महिना दिनअघि मैले जनकपुरको एउटा होटलमा रातो लुगा लगाएकी एक पातली महिला मुस्कुराउँदै अरूको कुरा सुनिरहेको देखें।
त्यहाँ जम्मा भएका महिलाहरूले आफ्नो आफ्नो परिचय दिँदै थिए। उनीहरू एक कार्यक्रममा आफ्ना अनुभव सुनाउन आएका रहेछन्।
ती पातली महिलाको पालो आयो उनले मैथिलीमा भनिन् - मेरो नाम मरणीदेवी हो। घर सिमरदही, महोत्तरी।
ओहो! यी पो हुन् भन्ने इशारा गर्दै मैले साथीलाई हेरें किनकी उनैले मलाई मरणीदेवीको थोरबहुत कथा सुनाएकी थिइन्।
भोलिपल्ट साँझ जानकी मन्दिरको छेउमा बसेर मरणीदेवी आफैंले सुनाएको पुरै कथा सुनें। मैथिलीमा उनले भनेको जीवन कथा उनका छोरा र बुहारीले मलाई नेपालीमा उल्था गरिदिए।
१८ वर्षअघिको त्यो घटनाले मरणीदेवीलाई बेलाबेला झस्काइरन्छ।
कसरी आफ्नै गाउँका मानिसले उनलाई पहिले बोक्सी भनेर हेलाहोचो गरे र पछि कुटपिट गर्दै मरणासन्न बनाए भनेर उनले आज पनि खरर्र भन्न सक्दिरहिछन्।
त्यो दिन गाउँमा पूजा थियो। गाउँकै एकजना बालकलाई मरणीदेवीले कपुर लिन पठाएकी थिइन्। बालकले कपुर ल्याएर आए मरणीदेवीलाई दिएर आफ्नो घर फर्किए। उनी त्यही दिनदेखि बिरामी परेछन्।
बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए। उनीहरूमात्र होइन बिस्तारै भएभरका सबै गाउँले नै उनीमाथि खनिए।
गाउँका प्रमुख थिए- नवल सहनी। उनले पञ्चायती बोलाए। मधेसमा गाउँभरिका गन्यमान्यको भेलालाई पञ्चायती भनिन्छ। पञ्चायतीले मरणीदेवीलाई बोक्सी घोषणा गर्यो।
पञ्चायतीको घोषणालाई धार्मिक अनुमोदन गराउन उनीहरूले भारतबाट एकजना ‘झाँक्री’ बोलाए।
२०५८ साल साउन ३० गतेको कुरा हो यो। भारतबाट आएका झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए। उनलाई दिएको खाने कुरा खाँदाबित्तिकै मरणीदेवी बेहोस भइन्।
बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए।
उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो। गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आए। उनको हात च्याप्प समाते र लतारे।
गाउँलेहरू जम्मा भइसकेका थिए। टोलबीचमा लगेर सहनी दाजुभाइले उनलाई बेहोस नहुन्जेल कुटपीट गरे। दुबैलाई धेरै गाउँलेले साथ दिए, नदिनेले पनि रमिता हेरेर बसे।
‘मलाई उनीहरूले लडाए, कुटपिट गरे मेरो आँखा फुटाउन हतियार उज्याए धन्न त्यो आँखा बाहिर बजारियो त्यसपछि मलाई कुनै कुरा याद छैन,’ उनले भनिन्।
बेहोस भएपछि मरी भन्ठानेर होला सहनी दाजुभाइले कुट्न छोडे। गाउँलेहरू लाखापाखा लागे।
त्यो बेलासम्म बोक्सी भनेर महिलालाई यसरी कुटपिट हुनु सामान्य थियो। देशैभरि यस्ता घटना भइरहन्थे।
त्यही समुदायमा त्यो खबर सनसनी हुन्थ्यो। केही समयमै मान्छेले बिर्सिन्थे। पीडित र उसको परिवारले अपमानित भएर जिन्दगी काट्नुपर्थ्यो।
मरणीदेवी बेहोस भएपछि त्यो गाउँको कोही मानिसको सायद होस खुल्यो। प्रहरीकहाँ उनले भनिदिए।
