भविष्यमा कुनै समय यस्तो आउला, जब प्रहरी प्रधान कार्यालय मातहत प्रदूषण इकाई गठन हुनेछ।
सहरका चोक–चोकमा सादा र वर्दीवाला प्रदूषण प्रहरीहरू परिचालन हुनेछन्।
प्रदूषण इकाईले अत्याधुनिक उपकरणहरू जडान गरेर चौबीसै घन्टा सहरको हावा निरीक्षण गर्नेछ। जुन ठाउँमा धूलोधुवाँको कण बढी देखियो, त्यहाँ 'अलर्ट' जारी हुनेछ। वाकीटकीमा 'रोजर... रोजर' सुनिन थाल्नेछ। प्रहरी भ्यानहरूको सक्रियता बढ्नेछ। फिल्डमा खटिएका सुरक्षाकर्मीहरू हाँपदाँप गर्दै कुद्नेछन्।
झट्ट सुन्दा यो कुनै 'साइन्स फिक्सन' फिल्मको दृश्यझैं लाग्न सक्छ। तर, तपाईं अचम्म मान्नुहोला, संसारमा यस्तो समय छिट्टै आउन सक्छ भन्ने वैज्ञानिक अध्ययनहरूले देखाएको छ।
किन? कसरी?
अध्ययनअनुसार प्रदूषणको सिधा सम्बन्ध हाम्रो निर्णय क्षमता, काम गर्ने क्षमता, मानसिक र शारीरिक स्वास्थ्यसँग छ।
चौबीसै घन्टा धूलोधुवाँबीच बस्ने मान्छेको मानसिक स्थिति धर्मराएको हुन्छ। उसले कुनै पनि विषयमा सही निर्णय लिन सक्दैन। अफिसमा काम गर्नेले राम्रो क्षमता देखाउन सक्दैनन्। स्कुल–कलेज पढ्ने विद्यार्थीले जाँचमा राम्रो नतिजा ल्याउन सक्दैनन्। योभन्दा चिन्ताको विषय, प्रदूषण जति बढ्यो, अपराध उति बढ्छ।
अध्ययनका यी निष्कर्ष किन चिन्ताजनक छन् भने, संसारको आधाभन्दा बढी जनसंख्या सहरमा बस्छन्, जहाँको वातावरण धूलोधुवाँले भरिएको छ। मात्रा कम–बढी मात्र हो। संसारैभरि अहिलेजति मान्छेको ओहोरदोहोर विगतमा कहिल्यै थिएन। तपाईं जुनसुकै ठाउँमा बस्ने भए पनि प्रदूषणको चपेटबाट उम्किन सक्नुहुन्न।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, संसारका दसमध्ये नौ जना व्यक्ति अतिप्रदूषित हावामा सास फेरिरहेका छन्।
प्रदूषणका कारण हरेक वर्ष सात लाख मान्छेको ज्यान जाने अनुमान छ। के प्रदूषणकै कारण बढेको हत्या र अन्य आपराधिक गतिविधिहरूको तथ्यांक पनि हामी यसमा जोड्न सक्छौं?
