कालिकोटको शुभकालिका गाउँपालिका–७ की धनकला महतारा ६१ वर्षकी भइन्।
उमेरले ६ दशक काटे पनि उनको भोगाइको हिसाबकिताब भने निकै लामो छ। विकट भूगोल, अभाव, अन्धविश्वास र सामाजिक संरचना मिसिएको उनको भोगाइको इन्द्रेणी रंगीन होइन फिक्काफिक्का छ।
समालागाउँमा धनकलाको माइती र घरनजिकै छ। दूरी नजिकै भएर के गर्नू! माइती छोडेर पराइ घर गएकी छोरीले त्यो बेला आफैंभन्दा अग्लो जिम्मेवारीको भारी एक्लै बोक्नु पर्थ्यो।
त्यो जिम्मेवारी लिँदा धनकला जम्मा दस वर्षकी थिइन्। उनलाई थाहै थिएन- बिहे भन्या के हो?
उनलाई थाहा हुनु र नहुनुले के अर्थ राख्थ्यो र!
घरका मान्छेले धनकलालाई बेहुलीको लुगा लगाइदिए। पण्डित आए, मन्त्र पढे। आफैं राम्ररी कपाल पनि कोर्न नसक्ने धनकलाको सिउँदोमा उनका श्रीमानले सिन्दुर हाले।
त्यो बेला लोग्नेको घरमा भित्रिँदा ढोकामा टीका लगाउने चलन हुन्थ्यो। फुच्ची धनकलाका हात अग्लो ढोकामा पुगेनन्।
सँगै आएका दाजुले उनलाई जुरूक्क उठाए।
‘पहिले त म सक्दिनँ टीकासिका लगाउँदिनँ भनेकी थिएँ, अजान्नी त भइगएँ,’ धनकलाले विवाहको दिन सम्झिइन्,‘ढोकामा टीका लगाउनुपर्छ भन्ने मलाई के थाहा।’
रजश्वला सुरू नहुँदै विवाह भएको थियो उनको, राम्ररी किशोरी नभइकनै गर्भवती भइन्।
त्यसपछि उनको जीवनका झन्डै १०८ महिना त गर्भवती भएर गुज्रिए। उनको पेटमा १२ सन्तान आए। तीमध्ये छ जना अहिले दुनियाँमा छैनन्।
केही जन्मिएर मरे, केही जन्मन नपाउँदै पेटभित्र मरे।
सुरूका तीन छोराछोरी जन्मिए तर बाँच्न सकेनन्। त्यसपछि पनि दुई सन्तान जन्मिन नपाउँदै पेटभित्रै मरे।
यो अवस्थामा धनकलालाई परिवारले ढाडस दिएन। लगालग सन्तान गुमाएकी आमाको घाउमा मल्हम लगाएन उल्टै कमजोर ठान्यो।
त्यो बेला अस्पताल भनेको जान्नेसुन्नेले मात्र थाहा पाउँथे। नजिक अस्पताल नहुनुले सेवा भने कसैले लिन पाउँथेनन्।
धनकलाका अनुसार त्यसबेला कालिकोटको सदरमुकाम मान्ममा समेत अस्पताल थिएन।
धनकलाको पहिलो सन्तान मरिसकेपछि दोस्रो सन्तानका रूपमा छोरो जन्मियो।
कालिकोटकै हाउडी भन्ने ठाउँमा एकजना शिक्षकले अस्पतालमा पाइने औषधि दिन्छन् भन्ने धनकलाले सुनेकी थिइन्। छोरा बोकेर पुगिन्।
‘मास्टरले औषधि गर्दो छ भन्या र त्यहाँ गएँ, मास्टरले दिएको औषधिले केही भाउ लागेन,’ उनले भनिन्।
मास्टरले दिएको औषधिले काम नगरेपछि धनकला त्यही छोरालाई बोकेर फेरि दैलेखको सोरु भन्ने ठाउँ पुगिन्।
त्यहाँ जडिबुटीवाला औषधि पाइन्छ भन्ने उनले सुनेकी थिइन्। उनको छोराका लागि भनेर एकजनाले औषधि त दिए। औषधि बोकेर घर फर्कने बेला जंगलमा पुगेपछि छोराको मृत्यु भयो।
