एक महिनापछि अर्थात् माघ २९ गते नेपाल प्रहरीका आइजिपी र एआइजीहरूले तीसवर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउँदैछन्।
उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका र हाल विशेष व्यवस्थाबाट डिआइजी बनाइएका राजेन्द्रमान श्रेष्ठ पनि विदा हुँदैछन्, जसको दैनिक जीवनमा यो घटनाले कुनै फरक पार्ने छैन।
राजेन्द्रमानको जस्तो परिस्थिति प्रहरी संगठनमै अनौठो भएकाले ओहोदामा रहँदा संगठनबाट प्राप्त गर्दै आएको भरथेग अब के हुन्छ भन्ने जिज्ञासा खडा भएको छ।
साढे तीन वर्षअघि अचानक हृदयगति बन्द भएको र केही मिनेटमा फेरि सञ्चालन हुँदा, बीचमा रक्तसञ्चार रोकिएकाले श्रेष्ठको मस्तिष्कसम्म अक्सिजन पुग्न सकेन। त्यसैको फलस्वरूप उनी 'लक्ड इन सिन्ड्रोम' मा बाँच्दै आएका छन्।
चिकित्सकहरूका अनुसार आफू वरपर भएका कुरा उनले देखिरहेका र सम्भवतः बुझिरहेका हुन्छन्। तर मस्तिष्क र शरीरका अंगहरूबीच सञ्चार अवरुद्ध भएकाले उनको शरीरले कुनै प्रतिक्रिया जनाउँदैन।
यो अवस्थामै ०७४ भदौ ५ गते विशेष व्यवस्था गरेर श्रेष्ठलाई डिआइजी बढुवा सिफारिस गरिएको थियो। तत्कालीन आइजिपी प्रकाश अर्यालले अस्पतालै पुगेर उनलाई फुली लगाइदिएका थिए।
तीस वर्ष प्रहरी संगठनमा हाकिम भएर बसेका उच्च अधिकृतहरूलाई एकाएक कार्यालय छाडेर घर फर्कनुपर्ने क्षण पक्कै नमिठो हुन्छ। तर, आफ्ना बाँकीका साथीभन्दा बेग्लै राजेन्द्रमान श्रेष्ठ पूर्ववत् अस्पतालको बेडमै रहनेछन्।
जस्तो, बिहीबार बेलुकी। महाराजगन्जस्थित प्रहरी अस्पतालको बेडमा रहेका श्रेष्ठले अचानक खोके।
'अस्ति सोमबार मात्रै घाँटीको ट्राकोस्टोमी फेरेको थियो, जसले अलि समय चिसो, एलर्जी र इन्फेक्सनको समस्या देखाउने गर्छ,' आराधना राणा श्रेष्ठले पतिलाई सम्हाल्न खोज्दै भनिन्, 'यस्तो बेला ज्वरो पनि आउँछ।'
घाँटीमा सोझै जोडिएको यन्त्र 'ट्राकोस्टोमी'ले स्वासप्रश्वासदेखि नाक र मुखबाट निस्कने विकारहरू जम्मा गर्ने काम गर्छ। यो उपकरण प्रत्येक चार महिनामा फेर्नुपर्ने हुन्छ।
श्रीमती श्रेष्ठले पतिको काखीबाट थर्मामिटर झिकिन् र भनिन् '९९.८ डिग्री'।
'ज्वरो आएपछि अब आज थेरापी नहुने भयो,' छेउमै राखिएको नोटबुकमा विवरण टिप्दै उनले भनिन्, 'भरे डाक्टरले आएर सबै हेरेपछि कसरी अगाडि बढ्ने भनेर निधो हुन्छ।'
श्रेष्ठको शरीरमा श्वासप्रश्वासबाहेक खाना दिन पेटमा प्वाल पारेर 'पेग' जडान गरिएको छ। त्यसैबाट झोलको स्वरुपमै खानेकुरा, पानी र औषधिसमेत दिइन्छ।