भोलिपल्ट बिहानै प्रहरी आयो। सहनी दाजुभाइ पक्राउ परे। उनलाई बोक्सी घोषणा गर्ने झाँक्री भने भागिसकेका थिए।
प्रहरीले उनलाई उठाएर अस्पताल पुर्यायो।
भोलिपल्ट।
काठमाडौंमा रहेका उनका कान्छा छोरा बिहानै चिया पसल पुगे।
कान्तिपुर दैनिकमा आएको मुख्य समाचारबारे चियाखान आउनेहरू गरमागरम बहस गरिरहेका थिए। उनले पनि पत्रिका उठाए।
उनकी आमालाई बोक्सीको आरोपमा कुटपिट गरेको समाचार ठूल्ठूला अक्षरमा कोरिएको थियो।
‘पत्रिकाको पहिलो समाचार पढेरै मलाई चक्कर आउलाजस्तो भयो,’ जानकी मन्दिर छेउमा तीन हप्ताअघिको एक साँझ उनले त्यो दिन सम्झिए, ‘त्यतिबेला गाउँमा फोन थिएन। पत्रिका पनि नपढेको भए कहिले थाहा पाउँथें कुन्नि आमाको समाचार?’
उनी कामधन्दा छोडेर सिधै बसपार्क पुगे, जलेश्वर जाने गाडी चढेर।
नेपालको मूलधारे पत्रकारिताले त्यो बेलासम्म बोक्सीको आरोपमा कुटाइ खानेको समाचारलाई पहिलो पृष्ठमा ठाउँ दिन्नथ्यो।
‘सायद त्यो पहिलो समाचार थियो बोक्सीको आरोपमा कुटपिट भएको घटनाले कान्तिपुरमा मुख्य समाचारको ठाउँ पाएको,’ मेरी साथीले भनेको यही कुराले मलाई मरणीदेवीको कथा सुन्न रूची जगाएको थियो।
कान्तिपुरले काठमाडौंबाट मरणीदेवीको गाउँमा सिनियर रिपोर्टर खटायो। त्यसपछिका केहीदिन लगातार मरणीदेवीको कथा कान्तिपुरमा छापियो।
उता जलेश्वर अस्पतालबाट उनलाई जनकपुर अञ्चल अस्पताल रिफर गरिएको थियो। उनको होस पाँच दिनपछि खुल्यो। उनको वरिपरि श्रीमान् र छोरा थिए। उनको मन केही शान्त भयो। शरिर भने दुखिरहेको थियो।
सोधिखोजी गर्न सिडिओ र प्रहरी आए। त्यति ठूला मानिस आफूलाई भेट्न आएको कुरा मरणीदेवीलाई पत्याउन गाह्रो भयो। त्यो कुराले दुखिरहेको मनमा मल्हमको काम गर्यो। त्यो अझै उनले बिर्सिएकी छैनन्।
‘मलाई प्रहरी र सिडिओले निकै ख्याल गर्नुभयो। त्यो कुराले म निकै खुसी भएँ र ढुक्कले गाउँ फर्किएँ,’ उनले सम्झिइन्, ‘तपाईंलाई यस्तो गर्नेलाई हामीले कारबाही गर्छौं जेल हाल्छौं भन्नुभएको थियो।’
सन्चो हुँदै गएपछि अस्पतालले डिस्चार्ज गरिदियो।
शरीर र आत्मसम्मानमाथिको आघातले कमजोर भएकी मरणीदेवी गाउँ फर्किइन्।
बोक्सी भनेर कुटपिट गर्ने मुख्य मानिस पक्रिएपछि र पत्रिकामा समाचार आएपछि सिंगो गाउँ भने थर्कमान भएको थियो।
गाउँमा फर्किँदा उनलाई परपरबाट मानिसहरूले हेरे। कोही पनि सन्चोबिसन्चो सोध्न नजिक भने आएनन्।
घरमा आराम गरिन्। प्रहरी, सिडिओ, मिडिया र सचेत नागरिकले दिएको बलले उनको मन पनि फर्कँदै गयो। तंग्रिएपछि उनी फेरि घरको चौखट नाघेर निस्किन थालिन्।
उनले घरको चौखट नाघेको यो पहिलो पटक थिएन। त्यो घटनाको २५ वर्षअघि नै समाजको लागि काम गर्ने शपथ लिएकी थिइन्।
त्यतिबेला उनका कान्छा छोरा भर्खर जन्मिएका थिए। गाउँ विकास समितिले स्वास्थ्य स्वयंसेविका तालिमका लागि महिलाको खोजी गर्यो। गाउँमा कोही पनि महिला तयार भएनन्।
मरणीदेवीले आफ्ना पतिलाई सोधिन्- म तालिम लिन जाउँ?
