'सारंगी बजाउने केटी' भनेको सुन्दा सुजिना बज्राचार्यलाई सुरूसुरूमा असहज लाग्थ्यो।
अचेल रमाइलो लाग्छ।
बर्त गन्धर्व, मीनु वाइवा, आयुष्मा जोशीजस्ता थोरै महिला सारंगीवादकको सूचीमा आफ्नो नाम पनि जोडिँदा उनी रमाउनु स्वभाविकै हो।
नेपाली संगीत क्षेत्र नियाल्ने हो भने, सारंगी मात्रै होइन, बाजा बजाउने धेरै अनुहार पुरुष नै छन्। गाउने र लेख्ने काममा महिला अभाव नभए पनि हामीकहाँ महिला वाद्यवादक र संगीतकारको संख्या न्यून देखिन्छ।
सुजिना तिनै थोरै वाद्यवादकमा पर्छिन्।
उनी भन्छिन्, 'सारंगीको माग बढी, मान्छे कम छौं। सारंगी बजाउने केटी त झनै कम। कामको खाँचो छैन, दौडादौड छ।'
स्टुडियो रेकर्डिङ, लाइभ कन्सर्ट, रेस्टुरेन्ट र सांस्कृतिक जमघट आदि उनी दौडिने ठाउँ हुन्। यस्ता ठाउँमा बजाउन केही दिन 'रिहर्सल' गर्नुपर्छ।
कहिलेकाहीँ त 'अन द स्पट' पनि बजाउनु पर्छ।
सारंगी एकल र अरू बाजासँग संगतमा पनि बजाइन्छ। सुजिना प्रायः अरूकै 'प्रोजेक्ट'मा व्यस्त छिन्। भर्खरै सम्पन्न नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा कुटुम्ब समूहको नेतृत्वमा ३५० भन्दा बढी संगीतकारले प्रस्तुति दिएका थिए। त्यो सामूहिक प्रस्तुतिमा सुजिना पनि सहभागी थिइन्।
सुजिना बाँसुरी, धिमे, भायोलिन हुँदै सारंगीको संगतमा आइपुगेकी हुन्।
काठमाडौं, इन्द्रचोकनजिकै यखाः टोलमा हुर्केकी उनलाई जात्रापर्वमा बज्ने नेवारी बाजाका आवाजले रोमाञ्चित बनाउँथ्यो। २०७० तिर गुठीमार्फत टोलटोलमा संगीत सिकाउने क्रममा सुजिना बाँसुरी र धिमे बजाउने समूहमा मिसिइन्। केटीहरूलाई पनि बाजा सिकाउन थालिएपछिको तेस्रो ब्याचकी विद्यार्थी हुन् उनी।
बाजा सिकेपछि उनी जात्रापर्वमा बाँसुरी र धिमे बजाउँदै हिँड्न थालिन्। बेलाबेला बजाउनकै लागि काठमाडौंबाहिर पुग्ने अवसर पाइन्।
भम्चा (दुलही) लिन जाँदा जन्ती पक्षले लैजाने बाजा बजाउने समूहसँगै उनी जनकपुर पुगेकी थिइन्। त्यहीँ भेटिएकी न्यूरोडकी रोजिना डंगोलसँग भएको कुराकानीले उनको जीवनमा नयाँ आयाम थपिदियो। महिला सदस्यमात्र भएको इन्स्ट्रुमेन्टल ब्यान्ड 'श्रीतारा'की बाँसुरीवादक रोजिनाले सुजिनालाई ब्यान्डमा सँगै काम गर्ने प्रस्ताव राखिन्।
यसअघिसम्म सुजिनाका लागि बाजा बजाउने रूचि जात्रापर्वमा बजाउने कुरामै सीमित थियो। न्युरोडकै शारदा डंगोलले नेतृत्व लिएको श्रीताराकी सारंगीवादक बर्त गन्धर्वले भर्खरै ब्यान्ड छोडेको बेला थियो। धिमे, मादल, बाँसुरी, खिनी आदि परम्परागत बाजा बजाउने ब्यान्ड श्रीतारामा प्रवेश पाउन सुजिनाले सारंगी सिक्नुपर्ने भयो।
