राजतन्त्रकालमा राजाहरुको मुख्य वासस्थान रहेको नारायणहिटी राजदरवार गणतन्त्र घोषणापश्चात २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले ‘राष्ट्रिय सङ्ग्राहालय’ बनाउने घोषणा गरे। त्यसको आठ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणहिटी दरवार सर्वसाधारणका लागि खुला गरे।
नारायणहिटी राजदरबार संग्राहालयमा रुपान्तरण भएर सर्वसाधारणका लागि खुला भएको ११ वर्ष वित्यो। तर राजाको पोखरा टहलिँदा बस्न बनाइएको रत्नमन्दिर र हिमागृह भने अझै सर्वसाधारणले देख्न पाएका छैनन्।
राजपरिवार पोखरा आउँदा बस्न राजा महेन्द्रले बनाएको रत्नमन्दिर र उनका भाई हिमालयले बनाएको हिमागृहभित्र के छ भन्ने खुल्दुली अझै पनि सर्वसाधारणमा छ।
पोखराका पर्यटन व्यवसायी र केही राजनीतिकर्मीले रत्नमन्दिर र हिमागृह खुलाउन पटक पटक माग गर्दै आएका छन्। यी ठाउँ खुला गरिए पोखरा आउने स्वदेशी र विदेशी पर्यटकलाई घुम्नका लागि अर्को गन्तव्य थपिने र बसाई लम्बिने पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलको दाबी छ।
गणतन्त्र स्थापना पश्चात २०६४ मा सरकारले राजा र उनका परिवारका नाममा रहेको सम्पत्ति नेपाल ट्रष्ट नामक संस्था स्थापना गरेर उसैलाई व्यवस्थापन र संरक्षणको जिम्मा दिएको छ। रत्नमन्दिर र हिमागृह खुलाउन अहिले तयारी थालिएको छ। तर, कसरी खुलाउने भनेर अहिलेसम्म निक्र्यौल भइसकेको छैन।
नेपाल ट्रष्टले यी दुबै स्थानको व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारसँग संझौता गरेर खुलाउने तयारी भएको ट्रष्टका बोर्ड सदस्य याङजोम शेर्पाले बताइन्।
भित्र सर्वसाधारण जानका लागि वञ्चित रहेको यी ठाउँहरुको बुधबार ट्रष्टका अध्यक्ष एवं रक्षामन्त्री इश्वर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, ट्रष्टका सचिव गजेन्द्र कुमार ठाकुर लगायतको टोलीले अवलोकन गर्यो।
सो टोली रत्नमन्दिर र हिमागृहको कोठा–कोठामा पुग्यो, मैदानमा डुल्यो। सिमसिम पानी परिरहेकाले मन्त्री पोखरेल छाता ओढेर फेवाताल किनारको फुट ट्रेकमा हिँडे। सैनिक घेरामा रहेको यो ठाउँमा अहिलेसम्म सर्वसाधारण र पर्यटक घुम्न पाएका छैनन्।
पोखराको बाराही मन्दिर अगाडि पर्यटक घुम्ने फुट ट्रेक भन्दा दरबार हाताभित्र रहेको फुट ट्रेक अझ उत्कृष्ट र एकान्तमय छ। रत्नमन्दिरबाट छिरेर फुट ट्रेक हुँदै बाराही घाट निस्किएको रक्षामन्त्रीको टोलीले त्यसपछि नेपाल ट्रष्टको मैदानको अवलोकन गर्यो।
पोखरा पर्यटन व्यवसायीका तर्फबाट पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले बिहीबार नै रक्षामन्त्री इश्वर पोखरेललाई बुझाएको ज्ञापन पत्रमा यी ठाउँहरु पर्यटकका लागि खुला गर्न माग गरिएको छ।
जवाफमा ट्रष्टका अध्यक्ष एवं रक्षामन्त्री पोखरेलले भने यसको सदुपयोग हुने गरी खुलाउने बताए। नेपाल ट्रष्टको कानुनमा शिक्षा, स्वास्थ्य र पर्यटन व्यवसायको पक्षमा कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई हित हुनेगरी पुर्व धनकुटादेखि पश्चिम सुर्खेतसम्मका चल– अचल सम्पत्ति कानुन अनुरुप प्रयोग हुन्छ।’
स्थानीय र प्रदेश सरकारसँग परामर्श गरेर रत्नमन्दिर र हिमागृह सदुपयोग गरिने बताउँदै उनले भने, ‘यहाँको सरकारलाई पन्छाएर कुनै निर्णय हुँदैन।’
यता, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल ट्रष्टको नाममा रहेका यी सम्पत्ति प्रदेश सरकारले उपयोगमा ल्याउने बताए। पर्यटकका लागि घुम्ने ठाउँका रुपमा विकास गर्न प्रदेशले व्यवस्थापन गर्ने भन्दै उनले ट्रष्टका अध्यक्ष पोखरेलसँग प्रदेशलाई व्यवस्थापन र संरक्षणको जिम्मा दिन आग्रह गरिएको बताए।
नेपाल ट्रष्टले रत्नमन्दिर र हिमागृहका जीर्ण संरचना मर्मत सम्भार गरेको छ। ट्रष्टका पोखरा कार्यालय प्रमुख लक्ष्मी भट्ट क्षेत्रीका अनुसार दरवार परिसरमा सरसफाई गर्ने, दरवारको आँगन र मैदानको दुबोमा पानी हाल्नेदेखि भत्किएका र मक्किएका संरचना फेरिएका छन्।
यी दुई दरबार खुलाउँदा टिकट काटेर सर्वसाधारण र पर्यटक घुम्न पाउने गरी खुलाइने छ। यसबारे कार्यविधि बनाएर अघि बढ्ने र व्यवस्थापनको जिम्मा प्रदेशलाई नै रहने गरी अघि बढ्न लागेको बोर्डका सदस्य शेर्पाले बताइन्।
यो पनि पढ्नुस्
राजतन्त्रको झल्को दिने रत्नमन्दिर र हिमागृहको कथा