दमकल नछिर्ने काठमाडौंका साँघुरा गल्लीका घरमा आगलागी भए के गर्ने? मान्छेले पानी बोकेर आगो निभाउन साध्य हुँदैन।
काठमाडौं महानगरपालिका वडा नम्बर २५ ले दमकल नछिर्ने ठाउँमा हुने आगलागी नियन्त्रणको उपाय खोजेको छ।
नेपाल रेडक्रस सोसाइटीलगायत संघसंस्थाको सहयोगमा वडाले पाइपलाइनबाट पानी पठाएर आगो निभाउने कामको शनिबार परीक्षण गर्यो।
वडाध्यक्ष निलकाजी शाक्यले केही महिनादेखिको प्रयास शनिबारदेखि सफल भएको बताए।
‘दमकल नछिर्ने सहरका भित्री भागका घरमा आगलागी भए नियन्त्रणका लागि गृहकार्य गरिरहेका थियौं,’ उनले सेतोपाटीसँग भने, ‘पाइपलाइनबाट पानी आगलागी भएकै ठाउँमा पुर्याउने काम सफल भयो।’
साँघुरा गल्लीमा हुने आगलागी नियन्त्रण कसरी गर्ने भन्ने परीक्षण रेडक्रस, नेपाल प्रहरी, नगर प्रहरीलाई पनि देखाइएको छ।
‘एउटा घरको चार तलामाथि आगलागी भयो। हामीले परीक्षणका रूपमा पाइपलाइनबाट पानी पठाएर नियन्त्रण गर्यौं,’ उनले सुनाए, ‘साइरन बजाउँदै आएको दमकल साँघुरो बाटोमा छिर्न सकेन। दमकलको पानी पाइपबाट पठाएर आगलागी नियन्त्रण गरियो। दमकलमै हुने पाइप गल्लीमा बिच्छाइएको पाइपको मुखमा जडान गरेर आगो नियन्त्रण गरियो।’
यो परीक्षण काठमाडौंमा पहिलो भएको उनले दाबी गरे।
‘काठमाडौंमा यस्ता धेरै साँघुरा बाटो आसपास झुरूप्प परेका घरहरू छन्। जहाँ जुनसुकै बेला पनि आगलागी हुन सक्छ,’ उनले भने, ‘आगो लागेपछि समाधान खोज्नुभन्दा अहिलेदेखि नै विकल्प खोज्नुपर्छ। त्यसैले दमकल नछिर्ने ठाउँमा पाइपलाइन बिच्छाउने र पानी पठाउनु राम्रो हुन्छ।’
दमकलले ल्याएको पानीले मात्रै आगो निभाउन सकिँदैन। धेरै पानी चाहिन सक्छ। ‘बस्ती नजिकै चोक आसपासमा पानी भण्डारण ट्यांकी बनाउनुपर्छ। पानी संकलन गरि राख्नुपर्छ,’ उनले भने।
बस्तीमा बिच्छाइएको पाइप आगलागीका बेला मात्रै होइन अरूबेला पनि प्रयोगमा ल्याउन सकिन्छ।
‘पिउनेपानी सप्लाइ गर्न पनि त्यो पाइपलाइन प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने।
वडाध्यक्ष शाक्यका अनुसार अहिले केलटोलदेखि महाबौद्धसम्म एक सय ५० मिटर फलामे पाइप बिच्छाइएको छ। यो परीक्षणका रूपमा मात्रै बिच्छाइएको हो।
‘पाइपलाइनका लागि रेडक्रसले उपलब्ध गराएको पाँच लाख, वडा नम्बर २५ को विपद व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट दुई लाख र स्थानीय बासिन्दाबाट दश लाख रूपैयाँ खर्च गरिएको छ,’ शाक्यले सेतोपाटीसँग भने।
उनले पाइपलाइनबाट पानी पठाएर आगलागी नियन्त्रण गर्न सकिने परीक्षणबाट पुष्टि भएकोले यो योजना काठमाडौं महानगरले अन्य वडामा पनि विस्तार गर्नुपर्नेमा जोड दिए।
‘उपत्यकाभित्र दमकल छिर्न नसक्ने धेरै बस्ती छन् यी ठाउँमा पाइपलाइन बिच्छाउनु पर्छ,’ उनले भने।