नेपाल-भारतको सिमा जोड्ने दसगजामै मदिरा र मासु पसल खोलिएका छन्। सोही स्थानमा विगत दस वर्षदेखि खसीको मासु बिक्री पसल सञ्चालन गर्दै आएका भारत जमुनधारका इस्ताक अन्सारीले दसगजामा पसल सञ्चालन गर्दा अहिलेसम्म कोही रोक्न नआएको बताए।
‘पसल खोलेको बेलादेखि अहिलेसम्म कसैले रोक्न आएको छैन।‘न भारततर्फको एसएसबीले रोकेको छ, न नेपालतर्फको सशस्त्र प्रहरी ले नै। दसगजामा पसल थाप्न पाइँदैन भन्दै रोकेको भए कसैले पसल राख्दैनथ्यो,’ उनले भने।
कसैले नरोक्दा व्यवसायीले मनोमानी ढंगले पसल खोलेको उनले जानकारी दिए।
उक्त जंगे पिलर नजिकैको पुरै दसगजा क्षेत्रमा भारतको लालाछपरा र जमुनधारका एक दर्जन बढी मानिसहरू मासु तथा मदिरा बिक्री पसल सञ्चालन गरेर बसेका छन्। उनीहरू निर्वाध रुपमा आ-आफ्नै तरिकाले झुपडी, टहरा बनाएर व्यवसाय सञ्चालन गर्दै आएका छन्।
भारत बिहार सरकारले मदिरा बिक्री वितरणमा रोक लगाएपछि भारतीयहरूले दसगजा क्षेत्रलाई सुरक्षित ठान्दै दसगजामै मासु तथा मदिरा पसल सञ्चालन गर्न थालेका हुन्।
दसगजा क्षेत्रमा कोही कसैले केही गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनी प्रावधान छ। तर, दसगजा काटेर खेत बनाउँदा, दसगजामै घर गोठ बनाउँदा, पसल थाप्दा पनि सम्बन्धित निकाय मौन रहेका छन्।
दसगजाभन्दा करिब तीन किलोमिटर टाढामा मात्र मदिरा पसल खोल्न पाइने मापदण्ड रहेको जिल्ला प्रशासन कार्यालयले बाराले जनाएको छ। तर, सिमा क्षेत्रमा खुलेआम दसगजा क्षेत्र र नजिकै मदिरा तथा मासु पसल निर्वाध रुपमा सञ्चालनमा छन्।
मटिअर्वास्थित दसगजामा चार वटा खसीको मासु बिक्री पसल, ३ वटा कुखुराको मासु बिक्री पसल र एक दर्जन बढी माछा, मासु तथा मदिरा बिक्री पसल सञ्चालनमा रहेको सोही ठाउँमा मासु बिक्री पसल सञ्चालन गरेका स्थानीयहरूले बताए।
‘हामीकहाँ मासु खरिद गर्न अधिकांश भारतीय ग्राहक आउँछन्,’ स्थानीयहरूले भने, ‘यहाँका मदिरा पसलमा मदिरा पिउने भारतीय ग्राहक नै बढी छन्।’
भारतमा मदिरा बन्द छ। त्यसैले यहाँ आएर बिना रोकटोक चाहना अनुसार मदिरा पिएर राति फर्किनेहरू धेरै रहेको उनीहरू बताउँछन्।
मटिअर्वास्थित दसगजामा मदिरा र मासु पसल सञ्चालन भएको खबर आफूले पाएको बारा नेपाल प्रहरीका प्रमुख विकासराज खनालले बताए। ‘दसगजामा खोलिएको मदिरा पसल भारतीय अधिकारीसँग समन्वय गरी हटाउँछौं,’ उनले भने, ‘दसगजामा कसैले कुनै गतिविधि गर्न पाइँदैन।’
भारत बिहारसँग जोडिएका १८ स्थानमा सिमा विवाद रहेको र त्यसलाई समाधान गर्न आवश्यक पहल गर्न गृह मन्त्रालयलाई जानकारी पठाइसकिएको उनले बताए।
जिल्लाको सिमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका मदिरा पसललाई कडाइ गर्न नेपाल प्रहरी हरेक युनिटलाई निर्देशन दिइसकेको उनले जानकारी दिए।