उनी सम्झिन्छन्, 'ब्यान्डमा आउन शारदा दिदीले पनि भनेपछि गम्भीर भएँ। केटीहरूको ब्यान्ड भएकाले काम गर्ने रहर लाग्यो।'
श्रीतारा ब्यान्ड सन् २००९ मा आनी छोइङ डोल्माको नेतृत्वमा स्थापना भएको थियो। युवा पुस्ताले मौलिक परम्परा र संस्कृतिलाई माया गर्ने सन्देश दिन पनि श्रीतारा सफल रह्यो। सुजिनाका लागि त श्रीतारा कोशेढुंगा नै बन्यो।
सुजिनाका अनुसार महिला मात्र भएकाले श्रीताराका सदस्यलाई ब्यान्डमा समय दिने चुनौती थियो। पढाइ, जागिर र घरव्यवहारको कामसँगै लैजान उनीहरू अझै पनि संघर्षरत छन्। सुरूआती चरणमा जस्तो सक्रिय हुन नसके पनि ब्यान्डका सदस्य अझै भेटघाट र अभ्यास गर्न छाडेका छैनन्।
ब्यान्डको अस्तित्वका लागि संघर्ष गर्नु परिरहेको बेला सुजिना आफ्नै घरायसी समस्यामा पनि फसेकी थिइन्। उनका बुवाले दोस्रो बिहे गरेकाले संगीतमा केन्द्रित हुनुपर्ने समय उनले नागरिकता बनाउने चक्करमा खर्चिनुपर्यो।
'आमाबुवा छुटिएपछि मैले नागरिकता बनाउने बेला कानुनी झमेला भयो। सात वर्ष धाउनुपर्यो,' उनी भन्छिन्, 'मेरो जिन्दगी नागरिकताको पछि लागेरै बित्ला जस्तो लाग्थ्यो।'
बुवा गएपछि सुजिना आमाको अभिभाकत्वमा हुर्किन्। उनकी आमा घरमै लुगा सिउने काम गर्थिन्। सुजिना सानैदेखि स्कुलको पढाइ र घरको काममा सन्तुलन राख्नुपर्ने दबावमा बढिन्। गृहकार्यसँगै आमाले तोकेका संख्याअनुसार पछ्यौरी, ब्लाउज, गाउन, वान पिस आदि तयार पार्न उनलाई भ्याइ–नभ्याइ हुन्थ्यो। स्कुल नगएर भए पनि आमाको काममा सघाउनुपर्थ्यो।
हरेक दिन बिहान ४ देखि ६ बजेसम्म कपडाका 'पिस' तयार पारेपछि नौ बजेसम्म उनी शारदाको घरमा श्रीताराका सदस्यसँग अभ्यास गर्थिन्।
उनी थप्छिन्, 'त्यसपछि दिनभर नागरिकताका लागि धाउनुपर्थ्यो।'
गत वर्ष नागरिकता बनेपछि बल्ल खुलेर संगीतमा केन्द्रित हुन पाएको उनी बताउँछिन्। संगीतमै लाग्ने भनेर यति बेला एउटा गैरसरकारी संस्थामा गर्दै आएका कामसमेत छोडेकी छिन्।
गत वर्ष उनका लागि खास हुने अर्को पनि कारण छ।
कृष्णाष्टमी अवसरमा उनी २१ दिने साधनामा सहभागी भइन्। नागेन्द्र राईको नेतृत्वमा भएको पुलचोकको बाँसुरीवादक सामूहिक भेलामा उनी एक्ली सारंगीवादक थिइन्। हरेक साँझ छ देखि दस बजेसम्म निरन्तर सारंगी बजाउनुपर्थ्यो।
'२१ दिनमा मैले संगीतको गहिराइ, शक्ति र जादू महशुस गरेँ,' उनी भन्छिन्, 'यस्तो लाग्थ्यो, म सारंगी बजाउँदै छुइनँ, ध्यान गरिरहेछु।'
उक्त 'साधना'पछि आफू झनै गम्भीर भएको उनी बताउँछिन्।
पछिल्लो समय सुजिना श्रीताराबाहेक जटायू, प्रोजेक्ट सारंगीजस्ता समूहसँग पनि नजिक रहेर काम गरिरहेकी छिन्। उनी सारंगीबाहेक जात्राहरूमा अहिले पनि बाँसुरी र धिमे बजाउँछिन्।