यसलाई बुझ्न यी प्रमाणहरू हेरौं।
सन् २०११ मा लन्डन स्कुल अफ इकोनोमिक्सका अनुसन्धाता सेफी रोथ वायु प्रदूषणका विभिन्न असरबारे अध्ययन गर्दै थिए। यसले स्वास्थ्यमा पार्ने नकारात्मक असर उनलाई थाहा थियो। अस्पतालमा बिरामी भर्ना र मृत्युदर बढेको तथ्यांक उनले बारम्बार हेरेका थिए। सबैले जानेबुझेका यी प्रभावका अतिरिक्त प्रदूषणले हाम्रो दैनिक जीवनमा अझ ठूलो नकारात्मक असर पार्नसक्छ भन्ने उनले सोचे।
अध्ययनको सुरूआतमा उनले प्रदूषणबाट मान्छेको बौद्धिक चिन्तन र क्षमतामा असर पर्छ कि पर्दैन भनेर केलाउन थाले।
रोथ र उनको समूहले विभिन्न मितिमा परीक्षा दिइरहेका विद्यार्थीहरूलाई पछ्याए। त्यो परीक्षा विद्यार्थीहरूको निम्ति महत्वपूर्ण थियो, जसले उनीहरूको भावी शिक्षा र करिअर निर्धारण गर्न सक्थ्यो।
रोथले परीक्षाको दिन हावामा प्रदूषण स्तर नापे। एउटै कक्षा पढ्ने उत्तिकै बौद्धिक स्तरका विद्यार्थीलाई फरक–फरक दिन जाँच लिइएको थियो। जे नतिजा निस्क्यो, त्यो देखेर रोथ चकित परे।
उही स्तरका विद्यार्थीहरूले पाएको नम्बर आनका तान फरक थियो। र, यो फरकको सम्बन्ध सिधै जोडिन्थ्यो, प्रदूषणसँग।
जुन विद्यार्थीले हावा प्रदूषित भएको दिन जाँच दिएका थिए, उनीहरूले कम नम्बर ल्याए। हावा तुलनात्मक शुद्ध हुँदा जाँच दिनेहरूको अंक बढी आयो।
'हाम्रो बौद्धिकता र कार्यक्षमतामा प्रदूषणको सिधा असर देखियो। उही स्तरका विद्यार्थीलाई उही ठाउँमा राखेर जाँच लिँदा पनि नतिजामा व्यापक अन्तर आयो,' रोथ भन्छन्, 'सबभन्दा रोचक त, हावा प्रदूषित हुनु केही दिनअघि र केही दिनपछिको नतिजामा खासै असर परेन। ती दिनहरूमा जाँच दिनेले लगभग उस्तै अंक ल्याए। प्रदूषणकै दिन मात्र विद्यार्थीको क्षमता घटेको पाइयो।'
यसको दीर्घकालीन असर हेर्न रोथले आठदेखि दस वर्षपछि तिनै विद्यार्थीलाई पछ्याए।
अध्ययन क्रममा जुन–जुन विद्यार्थीले हावा प्रदूषित हुँदा जाँच दिएर कम अंक ल्याएका थिए, उनीहरू तल्लो श्रेणीका विश्वविद्यालयमा पढ्दै थिए। उनीहरूको आम्दानी पनि अरूभन्दा कम थियो। जबकि, राम्रो अंक ल्याउनेहरू तुलनात्मक राम्रो शिक्षा र राम्रो करिअर बनाउँदै थिए।
'प्रदूषणको असर अल्पकालीन देखिए पनि, कोही मान्छे जिन्दगीको महत्वपूर्ण घडीमा प्रदूषणको शिकार भयो भने दीर्घकालसम्म उसको जिन्दगी प्रभावित हुन सक्छ,' रोथ भन्छन्।
यही आधारमा उनले निष्कर्ष निकाले– प्रदूषणले मान्छेको उत्पादकत्व वा कार्यक्षमता घटाउँछ। यो निष्कर्षलाई सन् २०१६ को अर्को अध्ययनले समर्थन गर्यो।