उनले सजिलै हुन्छ भने।
त्यसपछिका २५ वर्ष उनले स्वास्थ्य स्वयंसेविका भएर गाउँका महिला र बच्चाको हेरचाह गरेकी थिइन्। नजाने कतिवटा सुत्केरी गराइन्।
बालबच्चा र घर सम्हाल्दै उनी समाजको सेवामा खटिन्थिन् तर तिनै मरणीदेवीलाई ‘बोक्सी’ भन्न समाजले कत्ति पनि लाज मानेन।
उनले किन मानून्? त्यसैले फेरि निस्किइन्।
सुरूमा कतिले उनको विरोध गरे। उनी रोकिइनन्। आफ्नो काम गर्न थालिन्। उनको दैनिकी पहिलेजस्तो थियो। तर उनको जीवन भने पहिले जस्तो रहेन।
एकदिन काठमाडौं जानुपर्यो भन्दै केही मानिस घर आए।
‘मैले मान्छे बिर्सिएँ कुनै संस्थाले बोलाएको थियो मानवअधिकारले हो कि,’ उनले भनिन्, ‘मलाई काठमाडौं अनि मेरोबारे समाचार बनाउने पत्रिका कहाँबाट आउँछ भन्ने हेर्ने मन थियो।’
आफूजस्तै गाउँकी सामान्य महिलाको कुरा पत्रिकाकामा छापिनेरहेछ भन्ने थाहा पाउँदा उनी छक्क परेकी थिइन् रे। त्यही पत्रिकामा लेखेकोले आफूले न्याय पाएको उनी ठान्दिरहिछन्।
‘झाँक्री र मलाई कुट्ने १७ जना मानिसलाई प्रहरीले पक्रिनै सकेन, सहनीका दाजुभाइसँगको मुद्दा अघि बढेको पनि समाचार आएर हो,’ उनले सम्झिइन्,‘पत्रिकाले लेखेको भएर मलाई गाउँमा शिर उठाएर हिँड्न सजिलो भएको थियो।’
मरणीदेवी काठमाडौं आइन्। उनलाई बोलाइएका कार्यक्रममा गइन्। सबभन्दा खुसी उनलाई तब लाग्यो जब कान्तिपुर दैनिकको कार्यालयमा जान पाउने खबर आयो।
उनलाई पत्रिकाका सम्पादक युवराज घिमिरेले आफ्नो कार्यालय घुमाए।
‘म खुब खुसी भएँ। त्यहाँ गएर मैले पत्रकारहरू कस्ता हुने रहेछन् भनेर देखें,’ उनले भनिन्।
उनी कान्तिपुर कार्यालयमा आएको समाचार भोलिपल्टको हेडलाइन बनेको थियो।
‘मरणीदेवीमाथि भएको अन्यायबारे हामीले पहिलो पृष्ठमा समाचार छापेका थियौं सुरूदेखि नै। यो सायद पहिलो घटना हो मूलधारको राष्ट्रिय दैनिकमा बोक्सीको आरोपमा कुटिएकी महिलाको समाचार हेडलाइन बनेको,’ कान्तिपुरका तत्कालीन सम्पादक घिमिरेले भने, ‘उहाँ यहीँ आएर पत्रिकाको कार्यालय भ्रमण गरेको समाचार पनि हामीले पहिलोपृष्ठमै छाप्यौं।’
त्यो बेलासम्म कान्तिपुरमा सरकारका मन्त्रीको भ्रमण हेडलाइन बन्ने गरेको सम्झना उनलाई छ। यो पहिलोपटक थियो भूइँमान्छेले गरेको भ्रमण पनि हेडलाइन बनेको।
