कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण बर्ष २०२० को सुरुवात सुर्खेतको बुलबुले तालबाट गर्ने भएको छ। जनवरी १ (पुस १६) गते बुलबुले उद्यानभित्र एक समारोहको आयोजना गरी भ्रमण बर्षको सुरुवात गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशको उद्योग मन्त्रालय, पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाले उद्घाटन कार्यक्रमको संयुक्त रुपमा आयोजना गर्नेछन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन कार्यक्रममको सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।
उद्घाटन कार्यक्रममार्फत प्रदेशका प्रमुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको तस्विर, ब्यानर तथा पोष्टरद्वारा प्रचारप्रसार गरिने छ भने प्रदेशको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमहरु गरिने मन्त्रालयले जनाएको छ।
यस्तै प्रदेशको छुट्टै पहिचान झल्किने गरी तयार गरिएको लोगो सार्वजनिक गरिनेछ भने भ्रमण बर्ष सफल पार्न खेलकुद कार्यक्रम पनि प्रस्तुत गरिनेछ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न प्रदेशभित्रका सबै जिल्ला समन्वय समिति, ७९ वटै स्थानीय तह, राजनीतिक दल, दलका भातृ संगठनहरु, युवा, उद्यमी, व्यवसायीहरुलाई समेत सहयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।
भ्रमण बर्षको सुरु दिन बाजागाजासहित र्यालीमार्फत वीरेन्द्रनगर बजार परिक्रमा गरी बुलबुले तालको दक्षिणी भागमा समारोह आयोजना गर्ने तयारी प्रदेश सरकारको छ।
सुर्खेत आउने पाहुनालाई स्वागत
भ्रमण बर्षको पहिलो दिन (जनवरी १) मा सुर्खेत आउनेहरुलाई स्वागत गर्ने योजना मन्त्रालयले बनाएको छ। मन्त्रालयका सचिव डा. कृष्ण प्रसाद आचार्यले उक्त दिन सुर्खेत भित्रिने यात्रुलाई स्वागत गर्ने तयारी गरिएको जानकारी दिए।
यस्तै उक्त विमानमार्फत सुर्खेत विमान स्थलमा अवतरण गर्ने यात्रुहरुलाई समेत फूलमालासहित स्वागत गर्ने तयारी गरिएको सचिव आचार्यले बताए। उनका अनुसार काठमाडौंदेखि सुर्खेतसम्म नियमित उडान भर्दै आएको बुद्ध एअरलाई प्रशंसा पत्र दिइनेछ।
उद्घाटन कार्यक्रमकै अवसरमा भर्खरै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण, रजत तथा कास्य पदक विजेता कर्णाली प्रदेशका खेलाडीहरुलाई सम्मान गरिने आचार्यले जानकारी दिए । अपाङ्गता भएका खेलाडीहरुलाई समेत सम्मान गरिनेछ।