यिनै प्रारम्भिक अध्ययनहरूका आधारमा रोथले सन् २०१८ मा प्रदूषणसँग सम्बन्धित अर्को बृहत् अध्ययन गरे, जुन प्रदूषण र अपराधको सम्बन्धमाथि केन्द्रित थियो।
रोथ र उनको समूहले लन्डनका छ सयभन्दा बढी निर्वाचन क्षेत्रबाट दुई वर्षको अपराध तथ्यांक संकलन गरे। ती तथ्यांक विश्लेषणबाट उनले के थाहा पाए भने, धेरैजसो सानातिना अपराध हावा बढी प्रदूषित बेला हुँदा रहेछन्।
हुन त एउटै अध्ययनबाट प्रदूषण र अपराधको सम्बन्ध जोड्ने यति ठूलो निष्कर्षमा पुग्न गाह्रो होला, तर रोथसँग यसलाई साबित गर्ने केही प्रमाण छन्।
अध्ययन क्रममा उनले जुन–जुन ठाउँको अपराध विवरण केलाएका थिए, त्यही–त्यही ठाउँमा अपराध हुँदाको प्रदूषण पनि मापन गरेका थिए।
प्रदूषित हावा कहिले पनि एकै ठाउँ स्थिर भएर बस्दैन। हावाको वेगसँगै त्यसमा मिसिएका धूलो र धुवाँका कण एक ठाउँबाट अर्को ठाउँ घुमिरहन्छ। हावा जता बहन्छ, धूलोधुवाँ त्यतै पुग्छ।
सहरको एउटा ठाउँबाट सुरू हुने प्रदूषण हावाको वेगसँगै सहरका विभिन्न ठाउँ चहार्छ। यसले धनी र गरिब हेर्दैन। शिक्षित र अशिक्षित छुट्टयाउँदैन। चाहे गरिबहरू बस्ने इलाका होस् वा धनीहरू बस्ने, बसोबास स्थलको सरसफाइमा फरक पर्ला, हावा भने बराबर प्रदूषित हुन्छ।
'हामीले हरेक दिन हावाको वेग कताबाट कता बगेको छ भन्ने हेर्यौं। त्यसैलाई पछ्याउँदै जाँदा कुनै खास दिनमा जुन ठाउँको हावा बढी प्रदूषित हुन्छ, त्यहाँको अपराध विवरण केलायौं,' रोथ भन्छन्, 'तपाईंहरू छक्क पर्नुहोला, प्रदूषित हावा जहाँ–जहाँ पुग्यो, त्यो दिन त्यो ठाउँको अपराध दर ह्वात्तै बढेको पाइयो। अरू बेला भने फेरि सामान्य अवस्थामा फर्कन्थ्यो।'
अझ महत्वपूर्ण कुरा त, सामान्य प्रदूषणले पनि अपराध घट्ने वा बढ्ने क्रममा ठूलो प्रभाव पारेको थियो।
'हावामा प्रदूषणको मात्रा तोकिएको मापदण्डभन्दा कमै हुँदा पनि आपराधिक गतिविधि बढ्ने गरेको तथ्य हामीले फेला पार्यौं,' रोथ भन्छन्।
भन्नुको मतलब, अमेरिकाको प्रदूषण नियन्त्रण इकाईले जस्तो हावालाई 'राम्रो' भनी वर्गीकरण गरेको छ, त्यसले पनि अपराध बढाउनमा भूमिका खेलेको पाइयो।
रोथको यो अध्ययनले स–साना अपराधमा प्रदूषणको सम्बन्ध देखाए पनि हत्या, बलात्कारजस्ता जघन्य अपराधमा प्रदूषणको असर पुष्टि गर्न सकेन। सन् २०१८ को अर्को अध्ययनले भने यसको पनि सम्भावना औंल्याएको छ।
एमआइटीका ज्याक्सन लुको नेतृत्वमा भएको अध्ययनले लगभग सम्पूर्ण अमेरिकालाई समेटेको थियो। यसमा नौ हजारभन्दा बढी अमेरिकी सहरको नौ वर्षको अपराध तथ्यांक केलाइएको थियो।
