हाल नियमित उडान हुँदै आएको कर्णाली प्रदेशको ठूलो विमानस्थलका रुपमा रहेको सुर्खेत विमानस्थल अवरुद्ध हुने अवस्था आएको छ।
विमानस्थल रहेको ९ मिटर जग्गा सडकको भएकाले खाली गर्नुपर्ने पत्र आएको नागरिक उड्ड्यन प्राधिकरण सुर्खेतका प्रबन्धक उमेशकुमार पन्थीले बताए। जग्गा खाली गरेपछि विमानस्थल अवरुद्ध हुने खतरा बढेको उनले बताए।
सडक डिभिजन कार्यालय सुर्खेतले बारम्बार सडकको ९ मिटर जग्गा खाली गर्न भन्दै पत्र पठाउने गरेको उनको भनाइ छ। जग्गा खाली गर्नुपरेको अवस्थामा विमानस्थलको रनवे सानो हुन जान्छ यसले विमान अवतरणका लागि ठाउँ नपुग्ने उनले बताए।
‘सडक डिभिजन कार्यालयले आफ्नो जग्गा खाली गर्न पत्र पठाइरहेको छ, उक्त जग्गा खाली गरेको खण्डमा विमान बस्न सक्ने अवस्था छैन,’ प्रवन्धक पन्थीले भने, ‘ठूला जहाज ल्याउँदा विमानस्थल वरिपरी बनाइएका अहिलेका संरचनाले पनि समस्या पार्ने देखिएको छ, यसका लागि सम्बन्धित पक्षको ध्यान जान जरुरी छ।’
सुर्खेत विमानस्थल विस्तारका लागि बारम्बार कुरा चलेपनि काम हुन भने सकेको छैन। हाल बुद्ध एअरले ४७ सिटे जहाजमार्फत सुर्खेत–काठमाडौं उडान गर्दै आएको छ।
‘सुर्खेतमा सूर्य रहेसम्म मात्र विमान चलाउन सकिन्छ, केही लगानी गर्न सकेमा रातिसम्म चल्ने बनाउन सकिन्छ,’ पन्थीले भने, ‘१५ अर्बको कुरा गर्नुभन्दा १५ लाख रुपैयाँ लगानी गरेर विमान परीक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्न सकेको खण्डमा तत्कालै एटीआर विमान उडान र अवतरण गर्न सकन्छि।’