'उहाँलाई दिइने खानेकुरा र मात्राअनुसारको प्रोटिन नापेर सबै अस्पतालले नै दिइरहेको छ,' श्रीमती श्रेष्ठले जानकारी दिइन्।
त्यसैगरी शरीरमा पम्प पनि हालिएको छ। त्यसलाई हरेक ४५ दिनमा विदेशबाट औषधि ल्याएर 'रिफिल' गर्नुपर्छ। त्यो पम्पले निरन्तर औषधि प्रवाह गरेर शरीरका अंग कडा हुनबाट जोगाउँदो रहेछ।
हरेक दिन तीन-चारपटक थेरापी गर्ने र तेल लगाउने काम चलिरहेको छ। यति गर्दा पनि दाहिनेतर्फको खुट्टा 'ड्रप' (मोडिने) भइसकेको छ।
महाराजगन्जस्थित प्रहरी अस्पतालका तमाम सेवाबाहेक ग्रान्डी अस्पतालका न्यूरो फिजिसियन डा. राजु पौडेल र वीर अस्पतालका सर्जन डा. प्रकाश विष्ट नियमितजस्तो आइरहेको जानकारी पनि श्रीमती श्रेष्ठले दिइन्।
...
०७३ साउन १५ गते, जति बेला तत्कालीन एसएसपी राजेन्द्रमान धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दाखेल्दै अचानक लडेका थिए, त्यसै क्षण म पर्सा जिल्लाको थरूहट भेगमा थिएँ।
यो त्यही सोनवर्षा गाविस थियो, जसको अर्थतन्त्र कुनै समय गाँजाले धानेको थियो।
गाँजाका बोरा थुपारिने गाउँलेका आँगनमा त्यति बेला सूर्तिका पात सुकाइरहेको देख्न सकिन्थ्यो।
'सूर्य टोबाकोले रोप्नुअगावै पैसा दिने गरेको छ,' उनीहरू भन्दै थिए, 'गाँजा जति त होइन, तर नगदेबालीका रूपमा सूर्तिले हिजोआज हाम्रो खर्च जुटाउन सुरू गरेको छ।'
कुनै समय पर्सा जिल्ला र गाँजा आपसमा यसरी जोडिएको थियो, एकदिन यहाँ यसको खेती ठप्पै हुन्छ भनेर कसैले चिताएका पनि थिएनन्। परम्परादेखि चल्दै आएको गाँजा खेतीलाई २०३२ सालको लागूऔषध ऐनले पनि रोक्न सकेको थिएन।
स्थानीय राजनीति, प्रहरी, प्रशासन, सञ्चारकर्मीदेखि गुण्डागर्दी समेतलाई आफ्नो प्रभावमा लिँदै आएको यसको खेती लरोतरो कोही एक जनाले चाहँदैमा रोकिने थिएन। यहाँ उत्पादन हुने गाँजा र चरेस निम्ति पहिले सीमापारको भारतीय बजार मात्र थियो। पछिल्लो समय यसले रोपाइँपूर्व नै उतैबाट गतिलो अग्रिम लगानीसमेत भित्र्याउन सुरू गरेको थियो।
कुनै पनि प्रहरीका अधिकृतले देखाउनकै निम्ति थोरै गाँजा काटेजस्तो गरिदिने र बाँकी समय आँखा चिम्लिने हो भने वर्षमा तीन करोड रुपैयाँ त गाँजाबापत घुस मात्रै मिल्ने गरेको उति बेलाका जिल्ला प्रहरी प्रमुखहरू स्वयं बताउँथे।