अध्ययन भन्छ, 'हावा प्रदूषणले पाँच किसिमका अपराधमा भूमिका खेल्छ — हत्या, बलात्कार, डकैती, कार चोरी र हातपात। जुन सहरको हावा बढी प्रदूषित छ, त्यहाँको अपराध दर पनि बढी छ।'
यो अध्ययनले जनसंख्या, रोजगार, उमेर र लैंगिक आधार पनि केलाएको थियो। तर, यी सबैभन्दा माथि प्रदूषण नै अपराध बढ्नुको मुख्य कारक फेला पर्यो।
अर्को एउटा अध्ययन पनि छ, जसमा ६ सय ८२ भन्दा बढी किशोरहरूका अवाञ्छित गतिविधि केलाइएको छ। यसमा धोकाधडी, चोरी, हुलदंगा, तोडफोड लगायत छन्।
साउदर्न क्यालिफोर्निया विश्वविद्यालयका डायना युनान र उनको समूहले १२ वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गरेका थिए। उनीहरूले हावामा प्रदूषणको मात्रा पीएम २.५ (अर्थात्, धूलोधुवाँको कण मान्छेको रौंभन्दा ३० गुणा सानो) हुँदा के–कस्ता अवाञ्छित गतिविधि भए भनी केलाएका थिए।
यो अध्ययनले पनि 'मान्छेको अवाञ्छित गतिविधिलाई हावाको प्रदूषणले प्रत्यक्ष असर पार्छ' भन्ने निष्कर्ष निकालेको छ।
प्रदूषण र अपराधको यो सम्बन्धलाई सामाजिक–आर्थिक स्थितिले मात्र व्याख्या गर्न सकिन्न। युनानको समूहले अभिभावकहरूको शिक्षा, गरिबी, छरछिमेक कस्ता छन् लगायत थुप्रै पक्षहरू पनि केलाएको थियो।
'कुनै पनि मान्छेले वयस्क भएपछि कस्तो व्यवहार गर्छ भन्ने उसको किशोरावस्थाको व्यवहारबाट आकलन गर्न सकिन्छ,' युनान भन्छन्, 'ठूलो भएपछि आपराधिक गतिविधिमा लाग्ने वा कुनै किसिमको अवाञ्छित क्रियाकलाप गर्ने व्यक्तिहरू सामान्यतया स्कुलमा राम्रो अंक नल्याएका र पछि गएर बेरोजगार बसेका हुन सक्छन्।'
'यसले देखाउँछ, हामीले प्रारम्भिक दिनमै मान्छेको आनीबानी हस्तक्षेप गर्न सक्यौं भने त्यसले उसको भविष्य सपार्न सक्छ,' उनी भन्छन्।
हावा प्रदूषणले मान्छेको नैतिकतामा कस्तो असर पार्छ भनेर पनि युनानले व्याख्या गरेका छन्।
उदाहरणका लागि, हामी कुनै नयाँ ठाउँ जाँदैछौं। त्यो ठाउँ कस्तो होला भनेर 'गुगल' गर्दा अत्यधिक प्रदूषित छ भन्ने थाहा पायौं। थाहा पाउँदा–पाउँदै हामीसँग भ्रमण रद्द गर्ने विकल्प छैन भने हाम्रो मनमा कस्तो असर पर्ला?
युनानका अनुसार, यस्तो बेला प्रदूषित हावामा सास फेर्नुपर्ने कल्पनाले मात्र हाम्रो दिमाग रन्थनिन्छ। मन अस्थिर हुन्छ। हामीलाई बेचैन र चिड्चिडा बनाउँछ।
यसलाई युनानले 'प्रदूषणको कल्पनाले मानसिक रूपमा पार्ने नकारात्मक असर' भनेका छन्।
यो अध्ययन निम्ति मान्छेलाई भौतिक रूपमै अत्यधिक प्रदूषित ठाउँमा लगेर राख्न सम्भव थिएन। त्यसैले, अनुसन्धाताहरूले अर्को राम्रो र नैतिक रूपमा स्वीकार्य विकल्प छाने।
