कर्णाली प्रदेशलाई नै सडक मानव मुक्त प्रदेशका रुपमा घोषणा गर्न लागिएको छ। वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश समन्वय परिषदको वैठकमा प्रदेशलाई नै ‘सडक मानव मुक्त’ प्रदेश बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जाहेर गरेका छन्।
शुक्रवारको बैठकमा वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा रहेको मानव सेवा आश्रमले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश घोषणा गर्ने प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको अभिभावकीय जिम्मेवारी रहेको वीरेन्द्रनगरका उपमेयर मोहनमाया ढकालले बताइन्।
कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच २०७५ पुष १० गते बसेको बैठकले कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने निर्णय गरेको थियो । यो निर्णभित्र मानव सेवा आश्रम सुर्खेतमा स्थापना गर्ने र त्यसको व्यवस्थापन नगरपालिका र प्रदेश सरकारको तर्फबाट गर्र्ने सहमति गरिएको थियो।
प्रदेश समन्वय परिषद्को बैठकबाट जारी गरिएको प्रतिबद्धता पत्रमा माघको पहिलो हप्ताभित्र कर्णाली प्रदेशलाई सडक मानव मुक्त प्रदेशका रुपमा घोषणा गरिसक्ने उल्लेख गरिएको छ। उपमेयर ढकालले सडक मानव राख्नका लागि भवन बनाउने र भवन नबन्ने बेलासम्म नगरपालिकाले नै हेर्नेगरी प्रतिबद्धता गरिएको जानकारी दिइन्।
‘जे होस् माघको पहिलो हप्ताभित्र वीरेन्द्रनगर नगरपालिकासँगै सिंगो कर्णाली प्रदेशलाई नै सडक मानवमुक्त घोषणा गर्ने योजना छ,’ ढकालले भनिन्, ‘त्यसका लागि जग्गा खोजेर सडकमा रहेका मानिस राख्ने भवन निर्माण गर्ने र भवन नबन्ने बेलासम्म नगरपालिकाले नै व्यवस्थापन गर्ने प्रतिबद्धता छ।’
उपमेयर ढकालले सडक मानवहरु वीरेन्द्रनगरमा नै धेरै रहेको बताइन् । अन्य ग्रामीण र भौगालिक रुपमा असहज ठाउँहरु भन्दा विकसित र भौगोलिक रुपमा सहज ठाउँमा नै सडक मानव रहने गरेको उनले बताइन्। यसमध्ये पनि वीरेन्द्रनगरमा यो ठूलो समस्याका रुपमा रहेको ढकालको भनाई छ।
‘अन्यत्र भन्दा पनि यहाँ बसाइँसराई गरेर आउने भएकाले यहाँ सडक मानव धेरै छन्,’ ढकालले भनिन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मानव सेवा आश्रम समेत स्थापना गरिएको छ। गत बर्षको पुषमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीचको बैठकबाट गरिएको निर्णय अनुसार प्रदेश सरकार वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा नै कर्णाली प्रदेश स्तरीय मानव सेवा आश्रम स्थापना गरिएको हो।
आश्रमको घरभाडा र अन्य व्यवस्थापन पनि अहिले वीरेन्द्रनगर नगरपालिकाले नै गर्दै आएको छ। माघ १८ गते स्थापना भएको मानव सेवा आश्रममा हाल प्रदेशका विभिन्न ठाउँबाट ल्याइएका ४८ जना सडक मानव रहेका छन्। आश्रममा ल्याइएका कतिपय मानिस भने परिवासँग फिर्ता भईसकेका छन्।
मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सिर्जना वलीले माघ ४ गते औपचारिक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेशलाई ‘सडक मानव मुक्त’ घोषणा गर्ने बताइन्।
‘हामीले भेटाएका र खबर पाएका ठाउँबाट सडकमा जीवन विताईरहनुभएका मानिसहरुलाई यहाँ ल्याइरहेका छौं, यसको व्यवस्थापनका लागि प्रदेश सरकार नगरपालिकाले पनि सहयोग गरिरहेको छ,’ संयोजक वलीले भनिन्, ‘माघ ४ गते कार्यक्रम गरेर यसको घोषणा गर्ने भनिएको छ।’
संयोजक वलीका अनुसार कर्णाली प्रदेशलाई सडक मानव मुक्त बनाउनका लागि सामाजिक विकास मन्त्रीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ। यो समितिमा सबैजसो सरोकारवाला निकाय सदस्यका रुपमा रहेका छन्।