यस्तो अवस्थामा २०६६ मंसिर महिनामा एक जना यस्ता जिल्ला प्रहरी प्रमुख पर्सा आए, जसले असम्भव भनिएको गाँजा खेती उन्मूलनलाई केही महिनामै कार्यान्वयन गरेर देखाए। ती प्रहरी अधिकृत अरू कोही नभएर तत्कालीन एसपी राजेन्द्रमान श्रेष्ठ नै थिए।
'राजेन्द्रमान श्रेष्ठले रोकेको र उनीलगत्तैका एसपी रमेश खरेलले फेरि अघि बढ्न नदिएकै कारण पर्सा जिल्लाबाट गाँजाखेती निमिट्यान्नै भएर गयो,' सोनवर्षाका कृषक भन्दै थिए, 'हिजोआज यस भेगमा मकवानपुरबाट फाट्टफुट्ट ओसारपसार चलिरहेको भए पनि यो जिल्लामा गाँजा खेती एक ठाउँमा पनि भेट्न मुश्किल पर्छ।'
नतिजा निस्कने गरी काम गरेर देखाउने तर प्रचारप्रसारमा उत्तिको आउन नरूचाउने राजेन्द्रमान श्रेष्ठले पर्साको गाँजा मात्र नियन्त्रण गरेका थिएनन्।
जति बेला मधेसमा भूमिगत समूहहरूको आपराधिक गतिविधि चुलीमा पुगेको थियो, त्यति बेला एकपछि अर्को मधेसका जिल्ला सम्हाल्दै हिँडेका उनले त्यहाँका सर्वसाधारणलाई त्रासमुक्त पनि बनाउँदै गएका थिए।
वीरगन्ज कमर्स कलेजका संस्थापक एवं स्थानीय गुरू सुशील भट्टराई राजेन्द्रमानको प्रशंसा गरेर कहिल्यै थाक्दैनन्। किनभने, उनले त्यो कहालीलाग्दो दिन भोगेका छन्।
शिक्षण संस्था चलाइरहेका सुशील जब कलेज पुग्थे, उनको कार्यकक्षभित्र पहिल्यै कोही आएर बसिसकेको हुन्थ्यो। सोफामा ढसमस्स, हेर्दै सोमत नभएको पाराले। उनी कुर्सीमा बस्न नपाउँदै त्यो अपरिचित उठ्थ्यो, ढोका लगाउँथ्यो र पाकेटबाट पेस्तोल निकालेर उनको टेबलमा राख्थ्यो।
त्यसपछि मोबाइलमा नम्बर डायल गर्दै भन्थ्यो, 'ल हाम्रो फलाना भूमिगत नेतासँग कुरा गर्नुहोस्।'
कुरा गर्न माने पनि सुख थिएन, नमाने पनि सुख थिएन। त्यो अपरिचित भने अगाडिको पेस्तोल घरि समात्ने त घरि टेबलमा राख्ने गरिरहन्थ्यो।
'त्यो बेला पुस्तौंदेखि वीरगन्जमा बसोबास गर्दै आएका असंख्य परिवार पलायन भएर अन्यत्र गए,' सुशील सुनाउँछन्, 'सक्नेजति काठमाडौं गए, नसक्ने हेटौंडा र त्यो पनि नभ्याउनेहरू महेन्द्र राजमार्ग वरपरका बस्तीतिर।'
स्वयं प्रहरीमा पनि संदिग्ध चरित्र भएका व्यक्ति देखा पर्न लागेका बेला कसलाई पत्याउने र कहाँ गुनासो गर्ने भन्ने ठाउँसमेत नपाएको सुशील सम्झना गर्छन्।
त्यति बेला फिरौती निम्ति जिल्ला प्रमुख रहेका एक जना एसपी नै अपहरणमा संलग्न भेटिएपछि सम्पूर्ण वीरगन्ज कामिरहेको थियो।
'हो, यस्तो बेला आएका थिए एसपी राजेन्द्रमान,' सुशील सुनाउँछन्, 'त्यो समयको भयानक उपद्रो थामथुम पार्ने र पर्सा जिल्लाबाट गाँजा खेतीको दाग मेट्नमा उनको योगदान यहाँका बासिन्दाले कहिल्यै बिर्सन सक्दैनन्।'
