको मेयर प्रजापति बताउँछन्।
'नयाँ पुस्तालाई यसबारे थाहा दिन पहिलेकै स्थानमा राखेका हौं,' मेयर प्रजापतिले भने, 'यसलाई सुरक्षित राखेर बजाउने व्यवस्था मिलाएर जीवन्तता दिने सोच छ।'
अभिलेखअनुसार सम्बत ८११ मा जितामित्र मल्लको पालामा यहाँ तलेजू भवानीको नाममा नगरा चढाइएको थियो। त्यसलाई नाति रणजित मल्लले ८४७ मा जिर्णोद्धार गरे। संस्कृतिविद् ओम धौभडेलका अनुसार २०२०–२१ सालसम्म यी नगरा बिहान-बेलुकी तलेजूको नित्य पूजा गर्दा दुईपटक बज्थे। सँगैको घन्टी पनि बजाउनुपर्थ्यो।
'तलेजू भवानीको पूजा हुँदा यी नगरा बजाएपछि तल्लो र मााथिल्लो भेगका जनतालाई सूचना पुग्थ्यो,' धौभडेलले भने।
उनका अनुसार तलेजू भवानीअन्तर्गत करिब १ रोपनी ४ आना जग्गा छ। गुठी संस्थान आएपछि यसका जग्गा सबै रैकरमा परिणत भए। बाली आउन कम भयो, ब्याजको पैसाले पुग्थेन। अनि बजाउने मान्छेले पनि छाडे।
'कसैले नबजाएपछि यत्रो ठूलो नगरा कता-कहाँ राख्ने भयो। अनि दरबारमै यताबाट उता सरिरह्यो,' धौभडेलले भने, 'पछि ४५ सालतिर तलेजू जाने ठाउँमा राखियो। तर त्यहाँ मान्छेको ध्यानै पुग्थेन।'
यो नगरा २०५४ सालमा भक्तपुर महोत्सव हुँदा यही सत्तलमा राखिएको थियो। अहिले नेपाल भ्रमण वर्षको अवसर पारेर पुनःस्थापना गरिएको छ।
दमाहाहरूले बजाउने नगरा नौ बाजामध्ये पनि पर्छ। यो यहाँ पुनःस्थापना हुनुभन्दा पनि यसलाई बजाइराख्नु मुख्य चुनौती भएको धौभडेल बताउँछन्। नगरपालिका यस विषयमा सकारात्मक भएको र यसलाई बजाएर जीवन्तता दिने पक्षमा रहेको बताउँछ।
बिहीबार सूर्य ग्रहणमा नगरा पुनःस्थापना हुनु अविश्मरणीय पनि भएको धौभडेल बताउँछन्।
'ग्रहण लाग्दा तलेजूभित्र दीक्षा लिने, विशेष पूजा गर्ने परम्परा मल्लकालमा थियो,' उनले भने, 'ग्रहण परेकै दिन पुनःस्थापना हुनुले त्यो परम्परा निरन्तरता दिएजस्तो महशुस भयो।'
भ्रमण वर्ष २०२० को अवसर पारेर नगरपालिकाले पुस १५ गते सन्ध्याकालीन पदयात्रा र पुस १६ (जनवरी १) मा प्रभातफेरी कार्यक्रम गर्ने योजना पनि बनाएको छ।