‘फोन राख राख... यहाँ आतंकवादी आएजस्तो छ।’
मंगलबार बेलुकी गोरखा नगरपालिका-५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने।
अर्जुनले यति भन्नासाथ कल काटियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्। प्रार्थना गरिन्- नराम्रो केही नहोस्। उनलाई आश थियो-एकछिनमै म्यासेन्जरमा फेरि श्रीमानको फोन आउनेछ।
घन्टा बित्यो। रात सकियो। बुधबार बिहान भयो। तर अर्जुनको फोन आएन।
सरिताले तारन्तार फेसबुक स्क्रोल गरिरहिन्। अहँ, अर्जुनको प्रोफाइल पिक्चरमा फेसबुकले हरियो देखाउँदै देखाएन। उनको मोबाइल पनि स्विच अफमात्र भनिरह्यो।
बुधबार बिहान अर्जुनका साथीको मोबाइलबाट सरितालाई एउटा एसएमएस आयो। लेखिएको थियो- दु:खद खबर छ।
म्यासेज पढेर सरिताको मन चिसो भयो।
एकछिनमा त फोन नै आयो।
सरितासँग कुरा गरेको केही समय नबित्दै अर्जुनलाई गोली लागेछ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दका अनुसार पाकिस्तानी सेनाले भारतीय भूमिमा छिर्ने प्रयास गरेकाले खारी थरेत जंगलमा दुबै पक्षबीच गोलाबारी भएको थियो। सोही गोलाबारीको संकेत पाएर अर्जुनले श्रीमतीसँग फोन काटेका थिए।
अर्जुन १० दिनअघि मात्र घरबाट कस्मिरका लागि हिँडेका थिए। ११ कक्षा पढ्दापढ्दै इन्डियन लाहुरे भएका उनी महिना दिनको छुट्टीमा आएका थिए।
घरका एक्ला छोरा अर्जुन र सरिताबीच गत असारमा विवाह भएको थियो।
‘म्यासेन्जरमा कुराकानी भइरहेको थियो। एक्कासी फोन राख यहाँ आतंकवादी आएजस्तो छ भन्नुभएछ,’ अर्जुनकी श्रीमती सरितालाई उद्धृत गर्दै उनकी छिमेकी सानु थापा मगरले सेतोपाटीसँग भनिन्, ‘त्यसपछि अर्जुन बाबु सम्पर्कमा आउनुभएन। अनलाइन पनि आउनुभएन। फोन पनि लागेन। पछि साथीले एसएमएस गरेर दु:खद खबर छ मात्रै भन्नुभएको थियो।’
एक महिना गाउँ बसेर केही दिनअघिमात्र फर्किएका कलिला अर्जुनको मृत्युको खबरले रिप गाउँ शोकमा डुबेको छ।
‘त्यस्तो काम त केही थिएन तैपनि एक महिनाका लागि अर्जुनबाबु छुट्टीमा आउनुभएको थियो। गएको दुई साता नहुँदै नराम्रो खबर सुन्नुपर्दा गाउँ नै शोकमा छ,’ उनले भनिन्।
अर्जुनकी आमा बितिसकेकी छन्। घरमा उनका बुवा, श्रीमती र एक बहिनी छन्।
भारतीय सेनाले शव बुझ्न काँकडभित्ता आउन भनेको छ। अर्जुनका बुबा र सरितासहित केही गाउँले काँकडभित्ता गएका छन्।
‘आमाले छाडेर गइसक्नुभयो। अर्जुनबाबु पनि हुनुहुन्न भन्ने खबर छ,’ सानुले भनिन्, ‘उहाँ सानैदेखि मिलनसार हुनुहुन्थ्यो। राम्रो मान्छेलाई भगवानले चाँडै लैजाने रहेछ।’
गत वर्ष नरेन्द्र मोदी सरकारले जम्मु कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरिदिएपछि भारत-पाक सम्बन्ध तनावपूर्ण रूपले अघि बढिरहेको छ।
जम्मु कस्मिरको लाइन अफ कन्ट्रोलमा बेलाबेलामा दुबै देशका सेनाबीच गोलाबारीका घटना भइरहन्छन्। सुरक्षा व्यवस्था कायम राख्न जम्मु कस्मिरमा भारतले सुरक्षाकर्मी पहिलाभन्दा थपेको छ। त्यसमा भारतीय सेनाको गोर्खा रेजिमेन्ट सैनिकहरू पनि धेरै छन्।
यो पनि पढ्नुस्:
कास्मिरमा सैनिक भिडन्तमा मर्ने जवान गोरखाका अर्जुन थापामगर