उनीहरूले अनुसन्धान निम्ति अमेरिकी र भारतीय नागरिक रोजे। दुवैलाई संसारको कुनै अत्यत्न प्रदूषित सहरको तस्बिर देखाए। र, त्यो ठाउँमा स्थायी रूपले बसोबास गरेको कल्पना गर्न लगाए।
'हामी अनुसन्धानका सहभागीहरूलाई मानसिक रूपले प्रदूषणको अनुभूति गराउन चाहन्थ्यौं,' युनान विस्तार लगाउँछन्, 'त्यसैले, अत्यन्तै प्रदूषित सहरको तस्बिर देखाएर त्यहीँ बसोबास गरेको कल्पना गर्न लगायौं। त्यस्तो ठाउँमा बस्दा उनीहरूको जीवन कस्तो होला भनेर सोध्यौं।'
'यो प्रक्रियाबाट अनुसन्धानका सहभागीहरूले प्रदूषित र शुद्ध वातावरण भएको सहरमा जीवनयापन गर्दा के फरक हुन्छ भनी मानसिक अनुभूति गर्न पाए,' उनी भन्छन्।
उनका अनुसार, प्रदूषित सहरमा बस्ने कल्पनाले नै सहभागीहरूको तनाव बढेको थियो। उनीहरू आत्मकेन्द्रित भएका थिए। दुई जनाले त जवाफै दिए, 'त्यस्तो ठाउँमा त मेरो रिसको पारा चढ्छ होला, म बेचैन भएर गैरजिम्मेवार हरकतहरू गर्छु होला।'
'हामी सबैलाई थाहा छ, जब रिसको पारा चढ्छ, जब मान्छे बेचैन हुन्छ, तब ऊ के गर्ने, कसो गर्ने भनेर छट्पटाउन थाल्छ। उसको मन काबूमा हुँदैन। त्यस्तो बेला कति मान्छे आफू अगाडिको सामान उलटफेर गर्ने, मुड्की बजार्ने वा चिच्याउने गर्छन्। कति त सानोभन्दा सानो निहुँमा अर्को मान्छेमाथि हात छाड्छन्। यसरी मनको भडास पोखेपछि बल्ल मान्छे स्थिर भएको हामीले देखेका छौं,' युनान भन्छन्।
यही अवस्था प्रदूषित सहरमा पनि लागू हुन्छ, उनी भन्छन्, 'हावा प्रदूषणले जब मान्छेको तनाव र छट्पटी बढ्छ, तब ऊ गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थाल्छ। अवाञ्छित गतिविधिहरू गर्छ।'
यसैमा थप अनुसन्धान गर्दै जाँदा 'प्रदूषित' वातावरणमा बस्नेहरू कामचोर हुन्छन् र आफ्नो क्षमतालाई बढी आँक्छन् भन्ने पनि युनान र उनको समूहले पत्ता लगाए।
'यो अनुसन्धान सुरूआत मात्र हो,' युनान व्याख्या गर्छन्, 'मान्छेमा यस्तो मानसिक परिवर्तन देखिनुका पछाडि उसको बढ्दो तनाव, छट्पटी र आत्मकेन्द्रित स्वभावबाहेक अन्य धेरै कारण हुन सक्छन्। भविष्यमा हुने थप अध्ययनले यसलाई अझ उजागर गर्दै जाला।'
उनका अनुसार, प्रदूषित हावामा सास फेर्दा त्यसले मान्छेको शरीरमा अक्सिजनको मात्रालाई प्रभाव पार्न सक्छ। यसले मस्तिष्कमा 'शुद्ध हावा' को प्रवाह घटाइदिन सक्छ। शुद्ध हावाको मात्रा कम भएपछि मस्तिष्कले देखाउने प्रतिक्रियाहरू असन्तुलित हुन्छन्। यसको सिधा असर मान्छेको गतिविधि र व्यवहारमा देखिन्छ।
दूषित हावाले नाक चिलाउने, घाँटी खसखसाउने, टाउको दुख्ने लगायतका शारीरिक प्रभावहरू पनि देखिन्छन्। यी सबैले मान्छेको सोच्ने र काम गर्ने क्षमता नै खल्बलिन्छ।
