जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भए पनि त्यहाँ सरूवा भएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई जान दिइएको छैन।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्ललाई चितवनबाट सरूवा गरेर पन्तलाई पठाउने निर्णय गरेको थियो। दुई सातासम्म मल्लले जिल्ला नछोडेपछि पन्त सरूवा भएको ठाउँमा जान पाएकी थिइनन्।
प्रदेश नम्बर ३ प्रहरी कार्यालयको १२ घन्टै निर्देशनलाई पनि विलम्ब गर्दै शुक्रबार मल्लले जिल्ला छोडे। उनले प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालालाई जिल्लाको ‘चार्ज’ बुझाए।
मल्लले छोडेसँगै शुक्रबारबाटै चितवन प्रहरी उपरीक्षकविहीन भएको छ। तर, आइतबारसम्म पनि सरूवा भएकी पन्तलाई चितवन जान दिइएको छैन।
पन्त कार्यरत इन्टरपोल शाखाले उनलाई ‘रवाना’ पत्र दिएको छैन।
‘रवाना नबुझी जाने कुरा भएन, म इन्टरपोल शाखामै छु,’ पन्तले सेतोपाटीसँग भनिन्।
चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो। उनका पूर्वबडीगार्ड मल्ल दाहालको रोजाइमै चितवन गएका थिए। कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै मल्ललाई ८ महिनामै प्रधान कार्यालयले सरूवा गरेको थियो।
पन्तको भने अब चितवन जाने-नजाने टुंगो छैन। पन्तलाई चितवनमा उच्च राजनीतिक नेतृत्वले रूचाएको छैन।
त्यसैकारण पन्तको विकल्पमा अन्य प्रहरी उपरीक्षकको खोजी सुरू भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
इन्टरपोल शाखाका इञ्चार्ज एसएसपी उमेश जोशी हुन्। उनले पन्तलाई ‘रवाना’ दिएका छैनन्। रवाना नदिएको विषयमा सेतोपाटीले पटक-पटक प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन।
प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षत्रीले चितवन जाने एसपीबारे पुस ४ गतेको सरूवा नै अहिलेसम्म कायम रहेको बताए।
‘पुस ४ गतेको सरूवा सूचीमा तलमाथि भएको छैन, अहिलेसम्म कोही गएको पनि छैन,’ थापाले भने।
किन कोही नगएको भन्ने विषयमा चाहिँ उनले सम्बन्धित व्यक्तिलाई नै सोध्नुपर्ने बताए।
पन्तले आफूले ‘रवाना’ नपाएको बताएकी छिन्। ‘रवाना’ पत्र नबुझी सरूवा भएको अर्को ठाउँमा हाजिर पाइँदैन।
प्रहरी प्रधान कार्यालयलाई मल्लले चितवन नछोड्दा ‘टाउको दुखाइ’ बनेको थियो। मल्लले ठाउँ खाली गर्दा पनि आफ्नो सरूवा सूची कार्यान्वयन गराउन प्रधान कार्यालयलाई उति नै समस्या परेको छ।
स्रोतका अनुसार दाहालले व्यक्तिगत रूपमै पन्तलाई नरूचाएपछि प्रधान कार्यालय पुस ४ गतेको सरूवा कार्यान्वयन गराउन हिच्किचाएको छ। प्रधान कार्यालयले चितवनमा पन्तको विकल्पमा नयाँ एसपीहरूको खोजी थालेको छ।
विकल्प खोजिएकाहरूमा कृष्ण पंगेनी, नवराज अधिकारी र अनुपम शमशेर जबरा छन्। उनीहरूमध्ये पंगेनीको सम्भावना बलियो बन्दै गएको प्रधान कार्यालय स्रोत बताउँछ।
प्रवक्ता क्षत्रीले भने सरूवाको विकल्प खोज्न थालिएकोबारे आफूलाई जानकारी नभएको बताए।
आफू कार्यरत कार्यालयले सरूवा हुँदा रवाना नदिए प्रहरी अधिकारीले तालुक कार्यालयमा उजुरी दिन सक्छन्।