पर्सा जिल्लामा लामो समयदेखि प्रहरीकै अगुवाहरूले संगठन बिगार्दै आइरहेकोमा आफू आएपछि सबैभन्दा पहिलो सुधार संगठनभित्रै गर्नुपरेको राजेन्द्रमानले यस संवाददातालाई त्यति बेला बताएका थिए।
'मलाई वीरगन्ज पुग्नेबित्तिकै त्यति बेला त्यहाँ सक्रिय २५ भन्दा बढी भूमिगत संगठन बरू त्यति चुनौतीपूर्ण लागेन,' उनले भनेका थिए, 'त्योभन्दा ठूलो चुनौती मेरो आफ्नै संगठनभित्र युगौंदेखि थुपारिएका खराबी कसरी सुधार्ने भन्ने थियो।'
त्यति बेला वीरगन्जको सार्वजनिक स्थानमै सबैले देख्ने गरी आफ्नै सहकर्मी प्रहरीलाई पिट्ने, कतिपयलाई जागिरबाटै हटाउने र कतिपयलाई अझ जेलमै पठाउनेसम्मका काम राजेन्द्रले गर्नुपरेको थियो।
जुन वीरगन्जमा एकपछि अर्को आपराधिक घटनाबाट त्रस्त व्यापारीहरूले कसैको फोन नउठाउने मात्र होइन, सहरै छाडेर जान सुरू गरेका थिए, त्यस्तो ठाउँमा राजेन्द्रमान (पछि रमेश खरेल पनि आएपछि) ले सहरलाई पुरानै गतिमा फर्काइदिएका थिए।
त्यसको जस अहिले पनि वीरगन्जले एक स्वरबाट यी दुई बहादुर प्रहरी अधिकृतलाई दिँदै आएको छ।
कुनै समय माओवादीले एकपछि अर्को स्थानमा आक्रमण गरिरहँदा यसरी प्रहारमा परेको जिल्ला सम्हाल्न राजेन्द्रमान पुग्थे। बेनी आक्रमणलगत्तै त्यहाँको जिल्ला प्रहरी प्रमुख भएर मात्र उनी गएनन्, गोरखा र दोलखा लगायत जिल्लालाई माओवादी प्रभावका हिसाबले 'क' वर्गबाट 'ख' मा झार्न महत्वपूर्ण योगदान पनि दिए। दोलखामा प्रहरी प्रमुख रहँदा त उनी एम्बुसमै परेर बाँचेका थिए।
माओवादी र मधेसका भूमिगत गतिविधि मात्र होइन, एसएसपी भएपछि पनि पहिलो जिम्मेवारी पाएको ललितपुरमा युनिटीका मालिक काशी गुरूङलाई भारतदेखि पक्रेर ल्याउने काम उनैले गरेका थिए।
हाल भारतका वरिष्ठ प्रहरी अधिकृतसँग उतिबेलै आइपिएस तालिममा रहँदा हिमचिम बढाएका राजेन्द्रमानले सीमापार अपराधमा संलग्न वा भागेर उता जाने ठूला अपराधीलाई फिर्ता ल्याउन बारम्बार महत्वपूर्ण भूमिका खेले।
त्यसपछि लामो समय नयाँदिल्लीस्थित नेपाली दूतावासमा सुरक्षा प्रमुखका हैसियतले जिम्मेवारी सम्हाल्न पुगेका राजेन्द्रमानले स्वदेश फिर्नेबित्तिकै विराटनगरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्र प्रमुख भएर काम गर्दै थिए।
त्यसै क्रममा नियतिले अचानक क्रुर खेल राजेन्द्रमानसँग खेलेको थियो।
...
