सोमबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका-७ बड्डीचौरमा छाउप्रथाबारे सचेतनामूलक कार्यक्रममा गरिएको थियो। प्रहरी आएर धमाधम छाउगोठ भत्काइरहेका बेला समुदाय प्रहरीले गरेको सचेतना कार्यक्रममा किशोरी तथा महिला उल्लेख सहभागिता थियो।
कार्यक्रममा सहभागी महिलाहरूलाई भने छाउगोठ भत्काएर छाउप्रथा सकिन्छ भन्नेमा पटक्कै विश्वास देखिएन।
बराहताल-५ की सुजता कँडेललाई गाउँमा पनि फाट्टफुट्ट छाउगोठहरु छन्। ती गोठहरु आफैं भत्काउन स्थानीयलाई प्रशासनले आग्रह गरिसेको छ।
छाउगोठ भत्काइए पनि छाउप्रथा रहिरहने कुराप्रति सुजता निश्चिन्त छिन्।
‘हाम्रो गाउँमा पनि छाउगोठ छन्, ती पनि सायद भत्काइन्छ होला,’ उनले सेतोपाटीसँग भनिन्, ‘रजस्वला हुँदा गोठमा बस्नु नपरे पनि घर बाहिर नै राख्ने, खान पकाउन नदिने, छुन नदिनेजस्ता कुरा भइरहन्छन्। छाउगोठ भत्काएपछि झन् खुला आकाशमा बस्नुपर्ला कि भन्ने चिन्ता छ।’
बराहताल-७ की संगीता विश्वकर्मा पनि छाउप्रथा नहट्नेमा ढुक्क छिन्।
बाहिरका छाउगोठमात्र भत्काउनुभन्दा पनि गाउँगाउँमै पुगेर छाउप्रथा अन्त्यका लागि सचेतना फैलाउनु पर्ने उनी बताउँछिन्।
‘मेरो गाउँमा छाउगोठ छैनन्, तैपनि बार्नुपर्छ,’ संगीताले भनिन्, ‘बाहिर देखिएको छाउगोठमात्र भत्काउनेभन्दा पनि त्यहाँ गएर मानसिक रूपमा नै छाउपडी मान्ने अवस्था अन्त्य गर्नुपर्यो।’
बराहतालकी गंगा सुवेदी छाउगोठ भत्काउने र सीमित स्थानमा पुगेर दिइने सचेतनाले समाजबाट छाउप्रथा उन्मूलन हुने कुरामा विश्वास छैनन्। ‘छाउगोठ भत्काउन र सम्बन्धित मान्छे आएर एक ठाउँमा बसरे छाउप्रथा अन्त्य गर्नुपर्छ भन्ने खालको सचेतनाले गाउँटोलमा यो कुरा लागू हुन्छ या हुँदैन,’ उनले भनिन्, ‘गाउँमा पनि एउटा समिति जस्तो बनाएर यस विषयमा सम्बन्धित निकायले खोजीनीति गरिदिए हुन्थ्यो।’
गृह मन्त्रालयको निर्देशनअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छाउगोठ भत्काइएको छ।
सुर्खेतमा हालसम्म ३१० वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
गृह मन्त्रालयले छाउपडी मान्ने ठाउँमा छाउगोठ भत्काउन र प्रथा मान्नेको सेवासुविधा रोक्न कर्णाली र सुदूरपश्चिमका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्त अझ पनि छाउगोठ भएका गाउँमा गएर भत्काउन प्रहरीले सहयोग गर्ने बताए। ‘नभत्काइएका ठाउँहरूमा पुगेर प्रहरीले गोठ भत्काउन साथ दिने छ,’ उनले भने, ‘जनचेतनामूलक कार्यक्रमसँगै रजस्वला भएको समयमा छाउप्रथाका नाममा विभेद गरिए कारबाही गर्न सघाउन प्रतिवद्ध छौं।’
कार्डमार्फत् पहिचान गरिनेछ छाउ बार्ने/नबार्ने घर
सुर्खेतको बराहताल गाउँपालिकाले गाउँपालिकाभित्रका सबै घरलाई कार्ड वितरण गरेर छाउप्रथा मान्ने/नमान्ने घरपरिवारको पहिचान गर्ने योजना बनाएको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतका अनुसार यसरी छाउप्रथा मान्ने घरपरिवारको पहिचान गरी छाउप्रथा मान्ने गरेको पाइए गाउँपालिकाबाट दिइने सबै खालका सेवासुविधा रोक्का गरिनेछ।
छाउप्रथा अन्त्यका लागि गाउँ कार्यपालिकाको बैठकले नै यस्तो निर्णय गरेको बस्नेतले बताए। उनका अनुसार गाउँपालिकाबाट वडामार्फत एउटा कार्ड उपलब्ध गराइने छ। त्यो कार्डमा आफ्नो घरमा छाउप्रथा नमान्ने प्रमाणित हुनेखालको व्यवस्था गरिनेछ।
‘कार्डबाट कसको घरमा छाउगोठ छ, कसकोमा छैन भन्ने पहिचान हुन्छ,’ अध्यक्ष बस्नेतले भने, ‘छाउप्रथा मान्ने र गोठ भएको पत्ता लाग्नेबित्तिकै गाउँपालिकाबाट पाउने सेवासुविधाबाट बञ्चित गराइनेछ, अब हामीले वृद्धभत्ता वितरण गर्ने दिन नजिकै आउँदैछ। त्यसैबेलाबाट यो लागू हुनेछ।’
कार्डमार्फत आफ्नो घरमा छाउप्रथा नमान्ने प्रमाणित भए त्यस्तो परिवारलाई पुरस्कृत समेत गरिने उनले बताए। हाललाई १० हजार कार्ड छपाइने अध्यक्ष बस्नेतले जानकारी दिए।