प्रदेश प्रहरी कार्यालय हेटौडाको १२ घन्टे पत्रको बेवास्ता गर्दै चितवनमा कार्यरत् प्रहरी उपरीक्षक दानबहादुर मल्लले जिल्ला छोड्न इन्कार गरेका छन्।
जिल्लाबाट सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएको थियो। सो निर्देशन पनि नमानिकन मल्ल चितवन जिल्ला प्रहरीमै बसेका हुन्।
मल्ललाई प्रदेश प्रहरी कार्यालयले दिएको निर्देशन बिहीबार १२ बजे सकिएको छ। तैपनि मल्ल चितवन जिल्ला प्रहरीमै छन्। उनले सरूवा कार्यान्वयनको चिठी ‘रवाना’ बुझेका छैनन्।
पुस १४ गते उनको सरूवा चितवनबाट त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा भएको थियो। नियमित सरूवा अन्तर्गत प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा निर्णय गर्दै मल्ललाई विमानस्थल सुरक्षा कार्यालयमा पठाएको थियो।
मल्लको ठाउँमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा कार्यरत् पन्तलाई इन्टरपोल शाखाले ‘रवाना’ दिएको छैन।
मल्ललाई चितवनमै राख्ने योजनामा उच्च राजनीतिक नेतृत्वले दबाब दिएसँगै इन्टरपोल शाखाले पन्तलाई पनि ‘रवाना’ नदिएको हो।
‘मलाई संगठनले सरूवा गरेको हो। म कार्यरत् ठाउँबाट रवाना दिइएको छैन,’ पन्तले सेतोपाटीसँग भनिन्, ‘म कार्यरत् ठाउँले ‘रवाना’ नदिएपछि असजिलो परिस्थिति नआओस् भनेर चितवन गएकी छैन।’
‘रवाना’ दिइए आफू सरूवा भएको ठाउँमा गइहाल्ने उनले बताइन्। इन्टरपोल शाखाको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश जोशीले गरेका छन्। जोशीले यसबारे प्रतिक्रिया दिएनन्।
राजनीतिक शक्तिकेन्द्रको आडमा मल्लले जिल्ला छाड्न नमानेपछि पन्तले चितवन जान नपाउने अवस्था सिर्जना भएको हो।
पुस ४ गते सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्।
मल्ल कार्यरत् चितवनमा प्रहरी उपरीक्षक पन्तको सरूवा भएसँगै आइतबार चितवन जाने तयारी गरेकी थिइन्।
तर, मल्लले जिल्ला नछोडेपछि उनी आइतबार गइनन्। मल्ललाई प्रदेश ३ प्रहरीले १२ घन्टे पत्र दिए पनि उनले चितवन नछोडेपछि पन्त इन्टरपोल शाखामै हाजिर गरिरहेकी छिन्।
साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ। सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्ने नियम रहेको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षत्री बताउँछन्।
मल्लका नाममा पत्र काट्ने ३ नम्बर प्रदेश पनि निर्देशन कार्यान्वयन नभएबारे मौन देखिएको छ। प्रदेश ३ का प्रमुख डिआइजी शेरबहादुर बस्नेतले आफ्नै कार्यालयले काटेको पत्रमाथि प्रतिक्रिया जनाएनन्।
एसपी मल्लले भने आफू दिनभर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिएको बताए। दाहाल बिहीबार बिहान सौराहको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए।
एसपी मल्लले १२ घन्टे पत्रमा बोल्न मानेनन्। ‘यसबारे मैले बोल्नु केही छैन,’ उनले भने, ‘मेरो कार्यालयको प्रवक्तासँग सोध्नू।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले मल्लले सरूवाको चार्ज नबुझेकोबारे प्रतिक्रिया दिएनन्। ‘एसपीसाहेबसँगै बुझ्नुहोला,’ उनले भने।
प्रहरीमा सरूवा नमान्नु भनेको ‘चेन अफ कमाण्ड’लाई नै चुनौती दिनु मानिन्छ।
यो भनेको प्रहरी संगठनको अनुशासनविपरीत भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षत्रीले बताए।
उनले मल्ललाई १२ घन्टे निर्देशन दिइएकोबारे थाहा भएको जनाउँदै भने, ‘अनुशासन उल्लंघनको कुरा मैले सिकाइरहन परेन, सोबारे प्रदेश कार्यालयले जनाउ दिइसकेको छ। हामीले संगठनको नियम कानुनअनुसार कारबाही गर्छौं।’
‘चेन अफ कमाण्ड नै नमान्ने भन्ने त प्रहरीको इतिहासमा छैन, हुन पनि हुन्न,’ पूर्वडिआइजी केशव अधिकारीले भने, ‘त्यस्तो प्रहरीलाई संगठनले माया गरिरहन जरूरी हुन्न।’
अधिकारीले प्रहरी आफैं कानुन कार्यान्वयनको निकाय भएकाले आफैंभित्रबाट सुशासन खोज्नुपर्ने उनले बताए।
एसपी मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहालका पूर्वबडिगार्ड हुन्। डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए।
दाहालको सुरक्षाबाट हटेपछि उनी डिएसपी रहँदा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा सरूवा भए। दरबारमार्ग आकर्षक पोस्टिङ मानिन्छ।
प्रहरी उपरीक्षक बढुवा भएपछि उनी चितवन जिल्लामा सरूवा भएका थिए। चितवन जिल्ला आकर्षक मानिन्छ। उनलाई सरूवा गरिएको विमानस्थल सुरक्षा पनि कम आकर्षक ठाउँ भने हैन।
साधारणतया एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो। १२ घण्टे सरुवा पत्र पनि लत्याएका एसपी मल्ल भन्छन्, ‘मलाई यसबारे बोल्नु छैन।’
यो पनि