सुर्खेतकी डोल्मा वादीका दुई छोरी छन्। अस्मिता र पुतली। अस्मिता अहिले मलेसिया छिन्। पुतली गाउँमै छिन्।
मलेसियामा रहेकी अस्मिताका दुई छोरा छन्। पुतलीका दुई छोरा, एक छोरी।
डोल्माले आफ्ना यी दुवै छोरीको सानै उमेरमा विवाह गराइदिएकी थिइन्।
उनलाई लाग्थ्यो छोरीले तलमाथि गरे आफ्नो इज्जत जान्छ। गाउँलेहरूले कुरा काट्छन्। छोरीलाई बसिखान हुने छैन।
‘मैले पछि बिग्रेलान् कि भन्ने डर लागेर छोरीहरूको सानैमा विवाह गराइदिएँ,' उनले भनिन्।
उनलाई लागेको थियो बिहे भएपछि न छोरी बिग्रिन्छन् न परिवारको इज्जत जान्छ, छोरीको घरबार बन्छ सुख पनि पाउँछन्।
आफूलाई लागेका ती सबै कुरा त भ्रम रहेछ भनेर उनले बल्ल थाहा पाउँदै छिन्।
‘उमेर नपुग्दै, आफू बलियो नहुँदै विवाह गर्यो भने के हुने रहेछ भनेर त बल्ल थाहा भयो। अब नातिनीहरूको बिहे उमेर नपुगी नगर्ने,’ उनले भनिन्।
विवाहपछि दुवै छोरीले निकै दु:ख पाए। दुवै आ-आफ्ना छोराछोरीसहित उनकै आडमा बस्न आएका छन्।
डोल्माले १८ वर्ष नपुग्दै आफ्ना दुवै छोरीको विवाह गराइदिएकी थिइन्।
‘दुई छोरीको सानैमा बिहे गराइदिएँ, तिनीहरू दुवैका श्रीमानले पछि दुई/दुई वटा अरू बिहे गरे,’ डोल्माले भनिन्, ‘त्यसपछि छोरीहरूले बालुवा खनेर खाना जुटाए, अहिले तिनै छोरीका दु:खले मलाई चेत आएको छ।’
अहिले डोल्मासँग चार जना नातिनी छन्।
चारै जनाको विवाह भएको छैन।
‘घरबाटै जबर्जस्त विवाह गरिदिए त के लाग्थ्यो र, तर अहिलेसम्म केही भन्नुभाको छैन,’ डोल्माकी नातिनी अलिसा वादीले भनिन्, ‘आफू परिपक्व भएपछि विवाह गर्नुपर्छ भन्ने थाहा छ, अहिले पढ्दैछौं।’
डोल्माले आफ्ना नातिनीहरूलाई उमेर नपुगेर र आफू सक्षम नभएसम्म विवाह नगर्नू भनेर बेलाबेला सचेत गराउने गरेकी छिन्।
‘सानैमा विवाह गर्दा छोरीले पाएका दु:ख सम्झेर नातिनीलाई चाँडै बिहे नगर्नु भनेकी छु,’ उनले भनिन्।
झुप्रा खोलाको किनारमा बसोबास गरिरहेको डोल्माको सिंगो परिवारलाई नै ‘बालविवाह गर्नु हुँदैन’ भन्ने ज्ञान आफ्नै घरभित्रको अनुभवले सिकाएको हो।
बिहेपछि उनका दुवै छोरी विदेश गए।
डोल्माका अनुसार छोरीहरूको घरपरिवारले नै सल्लाह गरेर विदेश पठाएका थिए।
सल्लाह बमोजिम रोजगारीका लागि अस्मिता र पुतली विदेश गए। त्यसपछि दुवै जनाका श्रीमानले उनीहरूले विदेशबाट पठाएको पैसा फोकटमा खर्च गर्ने र अरू विवाह गर्ने गरे।
‘घरजहानको सल्लाहबाट दुवै छोरीलाई उनीहरूले विदेश पठाए, छोरी उताबाट कमाएर पैसा पठाउने, यता विवाह गर्ने गरे ज्वाइँहरूले,’ डोल्माले भनिन् ।
विदेशबाट फर्किसकेपछि पनि अस्मिता र पुतलीले आफ्ना श्रीमानलाई पर्खिए श्रीमानले वास्ता नै नगरेपछि छुट्टिएको डोल्माले बताइन्।
पछिल्लो समय आफैं बालविवाह
२०६८ को जनगणना अनुसार कर्णाली प्रदेशमा कुल विवाहमध्ये ५२ प्रतिशतले उमेर नपुग्दै (२० वर्षमुनि) विवाह गर्ने गरेका छन्। उमेरका हिसाबले हेर्दा १५ देखि १९ वर्षको उमेरसम्म अधिकांशको विवाह भइसक्ने गरेको तथ्यांकले देखाएको छ।
सेभ द चिल्ड्रेनका बाल संरक्षण संयोजक बाले विश्वकर्माका अनुसार पहिले अभिभावक उमेर नपुग्दै छोराछोरीको विवाह गरिदिने गरेको भए पनि पछिल्ला समय भने बालबालिका आफैंले विवाह गर्ने गरेका छन्।
बालविवाहविरूद्धका अभियान सञ्चालन भएयता अभिभावकले नै उमेर नपुगेका छोराछोरीको विवाह गर्ने प्रचलन कम भएको छ।
तथ्यांक अनुसार कर्णाली प्रदेशका जिल्लाहरूमध्ये सबभन्दा धेरै बालविवाह रुकुम पश्चिम र दैलेखमा हुने गरेको छ। रुकुम पश्चिम र दैलेखमा ७१ प्रतिशत बालविवाह हुने गरेको छ। यस्तै, सबभन्दा कम बालविवाह (प्रदेशका जिल्लाको तुलनामा) हुने जिल्लाका रूपमा डोल्पा रहेको छ। डोल्पामा ५० प्रतिशत बालविवाह हुने गरेको छ।