मरणीदेवीको घटना यस्तो हो जसले बोक्सीप्रथाविरूद्ध राष्ट्रिय रूपमा जनदबाब सिर्जना गर्न राज्यलाई बाध्य पार्यो। अहिले बोक्सीको आरोप लगाएर महिला हिंसा वा हिंसा गर्नु फौजदारी अपराध मानिन्छ।
मरणीदेवीमाथी बोक्सीको आरोप लगाउनेविरूद्ध प्रहरीले त्यतिबेला अदालतमा मुद्दा लगेको उनले बताइन्।
‘म जिल्ला अदालत पनि गएर बयान दिएकी थिएँ। अदालतले यो मुद्दामा के गरेको छ अहिले केही थाहा छैन,’ उनले भनिन्।
उनी अहिलेसम्म बोक्सी प्रथाविरूद्ध बोल्न छोडेकी छैनन्। अचेल ठाउँठाउँमा गएर आफ्नो कथा सुनाउँछिन् र बोक्सीप्रथा विरूद्ध आवाज उठाउँछिन्।
‘मलाई आफ्नो कथा सुनाउन ठाउँठाउँमा जान पाउँदा खुसी लाग्छ,’ उनले भनिन्।
नयाँ ठाउँमा जाँदा धेरै मान्छे भेटेपछि उनलाई लाग्छ रे- अब समय बदलिँदै छ।
केही समयअघिसम्म उनी गाउँमा स्वास्थ्य स्वयंसेविका थिइन्। गाउँका महिला र बालबालिकाको हेरचाह उनले अझै गर्छिन्।
‘अहिले त सबैले मलाई आमा भनेर बोलाउँछन्। मानसम्मान गर्छन्,’ उनले भनिन्, ‘मलाई बोक्सी भनेर यातना दिने गाउँलेहरू अचेल पछुतो मान्छन्। मलाई त्यही कुराले सन्तोष मिल्छ।’
दुई वर्षअघिमात्र उनलाई काठमाडौंको एक संस्थाले सम्मान गरेको थियो। क्षेत्रपाटी निःशुल्क चिकित्सालय काठमाडौंले उनलाई ७५ हजार रूपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो। सम्मान कार्यक्रममा मन्त्री आएका थिए। मन्त्रीको मुखबाट आफ्नो प्रशंसा सुन्दा मरणीदेवीको मन सन्तोषले भरिएछ।
जानकी मन्दिर छेउमा बसेर उनको कथा सुनिसकेपछि मैले फोटो खिच्न मोबाइल उठाएँ। उनी मुसुक्क हाँसिन्।
आफ्नो जिन्दगीका यस्तै दु:खसुख बाँड्न उनी जनकपुर आएकी रहिछन्।
उनले आफूसँग बुहारीलाई पनि लिएर आएकी थिइन्। अचेल गाउँको स्वयंसेविका पनि कान्छी बुहारी नै भएकी छन्। उनलाई देखाउँदै मरणीदेवीले भनिन्- बुहारीलाई घरको काममा मात्रै अल्झाएर राख्न भएन। म पनि बूढी भएँ अब उसले काम गरोस् उसको जिन्दगी बाँकी छ।
उठ्ने बेला उनले केही सम्झिइन्। भन्न खोजिन्।
‘अहिले हामीलाई मिलाइदेऊ भन्दै त्यतिबेलाका सहनी दाजुभाइले गाउँलेलाई भन्छन् रे,’ उनले भनिन्, ‘मलाई उनीहरूसँग बोल्न मन लाग्दैन।’