सारंगीको र्याइँर्याइँमा उनी रत्तिन थालेको पाँच वर्ष भयो। उनलाई जति सिक्यो उति सिक्नुपर्ने खाँचो महशुस भइरहेको छ। औपचारिकभन्दा बढी आफ्नै बलमा सिकेकी उनले मनिष गन्धर्व र प्रिन्स नेपालीसँग सारंगी कक्षा लिएकी थिइन्। पछिल्लो समय जटायू रेकर्ड्स नजिक रहेर काम गर्ने क्रममा प्रोड्युसर तथा गितारिस्ट निरन डंगोलबाट संगीतको सैद्धान्तिक र व्यवहारिक ज्ञान सिक्न पाएको उनी बताउँछिन्।
हालै स्नातक तह सकाएकी २६ वर्षे सुजिनालाई उनका नजिकका साथीले कहिले बाँसुरी, कहिले धिमे त कहिले भायोलिन बजाएको देखेकाले उनी सारंगीमा पनि लामो समय नटिक्ने दाबी गर्थे। जति समय बित्दैछ, सुजिना र उनका वरिपरिका मान्छेको शंका त्यति घट्दो छ। उनको लगन र व्यस्तता देखेर आमा, दाइसँगै धेरैले उनको कामप्रति सम्मान गर्न थालेका छन्।
सुरूसुरूमा उनलाई पनि सारंगी समातेर व्यर्थै नदुखेको टाउको दुखाइयो कि भन्ने भएको रहेछ। त्यसमाथि गुठीका मान्छे र आफन्तले गर्ने टिकाटिप्पणीले थप अन्योल बढाउँथ्यो। उनी आफैंलाई प्रश्न गर्थिन्– सारंगी बजाएर बाँच्न सकूँला त?
आफ्नै प्रश्नमा रिंगिरहेका बेला उनलाई अरूले सोध्थे– केटी मान्छेले सारंगी बजाएर कहिलेसम्म चल्छ?
कतिले त 'गाइने केटी' भनेरै जिस्काउँथे।
यति बेला उनी ढुक्कले भन्न सक्ने भएकी छिन्, 'अब जिन्दगीभर सारंगी छोड्दिनँ।'
भ्याएसम्म दिनको दुई घन्टा सारंगीलाई दिने सुजिनालाई सारंगीले एकातिर काम र नाम, अर्कोतिर अर्थ र आत्मविश्वास दिएको छ। सुजिनाकै शब्दमा भन्दा, सारंगी उनका लागि नशा बनिसकेको छ। सारंगी बजाउन नपाएका दिन उनलाई केही छुटाए, बिराए झैं हु्न्छ।
सारंगी बाजा मात्रै हैन। यो लामो समयसम्म गन्धर्व समुदायले जोगाएको परम्परा हो। तर लामो समयसम्म सारंगीलाई तल्लो जातले बजाउने बाजाका रूपमा लिइयो। गैरगन्धर्वहरूले सारंगी नछुने, गन्धर्वहरूले बजाएर बाँच्न नसक्ने अवस्था रह्यो। गैरगन्धर्व र महिलाले सारंगी बजाउनु अझै पनि सामान्य मानिने अवस्था छैन।
सुजिना आफ्नै भोगाइ सुनाउँछिन्, 'नेवार केटी भएर सारंगी बोकेर स्टेजमा उभिँदा मात्रै पनि नयाँ काम गरेजस्तो ठानिँदोरहेछ। यसले सांकेतिक अर्थ बोक्ने रहेछ।'
पछिल्ला वर्षमा सारंगी भेला, प्रोजेक्ट सारंगीजस्ता गतिविधिले भविष्यमा सारंगीवादकको संख्या बढ्ने आशा जगाएको छ। नेपाली संगीतमा लोक गीतसंगीतको लोकप्रियताले पनि सारंगीलगायत नेपाली बाजा प्रयोग बढाइरहको छ।
सुजिना जोड दिन्छिन्, 'सारंगीको धून विशेष छ। युवा पुस्ताले सारंगीलाई माया गरे, हाम्रो संस्कृति पनि बाँच्नेछ।'
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी