सुर्खेत सिम्ता गाउँपालिका–६ घोडेरीका ईन्द्र बहादुर बुढाको बुढेसकाल सुरू हुनेबेलादेखि नै आँखा कमजोर हुँदै गए। आफ्नो आँखाको सामान्य कमजोरी अनुभव गर्दागर्दै उनका आँखा पूर्ण रूपमा बन्द भए। आधा दशकभन्दा बढी समय अन्धकारमा रुमलिएका बुढाले पुस १८ गतेबाट फेरि उज्यालो देख्न थाले।
‘हामी यति जना यहाँ छौं, हामी सबै अँध्यारोमा थियौं,’ सिम्ता गाउँपालिकाले गरेको नि:शुल्क आँखा शिविरमा उपचार गराएकाहरूलाई देखाउँदै उनले भने, ‘यहाँ भएका हामी सबै आँखा देख्ने भयौं, हाम्रो सरकारको जय होस्।’
सिम्ता गाउँपालिका–३ का चिने वादीको पनि आँखाको ज्योति गुमेको वर्षौं भइसकेको थियो।
गाउँमै भएको नि:शुल्क आँखा शिविरपछि यो वर्षदेखि फेरि उनको आँखाको ज्योति फर्किएको छ।
‘हामी आँखा नदेख्ने, एक किसिमले खत्तम भइसकेका मान्छे हौं,’ उनले भने, ‘हामी गरिबको उपचार गरिदिनुभयो, यसका लागि हाम्रो सरकारलाई धन्यवाद छ।’
सुर्खेतको सिम्ता गाउँपालिकाले वर्षेनी गाउँपालिका र आसपासका आँखासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गर्दै नि:शुल्क रूपमा आँखा शिविर सञ्चालन गर्दै आएको छ।
‘जनतासँग सिम्ता गाउँपालिका’ कार्यक्रमअन्तर्गत गरिने नि:शुल्क आँखा शिविरबाट कैयौं यस्तो समस्या भएका नागरिकले राहत पाएका छन्।
‘आँखा नदेखिने, हिँड्नेबेला लडिहाल्ने, कहाँकहाँ चोटपटक लाग्ने,’ आँखाको अपरेसनपछि उज्यालो देखेकी सिम्ता–५ की बाटु लुहारले भनिन्, ‘अहिले देख्न सकिने भयो, हाम्रो साँच्चै अभिभावक त सरकार हुनुभयो।’
उनले पनि केही वर्षअघि आँखाको ज्योति गुमाउनुपरेको थियो।
सिम्ता गाउँपालिकाले यो वर्ष आयोजना गरेको आँखा शिविर दोस्रो हो।
यो वर्षको शिविरबाट छिमेकी जिल्ला सल्यानको वनगाडकुपिण्डे नगरपालिका र सिम्ता गाउँपालिकाका आँखासम्बन्धी समस्या भएको नागरिक लाभान्वित भएका छन्।
यो वर्ष पुस १७, १८ र १९ गतेसम्म सञ्चालन गरिएको शिविरबाट १०९ जनाको आँखाको अपरेसन गरिएको छ।
यस्तै, ५४९ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि प्रदान गरिएको छ भने १९७ जनालाई चस्मा वितरण गरिएको छ।
गत वर्षदेखि सिम्ता गाउँपालिकाले आफ्नो स्थानीय तह तथा छिमेकी स्थानीय तहका नागरिकलाई मध्यनजर गर्दै विभिन्न सम्बन्धित निकायसँगको सहकार्यमा नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।
गाउँपालिकाका अनुसार गत वर्षको शिविरमा १५५ जनाको आँखाको अपरेसन गरिएको थियो भने ८८९ जनाको आँखा परीक्षण र ७९ जनालाई चस्मा वितरण गरिएको थियो।
आँखाको शल्यक्रिया गर्न नेपालगञ्ज वा दाङको तुलसीपुर जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नै शिविर सञ्चालन गर्ने गरेको अध्यक्ष कविन्द्र कुमार केसीले बताए।
उनले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिन बर्सेनी शिविर आयोजना गर्ने गरिएको बताए।
‘स्थानीय नागरिकले सानो समस्याको टाढा पुगेर पनि महँगो र झन्झटिलो उपचार गराउनुपर्दा गाउँमा सरकार भएको औचित्य नै भएन,’ उनले भने, ‘सानातिना समस्या स्थानीय सरकारकै तर्फबाट समाधान गर्ने उद्धेश्यले वर्षेनी यस्ता सेवाहरू दिने गरेका छौं।’
शिविर सञ्चालन हुँदासम्म उपचारका लागि आएका नागरिकहरूलाई खान र बस्नको समेत व्यवस्था गर्ने गरिएको केसीले जानकारी दिए।