अन्तरिक्ष यात्राको कुरा गर्दा हामी वैज्ञानिकलाई सम्झन्छौं, इञ्जिनियरलाई सम्झन्छौं, ज्यानकै जोखिम मोलेर पृथ्वी छाड्ने अन्तरिक्ष यात्रीहरूलाई त नसम्झने कुरै भएन।
के वैज्ञानिक, इञ्जिनियर र अन्तरिक्ष यात्रीकै भरमा पृथ्वीबाहिरको यति ठूलो अन्वेषण सम्भव होला?
पक्कै हुँदैन, खासगरी कपडा सिउने सूचिकारबिना।
अन्तरिक्ष उडानको त कुरै छाडौं, हवाइजहाज उडानको इतिहासभन्दा पनि कयौं कालखण्ड पुरानो छ, सूचिकारको शिल्प।
जुन बेलादेखि मान्छेमा आफ्नो शरीर ढाक्नुपर्छ भन्ने चेतना पलायो, सायद त्यही बेलाबाट सुरू भएको हो यो शिल्प। मानव सभ्यताको यति पुरानो शिल्प मानव सभ्यताकै अत्याधुनिक खोज निम्ति नभई हुँदैन भन्ने थाहा पाउँदा जीन विल्सनलाई गौरव अनुभूति हुन्छ।
जीन विल्सन जम्मा सात वर्षकी थिइन्, जब उनलाई आमाले लुगा सिउन सिकाइन्।
नौ वर्ष पुग्दासम्म उनी आफ्ना खेलौनाहरूका निम्ति आफैं लुगा डिजाइन गर्ने भइसकेकी थिइन्।
दस वर्षपछि सन् १९६९ मा उनी अन्तरिक्ष यात्रीहरूका लागि पोसाक डिजाइन गर्ने अमेरिकी कम्पनी 'आइएलसी डोभर' मा काम गर्न थालिन्। नील आर्मस्ट्रङ र बुज एल्ड्रिनले पहिलोचोटि चन्द्रमामा पाइला टेक्दा जुन 'स्पेससुट' लगाएका थिए, त्यो यही कम्पनीले डिजाइन गरेको थियो।
यो कम्पनीमा विल्सनको प्रवेश कसरी भयो भन्ने रोचक कथा छ।
उनकी दिदी 'प्लेटेक्स' भन्ने कम्पनीमा काम गर्थिन्। यो महिलाहरूको भित्री वस्त्र डिजाइन र उत्पादन गर्ने कम्पनी हो। जीनकी दिदी यही कम्पनीका लागि ब्रा, पेन्टी लगायत डिजाइन गर्थिन्।
ब्रा र पेन्टीमा प्रयोग हुने कपडा हलुका, नरम र लचिलो हुन्छ। यही कपडाले 'स्पेससुट' बनाउँदा अन्तरिक्ष यात्रीहरूलाई सहज हुने अध्ययनले देखायो। त्यसपछि आइएलसी डोभरले प्लेटेक्ससँग सहकार्य सुरू गर्यो।
विल्सनकी दिदीले भनिन्, 'नयाँ अन्तरिक्ष यात्राका लागि स्पेससुट बनाउन सुरू हुँदैछ। तिमीलाई इच्छा भए काम गर्ने अवसर छ।'
'दिदीले यस्तो प्रस्ताव राख्दा म जम्मा १९ वर्षकी थिएँ,' विल्सनले भनिन्, 'प्रस्ताव सुनेर म उत्साहित भएँ।'
त्यति बेलासम्म सुटकेस सिलाउने काम गरिरहेकी विल्सन दिदीको प्रस्ताव पछ्याउँदै आइएलसी डोभर प्रवेश गरिन्।
'जति बेला म सुटकेस सिउने काम गर्थें, सबै कुरा फटाफट भइरहेझैं लाग्थ्यो। आइएलसी डोभरमा आएर अन्तरिक्ष यात्रीहरूका लागि स्पेससुट सिउन थालेपछि जिन्दगीको रफ्तार थामियो,' उनले भनिन्।
स्पेससुट र सुटकेसको फरक के भने, यहाँ भटाभट सिएर फटाफट बजार पठाउन पाइँदैन। एकचोटि सिलाएको कपडा दसौंचोटि निरीक्षण र अनुगमन हुन्छ। सानोभन्दा सानो गल्तीमा पनि होसियार हुनुपर्छ। एउटा धागो मात्र चुँडिएको छ वा चुँडिएलाजस्तो देखिएको छ भने त्यो काम सुरूदेखि गर्नुपर्छ।
'हामीलाई गल्ती गर्ने छुट छैन,' विल्सनले भनिन्, 'हाम्रो सानो गल्तीले एउटा मसिनो धागो चुडिँदा करोडौं डलरको अन्वेषण कार्यक्रम असफल हुन सक्छ।'
यति मात्र होइन, सुटकेस सिलाउँदा उनलाई डिजाइनको काम मात्र जाने पुग्थ्यो। कतिमा बिक्री हुन्छ, कहाँ बिक्री हुन्छ, बजारसम्म कसरी पुग्छ लगायत अनेक कुरा सोचविचार गर्न पर्थेन।
स्पेससुट सिलाउँदा भने डिजाइनिङको ज्ञान मात्र पर्याप्त हुँदैन। उनले अन्तरिक्ष यात्रामा प्रयोग हुने इञ्जिनियरिङ भाषा बुझ्नुपर्छ। इञ्जिनियरहरूले क्लिष्ट भाषामा तयार पारेका मास्टरप्लानहरू पर्गेल्नुपर्छ। अझ त्योभन्दा बढी त ठूल्ठूला वैज्ञानिक, अन्तरिक्ष यात्री र रकेट इञ्जिनियरहरूसँग अन्तर्क्रिया गर्नुपर्छ।
अर्को चुनौती पनि छ।
अन्तरिक्ष यात्रीहरूले लगाउने स्पेससुटमा विभिन्न सुरक्षा उपाय अपनाउन कपडाको पत्रैपत्र हुन्छ। लगभग २१ पत्रको कपडा यस्तरी डिजाइन गर्नुपर्छ, ताकि त्यसको मोटाइ रौंबराबर होस्। यस्तो हलुका कपडा सस्तै होला भन्ने तपाईंहरूलाई लाग्न सक्छ। तर होइन, एउटा स्पेससुटको मूल्य करिब तीन हजार डलर पर्ने विल्सन बताउँछिन्।
सिलाइबुनाइ गरेर तयार पारिएको स्पेससुट सुरक्षित 'सेफ मा लक गरेर राखिन्छ। र, परीक्षण निम्ति स्थानीय अस्पताल लगिन्छ, जहाँ कपडाको एक्स–रे लिइन्छ। त्यो पनि दुई-दुईचोटि।
कपडाको एक्स–रे किन? तपाईंलाई अचम्म लाग्न सक्छ। स्पेससुट बनाउँदा यो अनिवार्य प्रक्रिया हो।
विल्सनका अनुसार, कपडा सिलाउँदा पिन वा बटन भित्रै छुटेको छ कि, वा कतै कुनै धागो कमजोर पो छ कि भनेर थाहा पाउन एक्स–रे जरूरी हुन्छ।
'निरीक्षण र अनुगमनबाट पास भएर नआउञ्जेल हाम्रो मन भारी भइरहन्छ,' उनले भनिन्, 'राति सुत्दा पनि मनमा कुरा खेलिरहन्छ– हे भगवान्, कतै मैले पिन भित्रै त छुटाइनँ?'
