पोखरा महानगर-१६ स्थित रञ्जित गाउँमा अहिले जम्मा ७ घर छन्। बसाई सराइका कारण एउटा सिङ्गो गाउँ नै ७ घरमा सीमित हुन पुगेका हो।
गाउँलेहरु अधिकांश पोखरा झरे, कतिपय गाउँकै बेसीमा झरे। कुनै समयमा ४० घर बढी रहेको गाउँमा मानिस बस्न छाडेपछि स्थानीय समाजसेवी शम्सेरबहादुर गुरुङले पर्यटन प्रवद्र्धन अभियान थालेका छन्।
पोखराबाट नजिकै जम्मा आधा घण्टामा पुुगिने रञ्जित गाउँमा स्थानीयबासीलाई टिकाउने मात्र होइन, कृषि र ग्रामीण पर्यटन बढाएर पुरानो चहलपहल फर्काउने गुरुङको योजना छ। ‘पहिले पहिले विहानै भालेको डाँकोसँगै पानी भर्न जानुपर्थ्यो’ गुरुङले सोमबार पोखरामा पत्रकारहरुलाई भने, ‘अहिले बाटो पुगेको छ, घरघरमा धारा छ, तर पनि मान्छे बसेनन्।’
उनकै अगुवाईमा टनेल बनाएर गाउँमा सामुहिक अर्गानिक तरकारी खेती थालिएको छ भने गाउँलेले छाडेर गएको खाली घरमा होमस्टे चलाउने तयारी पनि गुरुङले गरेका छन्। अहिले सात घरलाई मर्मत सम्भार गरेर पर्यटक राख्न सकिने बनाइएको उनले जानकारी दिए।
‘गाउँमै बसेर आम्दानी गर्न सकिने अवस्था भयो भने गाउँलेहरु बेसी झर्दैनन्’ उनले भने, ‘कृषि परियोजना र पर्यटन मार्फत गाउँमै आम्दानी हुने वातावरण बनाउँदैछौँ।’
पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक सम्पदा, संस्कृति र धार्मिक महत्वका स्थान यो गाउँमा रहेको गुरुङले बताए। पोखराको चर्चित महेन्द्र गुफाबाट ५ किलोमिटरमा पुग्न सकिने रञ्जित गाउँमा धार्मिक महत्व बोक्ने अचम्मको ठाउँ पनि छ।
गाउँको पूर्व उत्तरको कुनामा नौवटा धारा सहित सिद्ध बराह मन्दिर छ। मन्दिरमा ठूलो पहराको बीचबाट पानीको फोहोरा निस्कन्छ। पहरामा ९ वटा पानीको मुल भएको र त्यो पानी नौवटा धारा मार्फत नुहाउन मिल्ने व्यवस्था मिलाइएको छ। नौवटा धारामा नुहाएर मन्दिरमा पूजा गरेपश्चात तरुल र मासको टिका लगाउने प्रचलन छ। यसो गरेमा मनोकांक्षा पुरा हुने स्थानीयबासीको विश्वास रहेको गुरुङले बताए।
माघ १ अर्थात माघे सक्रान्तीको अवसरमा वर्षेनी रञ्जित गाउँमा मेला लाग्छ। विक्रम संवत २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको यो मेला अहिले विस्तार भएको छ। आउँदो माघ १–३ गते मेलाको तयारी स्वरुप भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, छेलो, रसी तान्ने लगायतका कार्यक्रम आयोजना गरिने उनको भनाई छ।
स्थानीय नौधारे सिद्ध बराह युवा क्लबका अध्यक्ष समेत रहेका गुरुङले गाउँबाट झण्डै १ घण्टाको हाइकिङ गरेर पार्केडाँडा, नाघीडाँडा लगायतका ठाउँमा पुग्न सकिने बताए।
यो डाँडाबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला नजिकै देख्न सकिन्छ भने दक्षिणतर्फ पोखरा शहरको पुरा दृश्य देख्न सकिन्छ।
विगत ६२ वर्षदेखि हुँदै आएको मेलालाई गाउँमा पर्यटक तान्ने गरी उपयोग गर्ने तयारी गरेको समेत गुरुङले बताए। ‘गाउँमा अर्गानिक कृषि र पर्या–पर्यटनमार्फत विदेश ताक्ने युवालाई रोक्न चाहन्छौँ’ उनले भने, ‘अब माघे संक्रान्ति मेला पनि पर्यटक तान्ने गरी मनाउँछौँ।’