पूर्व एआइजी देवेन्द्र सुवेदी राजेन्द्रमानलाई संगठनभित्रका सहकर्मी मात्र नभई, भाइका रूपमा समेत नजिक राखेर व्यवहार गर्ने गरेको सुनाउँछन्।
आफूभन्दा जुनियर अधिकृत भए पनि कुनै समय देवेन्द्र र राजेन्द्रमानले सँगै तालिम लिएका रहेछन्। नेपालका अब्बल प्रहरी अधिकृतलाई भारतमा दिइने आइपिएस तालिमबारे पनि उनको रोचक अनुभव रहेछ।
'त्यो तालिम निम्ति भारतमा जस्तै तह मिलाउन नेपालबाट डिएसपी पठाउनुपर्ने थियो,' देवेन्द्र भन्छन्, 'हामी त्यति बेला इन्स्पेक्टर नै थियौं।'
यस्तो बेला प्रहरी प्रधान कार्यालयले आफूहरूलाई डिएसपीको फुली प्रदान गरेको उनी सम्झना गर्छन्।
'मेरो बढुवाको पालो भइसकेकाले भारतबाट फर्कनेबित्तिकै म डिएसपी नै भएँ,' उनले सुनाए, 'राजेन्द्रमान र रमेश खरेलहरूले भने लगाइसकेको डिएसपीको फुली फर्केर आएपछि फिर्ता बुझाउनुपरेको थियो।'
सुवेदीका अनुसार कुनै तालिमकै कारण एकपटक डिएसपीको फुली लगाइसकेका ती अधिकृतले करिब दुई–तीन वर्षसम्मै फेरि इन्स्पेक्टरमा झरेर काम गर्नुपरेको थियो।
प्रहरी संगठनसँग नजिक रहेका व्यक्तिहरूका अनुसार योग्य प्रहरी अधिकृतलाई भारतको आइपिएस तालिममा पठाउन यस्तो प्रबन्ध मिलाउनुपरेको थियो।
प्रहरी सेवामा इन्स्पेक्टर भएर प्रवेश गरेका बेला आफ्नो ब्याचमै अग्रस्थानमा रहेका राजेन्द्र पछिल्लोपटक एसएसपी बढुवा बेला पनि रमेश खरेल र सर्वेन्द्र खनालपछि तेश्रो स्थानमा थिए।
अर्थात्, केही मिनेटमै जीवन बदलिदिने त्यो दुर्घटना नभइदिएको भए उनी प्रहरी संगठनकै सर्वोच्च ओहोदाको दाबेदारीमा हुन्थे।
यो सबैले पनि राजेन्द्रमानको क्षमता पुष्टि गर्छ।
...
साढे तीन वर्षदेखि एकनाशले पल्टिएरै बसिरहेको राजेन्द्रमानको शरीरलाई पत्नी आराधना र छोरी साम्भवीले निरन्तर नियालेर बसिरहेका छन्। छोरा अमेरिकामा अध्ययन गर्दैछन्।
कुनै दिन चमत्कार भई पो हाल्ला कि भनेर सुनाइरहँदा आराधनको आँखाभरि आँसु छचल्किएको देखिन्थ्यो।
स्वास्थ्य विज्ञानले यस अवस्थाको उपचार अहिलेसम्म निकालेको छैन। यस्तो अवस्था बेहोरेका विश्वका केही बिरामीले भने पुनः सामान्य जीवन प्राप्त गरेको देखिन्छ। राजेन्द्रमानमा पनि त्यस्तै चमत्कारको सम्भावनालाई चिकित्सकहरू नकार्दैनन्।
'कहिलेकाहीँ मान्छेहरू आएर बोलाउँदा फर्केर टक्क हेर्नुहुन्छ,' श्रीमती श्रेष्ठ भनिरहेकी थिइन्, 'अस्ति नेपालगन्जका साथीहरू समूह बनाएरै भेट्न आउँदा त्यस्तै भएको थियो।'
त्यसैगरी बेलाबेला बोल्न खोजेजस्तो गरेर जिब्रो चलाउने, बाहिर निकाल्ने र भित्र लैजाने गरिरहन्छन्।
'कहिलेकाहीँ अनुहारबाट खुसी भएको र दुःखी भएकोजस्ता भाव पनि प्रकट गरिरहनुहुन्छ,' श्रीमतीले भनिन्, 'आँसुसमेत चुहिरहेको हुन्छ।'
यस्ता कतिपय प्रतिक्रिया देख्दा परिवारका सदस्यलाई असाध्यै खुल्दुली जाग्दो रहेछ। तत्कालै डाक्टरलाई सोध्दा रहेछन्। जवाफमा डाक्टरले पनि 'हामीलाई समेत यो के हो थाहा छैन' भन्दा रहेछन्।
शरीरले देखाएको परिवर्तन भनेको राजेन्द्रमानमा भएको उच्च रक्तचापको अवस्था हो। दुर्घटनाको समयसम्म उच्च रक्तचापको औषधि खाइरहेका उनलाई हिजोआज औषधि बन्द गर्दा पनि सदैव रक्तचाप सामान्य अवस्थामै देखिने गरेको छ।
विदेशको अस्पतालमा नेपालभन्दा गतिलो उपचार सेवा सम्भव छ कि भनेर पनि परिवार र साथीहरूले व्यापक प्रयास गरेका थिए। सबैतिरबाट यस केसमा काठमाडौंमै उपलब्ध भइरहेको सेवाभन्दा बढी केही नहुने जवाफ पाइयो।
...