बेलाबेला तनाव अचाक्ली बढ्दा सपनामै क्वाँक्वाँ रोएको अनुभव विल्सनले सुनाइन्।
कहिलेकाहीँ त बिपनामै पनि उनी रोएकी छन्, जब उनलाई एकाएक याद आउँछ– हे भगवान्, मैले यसपालि साँच्चै पिन छुटाएकी छु।
एउटा स्पेससुट सिलाउँदा थुप्रै डिजाइनरले काम गर्नुपर्छ। सबै डिजाइनर महिला नै हुन्छन्। हरेकको काम फरक–फरक हुन्छ। विल्सनको भागमा भने हात, गोडा र जीउको भाग सिउने काम परेको थियो। उनी अन्तरिक्ष यात्रीको नाउँ पनि सिउँथिन्।
अन्तरिक्ष यात्रीले लगाउने जुत्ता वा पन्जा सिलाउने डिजाइनरले त चन्द्रमामा अवतरण गर्दा कस्तो हुन्छ भनेर तालिम नै लिनुपर्छ। उनीहरूले चन्द्रमाको गुरुत्वाकर्षण कति हुन्छ, त्यहाँ पाइला टेक्दा कस्तो अनुभव हुन्छ भन्ने वैज्ञानिक तथ्यहरू थाहा पाएर त्यसैअनुसार काम गर्नुपर्छ।
चरणबद्ध अनुगमन र निरीक्षणपछि जब सबैतिरबाट स्पेससुट पास हुन्छ, तब अन्तरिक्ष यात्रीहरू आफूले लगाउने लुगाको नाप सही भयो कि भएन जाँच्न आउँछन्। हामी कपडा किन्न जाँदा जसरी 'चेन्जिङ रूम' मा गएर लगाउँछौं, उनीहरू पनि त्यसैगरी स्पेससुट लगाउँछन्। हात, गोडा, पेट, घाँटी सबैतिरको नाप सही छ कि छैन मिहीन हेर्छन्।
सब ठिकठाक छ भने उनीहरू फुरुंग पर्दै डिजाइनरहरूलाई धन्यवाद दिन्छन्। उनीहरूको कामको तारिफ गर्छन्। कतिले त आफ्नो अटोग्राफसहितको तस्बिर पनि दिन्छन्।
'त्यो हाम्रो लागि सबभन्दा सन्तुष्टिको क्षण हुन्छ,' विल्सनले भनिन्।
जोयना थोम्पसनको अनुभव पनि विल्सनको जस्तै छ। उनी अन्तरिक्ष यात्रीहरूले लगाउने जुत्ता र पन्जाकी विशेषज्ञ हुन्।
उनका अनुसार, मान्छेको हत्केला र पैताला उत्रै देखिए पनि त्यसको गोलाइ र औंलाबीचका कापहरूको बान्की फरक हुन्छ। अन्तरिक्ष यात्रीले लगाउने पन्जा र बुट सिलाउँदा हामीले औंला–औंलाको नाप लिनुपर्छ। त्यो बीचका बान्कीहरूलाई मिहीन ढंगले नाप्नुपर्छ।
'रौं बराबर पनि सानो–ठूलो भयो भने काम लाग्दैन,' ८२ वर्षीया थोम्पसनले भनिन्, 'पन्जा यतिसम्म मात्र खुकुलो हुनुपर्छ, जसले अन्तरिक्ष यात्रीलाई औंलाहरू चलाउन सजिलो होस्। त्यति धेरै खुकुलो पनि होइन, जसले औंंलाहरू सजिलै यताउति मोडियोस्।'
विल्सनजस्तै थोम्पसनले पनि सानै उमेरमा लुगा सिउन सिकेकी हुन्।
जसरी विल्सन सुटकेस सिउँदा–सिउँदै स्पेससुट सिउन आइपुगिन्, थोम्पसन पनि कपडा डिजाइनिङबाट आइएलसी डोभर प्रवेश गरेकी हुन्। उनी यहाँ काम गर्न थालेको ३८ वर्ष पुग्यो।
उनका अनुसार आफ्नो ग्रह छाडेर अन्तरिक्ष यात्रामा निस्कनु जति जोखिमपूर्ण छ, त्यति नै चुनौतीपूर्ण छ स्पेससुट सिउन।
'अन्तरिक्ष यात्रा गर्दा पाइला–पाइलामा समस्या आउन सक्छ, हामीले ती समस्याहरू आकलन गरेर स्पेससुट डिजाइन गर्दा होसियारी अपनाउनुपर्छ,' उनले भनिन्, 'हामी सुरूमा स्पेससुटको विभिन्न नमूना तयार पार्छौं। त्यसलाई गुणस्तर परीक्षण निम्ति प्रयोगशाला पठाइन्छ। उनीहरू त्यो नमूनालाई यस्तरी ओल्टाइपल्टाइ हेर्छन्, कति त परीक्षण गर्दागर्दै च्यात्तिएर धुजाधुजा हुन्छ।'