यति मात्र होइन, हावामा हुने धूलोधुवाँका कणहरू शरीरमा प्रवेश गरेपछि मस्तिष्कका तन्तुहरू सुन्निन्छन्, जसले हाम्रो मस्तिष्क संरचना र स्नायु प्रणालीमा नराम्रो असर छाड्ने वैज्ञानिक अनुसन्धानले देखाएको छ।
'प्रदूषित हावामा सास फेर्दा हाम्रो मस्तिष्कको अगाडिको भागले राम्ररी काम गर्न सक्दैन,' युनान विस्तार लगाउँछन्, 'तनाव नियन्त्रण गर्ने, कार्यक्षमता बढाउने र आत्मनियन्त्रण कायम राख्ने भाग यही हो।'
अपराध दर बढाउनुका साथै हाम्रो मानसिक स्वास्थ्यमा पनि प्रदूषणले गम्भीर समस्या ल्याउने अध्ययनहरूको निष्कर्ष छ।
सन् २०१९ मार्चमा भएको एक अध्ययनअनुसार धेरै समय प्रदूषित हावाको सम्पर्कमा रहने किशोरहरूमा मानसिक विचलनको समस्या पाइएको छ। उनीहरू चर्को आवाज सुनेर तर्सिन्छन्।
यो अध्ययनले पनि हावा प्रदूषण र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध देखाएको किङ्ग्स कलेज लन्डनका प्रमुख अनुसन्धाता जोअना न्यूबरी बताउँछिन्।
'प्रदूषित हावाले मान्छेको मानसिक स्थिति खल्बल्याउँछ भन्ने हाम्रो पनि निष्कर्ष रह्यो,' उनी भन्छिन्, 'प्रदूषित हावा हाम्रो शरीरका लागि जति हानिकारक छ, हाम्रो मस्तिष्कलाई पनि त्यत्तिकै हानी पुर्याउँछ।'
यी सबै अध्ययनका आधारमा हामी एउटा कुरा प्रस्टसँग भन्न सक्छौं, हावा प्रदूषणले समाजमा पुर्याउने नकारात्मक असरहरूको दायरा हामीले सोचेभन्दा निकै फराकिलो छ। यसले हाम्रो स्वास्थ्यमा मात्र असर पार्छ भन्ने धेरैलाई लाग्छ। तर, लामो समय प्रदूषित हावामा सास फेर्दा हाम्रो दैनिक कार्यक्षमता, सोचविचार गर्ने शक्ति र निर्णय क्षमता पनि घटिरहेको छ।
सँगसँगै, यसले उत्तेजना, रिस, तनाव र छट्पटी बढाउने हुँदा हामीलाई विभिन्न गलत कामहरूमा लाग्न कुत्कुत्याउँछ। फलस्वरुप, प्रदूषण जति बढ्यो, समाजमा अपराधको दर उति बढ्छ।
प्रदूषणले पार्ने यस्ता बृहत् प्रभावहरूबारे व्यापक जनचेतनाको खाँचो अनुसन्धाताहरू औंल्याउँछन्।
'हामीले यस्तै अनुसन्धान विभिन्न देश र विभिन्न उमेर समूहहरूमा गर्दै जानुपर्छ। यसले अध्ययनको निष्कर्ष अझ बढी प्रमाणित हुँदै जान्छ, जसले प्रदूषण नियन्त्रणमा बल पुग्नेछ,' युनान भन्छन्।
उनका अनुसार, तत्कालै सबै किसिमका प्रदूषणबाट त्राण पाउन सम्भव नभए पनि दैनिक रूपमा हामी कुन स्तरको प्रदूषित हावामा सास फेर्दै छौं भनी आफैं मापन गर्न सक्छौं। प्रत्येक दिन घरबाट बाहिर निस्कँदा हावामा प्रदूषणको मात्रा नाप्न सक्छौं। कुन दिन हावा बढी विषाक्त छ र कुन दिन प्रदूषणको मात्रा ठिकै छ भनी घरै बसी–बसी हेर्न पनि सक्छौं।