प्रहरी संगठनमा आफू उतिसाह्रो नझ्याम्मिएकाले अवकाशपछि श्रीमानको अवस्थाबारे आफू अनभिज्ञ रहेको श्रीमती श्रेष्ठ बताउँछिन्।
'मैले एक-दुईजना साथीसँग सोध्दा अवकाशपछि उहाँले पाउँदै आएको सेवाको झनै जरुरत पर्ने भएकाले घर नलैजानूस् भनेर जवाफ दिनुभएको छ,' उनले भनिन्, 'मुख्य चिन्ताको विषय भनेकै शरीरमा केही अस्वाभाविकता देखिनेबित्तिकै चिकित्सकले हेरिदिनुपर्ने हुन्छ, जुन सेवा यहाँ सहज उपलब्ध छ।'
अहिले पदमा रहँदा श्रेष्ठका निम्ति अस्पतालले प्रयोग गरिरहेको औषधि विभागले नै उपलब्ध गराइरहेको छ। त्यो अब बन्द हुने अनुमान परिवारको छ।
'मुख्य चासो, अस्पतालमा अहिलेजसरी बस्न र सहयोगी उपलब्ध गराइन्छ कि गराइँदैन भन्ने नै हो,' श्रीमती श्रेष्ठले आशा प्रकट गर्दै भनिन्, 'त्यसो त साथीभाइले यो बहालवाला र भूपू प्रहरी सबैका निम्ति खोलिएको अस्पताल भएकाले अवकाशपछि पनि फरक पर्दैन भनेर सुनाउनुभएको छ।'
अस्पतालमै बसिरहँदा श्रीमती श्रेष्ठको अधिकांश समय त्यहाँका नर्सहरूसँगै बित्दो रहेछ।
'त्यसले गर्दा यहाँ आउनुहुने पूर्व प्रहरी अधिकृतहरूले के कसरी यो अस्पतालको सेवा उपभोग गरिरहनुभएको छ भनेर मोटामोटी जानकारी पनि लिइरहेकी छु,' भनिन्, 'सधैंभरि मलाइ विशेष सुविधा दिइराख्नुपर्छ भन्न पनि अमिल्दो हुनाले सक्दो व्यवहारिक हुने बाटो पनि खोजिरहेकी छु।'
राजेन्द्रमान श्रेष्ठलाई उपलब्ध गराइरहेको सेवा-सुविधाले अवकाशपछि कसरी निरन्तरता पाउनेछ भन्नेबारे विभागले हालसम्म कुनै निर्णय नलिएको एआइजी एवम् श्रेष्ठका साथी पुष्कर कार्की बताउँछन्।
'कतिपय कुरा प्रहरी अस्पतालसँग बुझेर मात्रै बताउन सकिन्छ,' कार्कीले भने, 'संगठनकै उत्कृष्ट अफिसर भएकाले उनलाई सक्दो राम्रो बन्दोबस्त गरिनेमा कुनै शंका छैन।'