‘अब म चिकित्सा शिक्षा आयोगमा जान्नँ,’ दुर्गा प्रसाईंले मंगलबार होटल एभरेष्टमा पत्रकार सम्मेलन गर्दै भने।
‘किन नजाने?,’ पत्रकारले सोधे।
प्रसाईंले जवाफ दिए, ‘त्यहाँ गयो भने घुस माग्छन्।’
झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले चिकित्सा शिक्षा आयोग उपाध्यक्षले घुस मागेको प्रकरणपछि पनि आफूलाई सम्बन्धनको निवेदन दिन बोलाइएको बताए।
‘गिरी सरको कोही मान्छेले मलाई भेटेर मिलेर जानुपर्यो, सरले आउनुस् फेरि निवेदन लिएर भन्नुभएको छ भन्नुभयो,’ प्रसाईंले भने, ‘उहाँसँग विश्वास छैन, आयोगको अध्यक्ष प्रधानमन्त्री हो, उहाँले भन्नुभयो भने म आउँछु नभए आउँदिनँ भन्दिएँ।’
पत्रकार सम्मेलनमा प्रसाईं आफूलाई राज्यले पटक-पटक पीडा दिएको बताए। नेता र आयोगमाथि विश्वास गुमेको उनले बताए।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोग पर्खाएर राज्यले दु:ख दिएको उनले गुनासो गरे।
‘आशय पत्र पहिले नै पाइसकेको थिएँ, ऐन र आयोग कुराइयो, यी दुबै पूर्ण हुँदा पनि सम्बन्धन दिइएन, सम्बन्धन माग्न जाँदा घुस माग्छन्,’ प्रसाईंले भने, ‘अब मैले के गर्ने?’
अब आफूले रोज्ने एउटै बाटो अदालत रहेको उनले बताए।
‘म अदालत जान्छु, सम्बन्धन किन नदिइएको र ऐनले के भनेको छ भनेर त्यहाँ कुरा उठाउँछु,’ उनले भने।
प्रसाईंले चिकित्सा शिक्षा ऐनमा राजधानीबाहिर आशय पत्र पाइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिइने उल्लेख रहेको बताए।
‘ऐनले मेरो कलेजलाई सम्बन्धन दिन रोकेको छैन, यति हुँदा पनि सम्बन्धन नदिइएकोले अदालत जानुपर्ने भयो,’ उनले भने।
प्रसाईंले चिकित्सा शिक्षा ऐन ‘लाटाको धोती हो?’ भन्दै ‘राष्ट्रपतिले किन लालमोहर लगाएको?’ भनी प्रश्न गरे।
यदि, यो ऐन ठीक छैन भन्ने लागे संशोधन गर्न चुनौती दिए।
‘यो ऐनमा लेखेको कुरा चित्त बुझ्दैन भने सांसदहरूले संशोधन गरून्,’ प्रसाईंले भने।
उनले अब अन्तिम लडाइँ थालेको बताए।
‘अब कि सम्बन्धन पाउँछु कि पाउँदिनँ। नेताहरूसँग अलिअलि कुरा भइरहेको छ, म पार्टीको नेता, सांसद मन्त्री बन्ने हैन, किन चिप्लो लाइरहनु?,’ प्रसाईंले भने।
नेताहरूसँग विश्वास लाग्न छोडेको उनले बताए। नेताहरूले आयोग बनेपछि सम्बन्धन दिलाउँछु भनेको सम्झे।
प्रधानमन्त्री केपी ओलीले नै सम्बन्धन दिलाउँछु भनेको पनि दुई वर्ष भएको उनले बताए।
‘उहाँ बिरामी हुनुहुन्छ, कुरा सुन्न पाउनुभएको छैन होला, श्रीकृष्ण गिरी उहाँले नियुक्ति गरेको मान्छे हो, उहाँले कुरा बुझेर निर्णय लिनुहुन्छ होला नै,’ प्रसाईंले भने।
गिरीले आफूसँग घुस मागेको उनले पटक-पटक दोहोर्याए। गिरीले घुस नमागेको भए आफू उजुरी लिएर हिँड्न आवश्यक थिएन भन्दै उनले थपे, ‘उजुरी गरेपछि द्वारिकाज होटलको सिसिटिभी फुटेज मागेर हेर्छन् होला नि राज्यका निकायले।’
गिरीलाई आरोप लगाउने मात्र आफ्नो उद्देश्य केही नरहेको प्रसाईंले दाबी गरे। ‘मैले निवेदन लिएर जाँदा उहाँले यो-यो कुरा पुगेन, ल्याउनुस् भनेको भए यो सबै लफडा हुँदै हुँदैनथ्यो नि,’ प्रसाईंले भने, ‘उहाँले छुट्टै ठाउँमा बोलाएर घुसको कुरा गर्नुभयो।’
प्रसाईंले गिरीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सोमबार उजुरी दर्ता गराएका छन्।
आयोगमा दर्ता गराएको निवेदनमा प्रसाईंले ‘निवेदन लिएर गएको अवस्थामा नियमानुसार दर्ता गर्नुपर्ने वा रित नपुगेको भए दरपीठ गर्नु पर्नेमा दुबै प्रक्रिया नगरी करकापमा पार्ने उद्देश्यले बीस करोड रूपैयाँ वा १० प्रतिशत सेयर मागेको’ उल्लेख गरेका छन्।
यस्तै, प्रसाईंले निवेदनमा आयोग उपाध्यक्ष हुन गिरीले झुठा विवरण पेश गरेको दाबी गर्दै सो छानविन गर्न माग गरेका छन्।