पदम तामाङ बुधबार बिहानै झापाबाट काठमाडौं हिँडेका थिए। बिहीबार उनको कुवेत उड्ने टिकट थियो।
छोरी क्रान्ति तामाङ काठमाडौं-३१, मिलनचोकको रूमिज गर्ल्स होस्टलमा बस्थिन्। पदमकी बहिनी कमला तामाङकी नन्द (सोल्टिनी) स्वशिका लिम्बू पनि क्रान्तिसँगै बस्थिन्।
उनीहरू झापाको बुद्ध-शान्ति गाउँपालिका-४ का हुन्।
स्वशिका र क्रान्ति दुवै झापाबाट काठमाडौं आएर होस्टल बस्न थालेको डेढ महिना मात्र हुँदै थियो। दुवै प्लस-टु सकेर स्नातक गर्न होस्टल बस्न थालेका थिए।
पदमले बुधबार आफ्नी बहिनीलाई आफू काठमाडौं आउने र केही सामान ल्याइदिएको बताएका थिए।
‘जाडो धेरै छ भन्ने थाहा पाएपछि मैले ब्ल्याङ्केट बोकेर आएको थिएँ,’ पदमले भने, ‘गाडीमा बसेपछि बाटोभरि कुराकानी भइरहेको थियो।’
काँडाघारीमा आफू साथीसँग बस्ने हुनाले पदमले क्रान्तिलाई साँझ ५ बजे सामान लिन कोटेश्वर आउनू भनेका रहेछन्। त्यसैको तयारीमा दिउँसो ३ बजे स्वशिका नुहाउन भनेर बाथरूम छिरिन्।
महानगरीय बृत्त बानेश्वरका अनुसार उनी होस्टलको तेस्रो तलाको बाथरूम गइन्। क्रान्ति उनलाई पर्खेर कोठामै बसिन्।
क्रान्ति मोबाइलमा आफ्ना बाबुसँग कुरा गर्दै बसिरहेकी थिइन्। स्वशिका बाथरूम छिरेको एक-डेढ घन्टा बित्दा पनि ननिस्केपछि क्रान्ति ढोका ढकढक्याउन पुगिन्।
खुलेन।
होस्टलका दुई महिला कामदार र क्रान्तिसमेत भएर ढोका खोल्न खोजे। नखुलेपछि उनीहरूले बाथरूमको भेन्टिलेसन फुटाए।
स्वशिका बाथरूममा ढलिरहेकी थिइन्।
ढोका फोडेर भित्र छिर्दा उनी चिसो भइसकेकी थिइन्।
तत्कालै उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीसमेत भएर स्वशिकालाई भेनस अस्पताल लगे। भेनसले अन्यत्र लैजान भनेपछि बानेश्वरको सिभिल अस्पताल पुर्याउँदा २० वर्षीया स्वशिकालाई डाक्टरले मृत घोषणा गरे।
‘एकछिनको एकछिनमै के भयो भयो,’ पदमले सेतोपाटीसँग भने, ‘एक छिनअघि सकुशल रहेको मान्छे बितेको देखेर म लल्याक-लुलुक भएँ।’
स्वशिकाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। आमाबाबु रिपोर्ट कुरेर बसेका छन्। भोलिपल्टै कुवेत हिँड्न लागेका पदमले यो घटनापछि आफ्नो टिकट जनवरी १८ तारिखलाई सारेका छन्।
बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार बाथरूमको ग्यास गिजरमा नुहाउन जाँदा युवतीको मृत्यु भएको देखिएको छ।
‘हामीले प्रारम्भिक अनुसन्धान गर्दा बाथरूमको गिजर खोलेर नुहाउँदा अक्सिजन कम भएपछि युवती बेहोस भएको देखियो,’ रेग्मीले सेतोपाटीसँग भने, ‘ढिलो गरी खबर भएकाले बचाउन सकिएन।’
रेग्मीका अनुसार बाथरूमको झ्याल पूर्ण रूपले बन्द भएको अवस्थामा नुहाउने क्रममै अक्सिजन कम भएर बेहोस भई मृत्यु भएको हुनसक्छ।
यस्ता घटना के कति कारणले हुन्छन् भनेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने खाँचो उनले औंल्याए।
यो घटनाको अघिल्लो दिन मंगलबार पनि ललितपुरमा एक जना छात्राको नुहाउन छिर्दा मृत्यु भएको घटना बाहिर आएको थियो।
वीरगन्ज घर भएकी १९ वर्षीया जेनिथ चौहानको बाथरूममा निसास्सिएर मृत्यु भएको थियो। उनी ललितपुर-१५ सातदोबाटोको सुरिवा गर्ल्स होस्टलमा बस्थिन्।