'तर हामीलाई कुनै मनखत हुन्न। किनभने, हामीलाई थाहा छ, अन्तरिक्ष यात्रामा जाने मान्छेको जीवन हामीले सिउने कपडाको गुणस्तरमा निर्भर छ,' उनले भनिन्।
उनले सन् १९७३ को एउटा घटना सम्झिइन्।
नील आर्मस्ट्रङले पहिलो अन्तरिक्ष यात्रा गरेको केही वर्षपछिको कुरा हो। अमेरिका आफ्नो पहिलो स्पेस स्टेसन 'स्काइल्याब' प्रक्षेपण गर्दै थियो। प्रक्षेपणलगत्तै अन्तरिक्ष यात्रीले लगाउने कपडाको एउटा भाग च्यात्तियो। त्यो रकेटभित्रको तापक्रम थेग्ने भाग थियो।
अर्थात्, च्यात्तिएकै कपडा लगाएर यात्रा जारी राख्दा मान्छेले त्यहाँको उच्च तापक्रम थेग्न सक्थेन। अन्तरिक्ष यात्रीलाई नयाँ कपडा फेराउन सकिएन भने उक्त परियोजनाको सम्पूर्ण प्रक्रिया स्थगित गर्नुपर्थ्यो।
नासाले कपडा फेर्ने जिम्मा इलेक्ट्रिक इञ्जिनियर एलेनी बेकरलाई सुम्पियो।
एलेनीले एकदमै कम समयमा आल्मुनियम र नाइलनको पत्र–पत्र जोडेर अर्को कपडा तयार पारिन्, जुन एकापट्टि सुन्तला रङको थियो, अर्कोपट्टि चाँदी रङ।
'धन्न त्यो सट्टा कपडाले काम गर्यो,' एलेनीका छोरा हर्ब बेकर सम्झन्छन्। हर्बले पनि ४२ वर्ष नासामा काम गरे।
एलेनीले आल्मुनियम र नाइलन कपडाको खातमा पुरिएर कपडा सिउने मेसिन चलाइरहेको तस्बिर आज पनि अन्तरिक्ष यात्रामा सबैले सम्झन्छन्। यो तस्बिर नासा जोन्सन स्पेस सेन्टरको भित्तामा टाँगिएको छ। सन् २००४ मा निधन भएकी एलेनी र उनका छोरा हर्ब दुवै यही स्पेस सेन्टरमा काम गर्थे।
आल्मुनियम र नाइलनको कपडा त्यसयता अन्तरिक्ष यात्रामा प्रयोग हुँदै आएको छ।
जीन राइट पनि अन्तरिक्ष यात्रीले प्रयोग गर्ने कपडा उत्पादनमा संलग्न छन्। उनी नासाका लागि थर्मल ब्ल्याङ्केट सिलाउँछन्। उनका अनुसार, यसमा धेरैजसो सिलाइ हातैले गर्नुपर्छ। मेसिनको प्रयोग निकै कम हुन्छ।
'हामी एकचोटिमा दुई हजार दुई सय ब्ल्याङ्केट उत्पादन गर्छौं। प्रत्येक ब्ल्याङ्केट उल्टोसुल्टो दुवैतिर पल्टाएर हातैले सिउनुपर्छ,' राइटले भने, 'एउटा चर्खामा राखेर १२ वटा ब्ल्याङ्केट सिलाउन हामी दुई जनालाई औसत १७ घन्टा लाग्छ।'
यसरी तयार पारिएको ब्ल्याङ्केट बढीमा तीनवटा उडानमा प्रयोग हुन्छ। म्याद सकिएपछि नयाँ ब्ल्याङ्केट प्रयोग गरिन्छ। यसले लगातार नयाँ उत्पादन गरिरहनुपर्छ।
अन्तरिक्ष यात्रामा प्रयोग भएका धेरैजसो कपडा संग्रहालयमा राख्ने चलन छ। नील आर्मस्ट्रङले पहिलो अन्तरिक्ष यात्रा गर्दा लगाएको स्पेससुट संग्रहालयमा सुरक्षित छ।
उनको अन्तरिक्ष यात्रा इतिहासमा दर्ज छ, तर जुन हातले बुनेको लुगा लगाएर उनी त्यहाँसम्म पुगे, त्यो सीपको कदर भर्खर हुन थाल्यो।
पछिल्लो समय अन्तरिक्ष उडानका यी डिजाइनर 'दिदी–बहिनीहरू' लाई 'अन्तरिक्षको लुगा सिउने सूचिकार' भनेर सबैले सम्मान गर्छन्।
(यो स्टोरी बिबिसी फ्यूचरबाट अनुवाद गरिएको हो।)