'जुन दिन हावामा धूलोधुवाँका कणहरू धेरै देखिन्छन्, त्यो दिन अनावश्यक रूपले घरबाहिर ननिस्कनू भनेर म सबैलाई सल्लाह दिन्छु,' युनान भन्छन्।
पछिल्लो समय धेरै देशहरूले प्रदूषण नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गर्दै छन्। उद्योगधन्दा वा सवारीसाधनबाट निस्कने धूलोधुवाँ नियन्त्रण गर्न विभिन्न नियमहरू लागू गरिँदैछ। कलकारखानाहरूमा प्रदूषण नियन्त्रण गर्ने उपकरण अनिवार्य गरिँदैछ। पेट्रोल र डिजेलबाट चल्ने गाडीको सट्टा विद्युतीय वाहनहरूलाई प्रोत्साहन गरिँदैछ।
क्यालिफोर्नियाको उदाहरण लिउँ। त्यहाँ सरकारी हस्तक्षेपपछि प्रदूषणको मात्रामा व्यापक कमी आएको छ। त्योसँगै अपराध दर पनि घटेको छ।
'क्यालिफोर्नियाको नतिजा उत्साहजनक छ,' युनान भन्छन्, 'प्रदूषण नियन्त्रणसँगै त्यहाँ अपराध दर पनि घट्नु संयोग हो कि साँच्चै हामीले भनेजस्तै प्रदूषण र अपराधको सम्बन्ध पुष्टि गर्ने आधार हो भन्ने अहिल्यै यकिनसाथ भन्न सकिन्न।'
यसबीच लन्डनमा सन् २०१९ अप्रिल ८ देखि 'न्यूनतम प्रदूषण क्षेत्र' तोकिएको छ, जहाँ प्रदूषण नियन्त्रणका कडा मापदण्ड लागू गरिएका छन्। मापदण्ड तोड्नेलाई उच्च जरिवाना तिराइन्छ। कुनै गाडीले मापदण्डभन्दा बढी धुवाँ फ्याल्यो भने दैनिक करिब २५ पाउन्ड जरिवाना तिराइन्छ।
यही अभियानअन्तर्गत लन्डनमा वातावरणमैत्री सार्वजनिक बसहरू प्रशस्त गुड्न थालेका छन्।
'धेरै देशले प्रदूषण नियन्त्रणमा राम्रो काम गर्दै छन्, तर यसलाई अझ बढाउनुपर्ने खाँचो छ,' रोथ भन्छन्, 'यो सरकारको मात्र जिम्मेवारी होइन। तपाईं र मेरो पनि जिम्मेवारी हो। जब हामी कुनै चिज किन्दा, कुनै ठाउँमा आउजाउ गर्दा त्यसबाट हुनसक्ने प्रदूषणको ख्याल राख्न थाल्छौं, तब त्यसले स्वतः प्रदूषण नियन्त्रणमा सघाउ पुर्याउँछ।'
'प्रदूषणले पार्ने असरहरूबाट सरकार त चनाखो हुनुपर्ने छँदैछ, हामी पनि जति बढी चनाखो भयौं, त्यति हाम्रै लागि फाइदाजनक छ,' उनी भन्छन्।
हामी आफैंले प्रदूषण नगर्ने र सकभर प्रदूषणबाट बच्ने उपाय अपनायौं भने त्यसले हाम्रो शरीर, मस्तिष्क र आनीबानीलाई फाइदा पुर्याउनेछ।
हामी सतर्क भएनौं भने, त्यो दिन टाढा छैन, जब सहरका चोक–चोकमा सादा र वर्दीवाला प्रदूषण प्रहरीहरू खटिएका देखिने छन्।
तपाईं–हामी बस्ने टोलको हावामा कुनै दिन धूलोधुवाँको कण बढी देखियो भने त्यहाँ 'अलर्ट' जारी हुनेछ। प्रदूषण प्रहरीहरू साइरन बजाउँदै आउनेछन् र हामीसँग सोधपुछ गर्न थाल्नेछन्– कतै प्रदूषणले तपाईंलाई अपराध गर्न उक्साइरहेको त छैन?
(यो स्टोरी बिबिसी फ्यूचरबाट अनुवाद गरिएको हो।)