उनको उमेरमा धेरै मान्छे थला पर्छन्। बिराम नलागेकाहरू पनि कमजोर भइसक्छन्, अरूको भरमा बाँच्नुपर्छ।
रौतहट चन्द्रपुर नगरपालिका- ४ की नन्दकुमारी गुरूङले भने वर्षमा गणना हुने उमेरलाई जितेकी छन्।
मौसम जस्तोसुकै होस्, महिना जेसुकै लागोस्। हरेक दिन उनी बिहान ४ बजे उठ्छिन्। नित्य कर्म गर्छिन् अनि सम्हाल्छिन् आफ्नो काम। हरेक दिन उनलाई अँगेनामा चियाको किट्ली बसाल्न हतार हुन्छ।
उमेर उनको ८२ वर्ष भयो। तर उनको जोस र कामप्रतिको जाँगर देखेर धेरैलाई अचम्म लाग्छ।
चियाका पारखी बिहानै उनको होटलमा पालो कुरेर बसेका हुन्छन्। होटल खोलेदेखि बन्द नगरेसम्म नन्दकुमारीलाई चिया पकाउन भ्याइनभ्याइ हुन्छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर चौकनजिक छ उनको चिया पसल। नन्दकुमारीले पकाएको चियाको विशेषता के भने उनी दूधैदूधको चिया बनाउँछिन्।
दूधमात्रले होइन उनको पकाउने तरिकाले पनि चियाको स्वाद बेग्लै हुन्छ।
उनी बूढी छिन्। सबैले आमा भन्छन्। अनि उनको पसलको नाम नै आमाको चिया पसल छ।
चन्द्रनिगाहपुरका स्थानीय हुन् वा टाढाटाढा जान हिँडेका यात्रु। छेउका पसलमा कपको १५ रुपैयाँ पर्ने चिया आमाको पसलमा २० रुपैयाँ तिर्न राजी हुन्छन्। कोहीकोही एक कपले धित नमरेर दुई कप खाएर जान्छन्।
आममान्छेमात्र होइन जिल्लाका सरकारी कर्मचारी, नेता, सांसद, सुरक्षाकर्मी र जागिरे पनि सकभर उनकै चिया पसलमा आइपुग्छन्।
मर्निङ वाक गरेर फर्किएकाहरू भेला भएपछि उनको चिया पसलमा सुरू हुन्छ राजनीतिक र समसामयिक बहस। ग्राहकको पार्टी जेसुकै होस्, काम जुनसुकै संस्थामा गरून् नन्दकुमारीलाई परवाह हुँदैन। त्यसैले सबैले उनको पसललाई आफ्नै ठान्छन्।
प्रतिनिधिसभामा रौतहट क्षेत्र नम्बर- ४ का सांसद देवप्रसाद तिमिल्सेनाले नन्दकुमारीको जोस र जाँगरबाट आफू प्रभावित भएको बताए।
'आमाको चिया पसलमा सबै क्षेत्रका मानिस जम्मा हुने भएकाले म पहिलादेखि नै यहाँ चिया खान आउँथे। अहिले पनि जिल्ला आएका बेला सकभर यहाँको चिया खाएरै जान्छु,' उनले भने।
बसका यात्रुको भीड लागे कान्छी छोरी कलावती र छोरा रेशमले सघाउँछन्।
नन्दकुमारीले चियाको किट्ली समातेको ३७ वर्षअघि हो। चियै बेचेर उनले परिवार पालिन्। अहिले पनि परिवारको भरोसा बनेकी छन्।
राजमार्गको बजार चन्द्रनिगाहपुरमा थुप्रै चिया पसल छन्। तर ती पसलको चियामा दूध कम पानी धेरै हुने भएकाले नन्दकुमारीको चियाको लोकप्रियता बढेको हो।
उनी एकदिनमा १ सय लिटरसम्म दूधको चिया पकाउँछिन्। जिल्लाका अरू कुनै पसलमा दैनिक यति धेरै चिया विक्री हुँदैन।
नन्दकुमारीको कपाल फुलेको छ, अनुहारमा चाउरी परेका छन्।
प्राय: ग्राहकहरू भन्छन्- तपाईंको शरीर बूढो भइसक्यो। अब आराम गर्नुस।
उनी हाँस्दै जवाफ फर्काउँछिन्- अझै तपाईंहरूलाई मीठो चिया खुवाउँछु। चिया पकाएरै यति जीवन बित्यो बाँकी जीन्दगी पनि यसरी नै बिताउँछु।