‘बच्चालाई लियाँ र सोरु गएँ, फर्किने बेला ‘रत्याथला’ भन्ने जंगलमा पिठ्यूँमा बच्चा मरिगयो,’ धनकलाले भनिन्, ‘डेढ वर्षको बच्चा पिठ्यूँमै मरेपछि श्रीमानश्रीमती नै होब्ल्याँस (बेहोस) जस्तै भयौं, जंगलको बीचमा रात पर्ने बेला मरेको बच्चालाई कहाँ फाल्नु भनेर पिठ्यूँमै बोकेर घर ल्याएँ। मरेको बच्चा लिएर घरभित्र जान सकिनँ, गोठभित्र बसें।
अर्को दिन अरूले बच्चा गाड्न लिए उनलाई कामको चापाचाप थियो।
धनकलालाई सन्तान जोगाउन पीरले सताइरहेको थियो, परिवार र छिमेकी उनका श्रीमानलाई अर्को विवाह गर्नतिर लागे।
‘भएजतिका छोराछोरी मरिजान लाग्यापछि परिवारले के सम्झिए खै, मेरा श्रीमानलाई अर्को विवाह गर्न सुझाव दिए,’ विगत सम्झिँदै धनकलाले भनिन्, ‘यसैगरिकन जन्मिएका सन्तानजति मरेपछि परिवारले कहाँ केटी छन्, कस्ती छन् भनेर खोज्नसमेत सुरू गरिसके। म पनि पछि हारें- जताबाट जस्ती ल्याउँछौ ल्याऊ भनिदिएँ।’
सबैले भने पनि श्रीमानले अर्को विवाह गरेनन्।
‘केही त आफ्नो तक्दिर पनि हुनेरहेछ, उहाँले विवाह भने गर्नुभएन,’ उनी फिस्स हाँसिन्।
अरूलाई लाग्थ्यो- धनकलाका सन्तान पो बचेनन् अर्की बिहे गरे उसका सन्तान बाँचिहाल्छन् नि।
धनकला मनमा भने आफ्ना सन्तान बचाउन पाए हुन्थ्यो भन्ने हुटहुटी थियो।
सुरूमा लगातार दुई छोरी, एक छोरा जन्मिएर मरे। दुई सन्तान तुहिए। किन त्यस्तो भयो? सोध्ने डाक्टर परपरसम्मका गाउँमा पनि थिएन।
उनले सुनेकी थिइन् दैलेखको तोलीपाटामा एक जना जैसी छन्। सबैले भन्थे ती जैसी मान्छेको विगत र भविष्य जान्दछन्।
धनकलालाई आफ्नो र फेरि जन्मिने सन्तानको भविष्य जान्ने उत्सुकता भयो। तर घरकाले त्यति टाढा कहाँ जान दिन्थे र! उनी भागिन्।
‘जान्छु भन्यो भने घरबाट जान नदिने, आफ्नै सूरमा गएँ। माइतीमा गएर भनेपछि दाजु पनि सँगै जानुभयो,’ उनले भनिन्।
समालागाउँबाट तोलिपाटा पुग्न कम्तीमा पनि डेढ दिन लाग्छ। धनकलाका दाजुबहिनी एकै दिनमा तोलीपाटा पुगे।
‘सन्तान जन्मिएर मरिजान लाग्या, मेरो भाग्य यस्तै हो कि क्या होला भनेर हेराउन आयाकी हुँ भनें, तै जैसीले तेरा चार छोरा कहीँ जाँदैनन् भने,’ उनले सम्झिइन्।
जैसीलाई हेराएर आएपछि उनी फेरि गर्भवती भइन्। पेटभित्रै मरिजाने हो कि भन्ने कत्रो पिर!
केही समयपछि धनकलाका छोरा जन्मिए। उनी जन्मिएनन् मात्र बाँचे पनि।
छोरा अलि ठूलो भएपछि उनी फेरि तिनै जैसीकहाँ पुगिन्।
‘जेठो छोरो जन्मेपछि म फेरि जैसीसित गएँ, आमा पनि तमी भयौ बुवा पनि तिमी भयौ (आमा पनि बुवा पनि तपाईं नै हुनुभयो) भनेर भनेँ। त्यो खुसीले भनेको हो,’ उनले भनिन्।
जैसीसँग भाग्य जँचाएपछि धनकलाका अरू सात सन्तान जन्मिए: दुई छोरी, चार छोरा। अन्तिम सन्तान भने फेरि पनि पेटभित्र मरे।
धनकलालाई लाग्छ- अचेलका जस्ता अस्पताल भइदिएका भए मेरा सबै सन्तान बाँच्थे कि!